२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पुलिस क्लब फाइनलमा

इनरुवा — फर्मका लागि संघर्ष गरिरहेका दिलीप नाथले सानदार शतक बनाएपछि नेपाल पुलिस क्लब बिहीबार प्रदेश ७ लाई हराउँदै मनमोहन स्मृति राष्ट्रिय वान–डे क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । 

पुलिस क्लब फाइनलमा

टस जितेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २३ रन जोडेको थियो । प्रदेश ७ लाई ३१.३ ओभरमा १ सय २३ रनमै अलआउट गरेपछि २ सय रनको जित हात पार्दै पुलिसले उपाधि भिडन्त पक्का गरेको हो ।


पुलिसलाई फाइनल पुर्‍याउनेक्रममा सागर ढकाल एक्लैले विपक्षीको महत्त्वपूर्ण ५ विकेट लिए । ९.३ ओभर बलिङ गरेका सागरले २ मेडन राख्दै ३१ रन खर्चे । रामनरेश गिरी र नवीन थापाले २–२ तथा सुनिल धमलाले १ विकेट लिए । प्रदेश ७ का विपिन रावल र लोकेश बमले समान २६ रन बनाउनुबाहेक अन्यले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । पुछारका ब्याट्सम्यान नारायण जोशी र नरेन्द्र साउदले समान १६ रन जोडे ।


खेल भने दिलीपको शतकमा केन्द्रित थियो । खराब फर्मका कारण एक वर्षदेखि राष्ट्रिय टोलीबाहिर रहेका दिलीपले १ सय २५ बल खेल्दै ९ चौका र ५ छक्का मदतमा नटआउट १ सय १६ रनको इनिङ्स खेले । ओपनरद्वय अमित श्रेष्ठ ११ र सुनील धमला १० रनमा आउट भएको अवस्थामा दिलीपले प्रेम तामाङसँग तेस्रो विकेटमा ६९ रनको साझेदारी गरे । प्रेमले ४१ बलमा ५ चौकासहित २४ रन बनाए ।


योगेन्द्रसिंह कार्की २५ र कुशल भूर्तेल २७ रनमा आउट भए । कप्तान मन्जित श्रेष्ठले अर्धशतक बनाए । विकास आग्रीको बलमा बोल्ड हुनुपूर्व उनले ३३ बलमा ४ चौका र ४ छक्का मदतमा ५३ रन जोडे । दीपेश श्रेष्ठ १२ रनमा अविजित रहे । प्रदेश ७ का विकास आग्रीले ३ विकेट लिए । विनोद लामाले २ तथा नरेन्द्र साउद, शेर मल्ल र लोकेश बमले १–१ विकेट लिए । उपाधिका लागि पुलिसले प्रदेश १ र आर्मीबीच शुक्रबार हुने दोस्रो सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : माघ ४, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?