कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

‘चतुर’ चतुरानन्द

मैले नेतृत्व सम्हालेयता टेबलटेनिसमा नेपालको स्थिति बलियो हुनुका साथै स्तर पनि माथि गएको छ । फेरि हाम्रो संघ पनि उत्तिकै सक्रिय छ ।

काठमाडौँ — नै समय थियो, जति बेला नेपाली खेलकुदमा विकल्प धेरै कम थिए, खेल संख्याका आधारमा । एथलेटिक्स त भइहाल्यो । खेले क्रिकेट, नत्र फुटबल । हकी र ब्याडमिन्टन पनि । अथवा टेबलटेनिस । अरू खेल त धेरै पछि आएका हुन् ।

‘चतुर’ चतुरानन्द

टेबलटेनिसमा पनि केही परिवारको वर्चस्व थियो, लोहनी, चित्रकार वा सुवाल । यी खेलको सम्बन्ध पनि कुनै न कुनै रूपमा डिल्लीबजारसँग जोडिन्थ्यो । त्यही बेला फुटबल असाध्यै मन पराउने एक युवाले यही खेल रोजे ।


ती थिए, चतुरानन्द वैद्य । उनको डिल्लीबजारसँग कुनै सम्बन्ध पनि थिएन । उनी खेलाडी त औसतमात्र निस्के, तर आफ्नो परिचय भने यसै खेललाई बनाए । अर्थात् चतुरानन्द भनेपछि टेबलटेनिस नै । उनी विद्युतीय उपकरणसम्बन्धी राम्रै व्यवसाय पनि गर्छन् । तर उनको परिचय व्यवसायभन्दा टेबलटेनिस नै हो । यो कथा हो, त्यस्ता व्यक्तिको जसले टेबलटेनिसमा लागेर धेरै पाएका मात्र छैनन्, धेरै गुमाएका पनि छन् ।


उनी यही खेललाई असाध्यै माया गर्छन् । नेपाली टेबलटेनिसमा लागेर उनलाई गर्व नै छ । ‘अहिले जे छु, टेबलटेनिसकै कारणले हो,’ उनी भन्छन् । उनले रोजेको बाटोलाई लिएर राम्रो भन्ने पनि उत्तिकै होलान् । होइन, रिस गर्ने पनि उत्तिकै होलान् । तर यो एउटा पक्कै मीठो पटकथा भने बन्छ । जसलाई आधार मानेर राम्रो सिनेमा बन्छ । उनी भित्री काठमाडौंको किलागलमा हुर्के । तीन छोरामध्ये जेठो थिए । उनी पक्का वैद्य परिवारका थिए ।


बुवा चन्द्रानन्द राजवैद्य हुन् । भनिरहनुपर्दैन उनी राजपरिवारका वैद्य थिए । कुनै समय उनले नरदेवीको आयुर्वेद अस्पतालको नेतृत्व पनि गरे । तर उनका छोरा कसैले पनि यो पेसालाई निरन्तरता दिएनन् । ती कान्छा दुई भाइले ठूला दाइ चुतरानन्दलाई खेलाडी बन्न सबै प्रकारले सहयोग गरे । ‘परिवार, बुवाआमा अनि भाइहरूको सहयोग हुँदैन थियो त म कहाँ टेबल टेनिसमा लाग्न सक्थें ?’ उनी यो तथ्यलाई बढी जोड दिन चाहन्छन् ।


एसएलसीपछि लामै समय उनले टेबलटेनिसमा निर्धक्क भएर लाग्न पाए । शान्ति विद्यागृहमा पढ्दै टेबलटेनिस खेल्न सिके । त्यति बेला टेबलटेनिस बोर्ड भएको स्कुलको सान नै बेग्लै थियो, कुरा ०२६/०२७ सालतिरको हो । उनको नयाँ घर पकनाजोलमा थियो, लैनचौरमा यो खेलको कभर्डहल बन्दै थियो । टेबलटेनिससँग नजानेर नै नजिकिए । ०३३ सालमा पहिलोपल्ट धरानमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेले । पछि धर्ममान वज्राचार्यसँग मिलेर मेन्स डबल्समा राष्ट्रिय च्याम्पियनसम्म पनि भए ।


त्यो पनि तीनपल्ट । सिंगल्समा तेस्रो स्थानसम्म हात पारे । उनी टेबलटेनिसलाई अरूभन्दा फरक खेल मान्छन्, विशेष मान्छन् । ‘यो खेल खेल्न शारीरिक रूपमा फिट त हुनैपर्छ, त्यत्तिकै मानसिक रूपमा चनाखो र तुरुन्तै निर्णय लिनसक्ने पनि हुनुपर्छ, त्यसैले पनि मलाई यो खेल मनपर्छ,’ उनले भने । त्यसैले टेनिसटेनिस खेल्ने अधिकांस खेलाडी आफ्नो व्यक्तिगत जीवनमा पनि बढी नै सफल भएका छन् । उनको यो अनुभव पनि हो ।


