३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिमरा गोल्डकप : आशिषको निर्णायक गोल

पवन यादव

(सिमरा) — बाराको सिमरास्थित रंगशालामा संचालित दसौं सिमरा गोल्डकप फुटबलअन्र्तगत शुक्रबार एपीएफ क्लबलेविशाल मेमोरियल फाउन्डेशन वीरगन्जलाई १–० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो । एपीएफको जितमा आशिष लामाको गोल निर्णायक बन्यो ।

सिमरा गोल्डकप : आशिषको निर्णायक गोल

पेनाल्टी बक्सभित्र सन्तोष श्रेष्ठले दिएको पास सदुपयोग गर्दै आशिषले ३६ औं मिनेटमा गोल गरेका थिए । गोल गरेसँगै एपीएफ रक्षात्मक प्रदर्शनमा उत्रिएको थियो । बराबरी गर्न वीरगन्जको पटक–पटक प्रयास सफल हुने सकेन । वीरगन्ज अन्तिम १० मिनेटसम्म पूरै आक्रामक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो । वीरगन्जका शिव श्रेष्ठ, विदेशी खेलाडी बुसरी काजरिम, कृष्ण कार्कीलगायतले पाएका मौका सदुपयोग गर्न सकेनन ।

एफीएफका रामकुमार कुमाल, सुदीप सिख्राकारलगायतले पनि मौका चुकाए । उनीहरूले पोस्ट नजिकैको बल नियन्त्रण गर्न नसक्दा गोल थप्न सकेनन् ।


वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले पाएका मौका सदुपयोग गर्न नसक्दा हारसँगै प्रतियोगिताबाट बाहिरिनुपरेको बताए । ‘विभागिय टिमलाई हामीले फाइट दिएकै थियौं, तर स्कोर गर्न सकिएन,’ उनले भने, ‘अन्तिम १० मिनेटसम्म खेलाडीले कस्सिएर प्रदर्शन गरे, तर सफलता हात पार्न सकिएन । फिटनेस कमजोर भएका कारण हार बेहोर्नुपर्‍यो । हाम्रो गल्तीलाई विपक्षीले सदुपयोग गर्‍यो । हामीले पाएका तीन सुनौलो मौका खेल फाल्दा हार बेहोर्नुपर्‍यो ।’


एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेल जिते पनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट नभएको बताए । ‘हामीले सोचेअनुसार खेल प्रदर्शन भएन,’ उनले भने, ‘पहिलो खेल भएर हुनसक्छ । अन्तिमतिर विपक्षीको दबाब सामना गर्नुपर्‍यो । खेलाडीले काउन्टर एटयाकका अवसर सदुपयोग गर्न सकेनन् । त्यसले गर्दा स्कोर बढ्न सकेन ।’


गोलकर्ता आशिष लामा म्यान अफ द म्याच घोषित भए । उनले १० हजारसँगै ट्रफी हात पारे ।

शनिबार सरस्वती युवा र सीएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ ४, २०७५ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?