त्यसैले कमैले यो खेल खेलेकामा गुनासो गर्छन् । उनले हेर्दाहेर्दै चीन यो खेलको महाशक्ति पनि भयो । यो खेललाई लिएर उनको अर्को अनुभव पनि छ । यसमा लाग्ने हो भने पढाइमा पनि राम्रो हुनुपर्छ । फेरि टेबलटेनिस खेल्नेले पढाइमा राम्रो गर्न पनि सक्छ । सायद त्यसैले होला चतुरानन्द नेपालमा त्रिविविबाट ‘एमबीए’ गर्ने पहिलो ब्याचका विद्यार्थी पनि हुन्, सन् १९८५ का । उनी भन्छन् पनि, ‘खेलाडीले खेल्नुसँगै अध्ययन पनि जारी राख्नुपर्छ, यो विश्वमै प्रमाणित सिद्धान्त हो ।’


टेबलटेनिसले किन पनि ठूलो गुण लगाएको छ भने उनले आफ्नो भविष्यकी श्रीमतीलाई भेट गर्ने अवसर पाएका थिए । शीला प्रधानाङ्गसँग उनको भेट खेलाडीकै रूपमा भएको थियो । प्रशिक्षकको चस्का लागेका बेला उनले केही प्रतिभाशाली खेलाडी पनि छनोट गर्ने काम गरेका थिए, त्यसमा शीला पनि थिइन् । पछि तिनै उनको जीवनसाथी पनि भइन् । यी सबै घटना सुनाउँदा पनि उनी खुबै खुसी मान्छन् । अनुहारमा मीठो हाँसो देखिन्छ ।


अखिल नेपाल टेबलटेनिस संघको इतिहास पनि लामै छ । सन् १९५२ मा यसको स्थापना भएको थियो । एथलेटिक्स र क्रिकेटपछि संघ गठन भएकै टेबलटेनिसको हो । यसै संस्थासँग उनी ०४६ सालयता आबद्ध भए । राजनीतिक परिवर्तनपछि उनी पहिलोपल्ट संघका सदस्य भए । पछि कोषाध्यक्ष पनि भए । उनी ०६३ सालयता भने संघका अध्यक्ष छन् । यो सबै उनको जीवनको अर्को पाटो भयो । यसबीचमा उनले नेपाली टेबलटेनिसका लागि के गरे त ?


उनकै दाबी मान्न हो भने चतुरानन्द अध्यक्ष भएयता संघले अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाएको छ । त्यसैले संयुक्त राष्ट्र संघले समेत उनको नेतृत्वको प्रशंसा गरेको छ । उनी आएयता दक्षिण एसियाली खेलकुदमा टेबलटेनिसले पदक जित्ने क्रम पनि टुटेको छैन । यस क्षेत्रमा भारत त बलियो भइहाल्यो, त्यसपछिको स्थानका लागि नेपालले सधैं बलियो चुनौती पेस गरेको छ । विश्व टेबलटेनिसमा सबैभन्दा ठूलो शक्ति एसिया नै भयो । विश्व वरीयताको शीर्ष दसमा ८ देश त एसियाकै छन् ।


‘मैले नेतृत्व सम्हालेयता टेबलटेनिसमा नेपालको स्थिति बलियो नै भएको छ, स्तर माथि नै गएको छ,’ उनी दाबी गर्छन्, ‘फेरि हाम्रो संघ पनि उत्तिकै सक्रिय छ । धेरैभन्दा धेरै कार्यक्रम हामीले सञ्चालन गरेका छौं ।’ उनले नेतृत्व लिएयता विवाद नभएकै पनि होइन । उनको नेतृत्वको आलोचना गर्ने पनि नभएका होइनन् । तर उनी यी सबैप्रति सकारात्मक नै छन् । धेरै गुनासो गर्दैनन् । अब महत्त्वपूर्ण प्रश्न उनी कहिलेसम्म नेतृत्वमै रहने छन् त ?


‘यसको स्पष्ट उत्तर मसँग छैन । यसलाई लिएर मैले मात्र निर्णय गरेर पनि हुन्न । आफ्ना साथीहरूसँग पनि कुरा गर्नुपर्नेछ । फेरि यो ठूलो जिम्मेवारी पनि हो,’ उनले भने, ‘तर एउटा तथ्य के निश्चित छ भने नेपाली टेबलटेनिसलाई माथि बढाउने हो भने हामी सबै मिल्नुपर्छ । टेबलटेनिससँग आवद्ध हुने सबै एकजुट हुनुपर्छ,’ उनले भने ।


यो कथा हो एक आमनागरिकको । जसले टेनिसटेनिसलाई मन पराएर त्यसमै रमाउनमा गर्व गर्छ । सायद यति धेरै गर्न सक्नुमा उनी ‘चतुर’ भएर पनि होलान् । अर्थात चलाख चतुरानन्द वैद्य ।

प्रकाशित : माघ ५, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?