कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भ्रष्टाचार प्रमाणित गर : अध्यक्ष शेर्पा

काठमाडौँ — चार जिल्ला फुटबल संघका अध्यक्षले लगाएको भ्रष्टाचार र आर्थिक अनियमितताको आरोपबारे अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले औपचारिक खण्डन गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गदै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भ्रष्टाचार गरेको भए छानबिन गरेर प्रमाणित गर्न चुनौती दिएका छन् ।


काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षले पुस ११ मा पत्रकार सम्मेलन गरी लगाएको १४ आरोपमाथि अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा बुँदागत रूपमै जवाफ दिए ।


असन्तुष्ट चार जिल्ला अध्यक्षले निवार्चनका क्रममा आर्थिक प्रलोभन दिएर मतदातालाई प्रभावित पारेको, एन्फामा नयाँ नेतृत्व आएपछि आर्थिक अनियमितता बढेको, अनावश्यक भत्ता र पेश्की वितरण गरेको लगायतआरोप लगाएका थिए ।


अध्यक्ष शेर्पाले आफू नेतृत्वको कार्यसमिति निर्वाचित भएको ९ महिनाको अवधिमा संस्थालाई धेरैभन्दा धेरै पारदर्शी बनाउने प्रयासमा लागेको बताए । उनले अघिल्लो कार्यकालभन्दा आफ्नो कार्यकालको सुरुआती समयमा एन्फा व्यवस्थित र व्यावसायिक बनेको दाबी पनि गरे ।


‘हामीमाथि जति पनि आरोप लागेका छन् ती सबै आधारहीन छन् । जथाभावी भत्ता वितरण गरेको, विश्वकपको टिकटमा अनियमितता गरेको आरोप साथीहरूले लगाउनुभएको छ,’ पत्रकार सम्मेलनको सुरुमै अध्यक्ष शेर्पाले भने, ‘उहाँहरूले प्रमाण पनि पेश गर्नुभएको भए राम्रो हुन्थ्यो । विगतमा भ्रष्टाचार भएको थियो । त्यसको पनि छानबिन हुनुपर्छ र अहिले पनि भ्रष्टाचार भएको छ भने छानबिन गर्नुहोस् म पूर्ण सहयोगका लागि तयार छु ।’


एएफसी र साफको प्रतियोगितामा विदेशी खेलाडीलाई फरक–फरक सुविधा दिएर कमिसन खाएको आरोपबारे अध्यक्ष शेर्पाले भने, ‘एएफसी र साफको खेलाडीलाई दिइने सुविधाको नियम नै फरक छ, हामीले होटल भ्यु भृकुटीसँग त्यहीअनुसार खेलाडी राखेका हौं, आधिकारिक होटलको रूपमा सम्झौता भएको छ र त्यसवापत आएको स्वाभाविक कमिसन एन्फाकै खातामा जम्मा भएको हो ।’ उनले होटल भ्युसँगको कारोबार र सम्झौता गोप्य नराखिएको र आवश्यक परे जो कसैलाई देखाउन सक्ने बताए ।


अध्यक्ष शेर्पाले चुनावका क्रममा भएको आर्थिक चलखेलबारे मानार्थ अध्यक्ष टासी घलेले आफ्ना समूहका केही व्यक्तिसँग गरेको कुराकानीको ‘अडियो टेप’ बारे पनि बचाउ गरेका छन् । ‘टेपमा बोलेको भन्दा नोटरीमा बोलेको फरक छ, नोटरीमा भोट किनबेच गरेको प्रस्ट उल्लेख छ तर प्रमाण भनेर पेश गरेको अडियो टेपमा कुनै कुरा लेखिएको छैन,’ पटक पटक पारदर्शिताबारे बोलेका शेर्पाले थपे, ‘नेपालमा जुनसुकै छानबिन समिति गठन भए पनि अख्तियारले नै छानबिन गरे पनि हामी तयार छौं, गैरकानूनी कुनै काम गरेका छैनौं ।’


यही कारण एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले टासी घलेको मानार्थ अध्यक्ष पद खोसेको थियो । ‘उहाँलाई मानार्थ अध्यक्ष बनाएपछि साधारणसभाले पारित गर्नुपर्ने थियो तर, चितवनमा भएको साधारणसभामा उहाँ उपस्थित हुनुभएन,’ शेर्पाले भने, ‘त्यसैले उहाँलाई जिम्मेवारीमुक्त गर्न स्पष्टीकरणको जरुरी परेन ।’


कार्यसमिति बैठकले आर्थिक अनियमितताको आरोप लगाउने काठमाडौंका अध्यक्ष विराटजंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङका अध्यक्ष दीपक खतिवडालाई कारबाहीका लागि अनुशासन समितिलाई जिम्मेवारी दिएको थियो ।


‘हाम्रो कार्यशैलीबारे विरोध जिल्लाले गरेको होइन, उहाँहरूले व्यक्तिगत रूपमा गरिरहनुभएको छ । संगठनभित्र रहेपछि भित्रैबाट आवाज उठाउने हो,’ अध्यक्ष शेर्पाले भने, ‘कोही पनि भ्रममा नपर्नुहोस्, हामीले उहाँहरूलाई कारबाही गरेका छैनौं, प्रक्रिया कसरी सुरु गर्ने भन्नेबारे अनुशासन समितिले निर्णय गर्नेछ ।’


अध्यक्ष शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीसँग ५५ लाख बराबरको सम्झौता भए पनि १५ लाखको मात्र सामान आएको देखिएको र बाँकी रकमबराबरको सामानबारे छानबिन भइरहेको बताए । यसअघिको प्रशासनले वितरण गरेको ३ करोड रुपैयाँभन्दा बढी पेश्की फस्र्योट हुन बाँकी रहेको र कानूनी रूपमा पेश्की दाखिला प्रक्रिया सुरु गरिने उनले बताए । ‘मंगोलिया फुटबल संघका पूर्व अध्यक्षको नाममा १ लाख २३ हजार रुपैयाँ, बंगलादेश फुटबल संघका व्यक्तिको नाममा १५ लाख पेश्की लिइएको देखिन्छ,’ अध्यक्ष शेर्पाले भने, ‘१५ लाख रकम राकेश श्रेष्ठको नामबाट दाखिला भएको छ यद्यपि त्यो गैरकानूनी छ र योसँगै अन्य पेश्कीहरू पनि कानूनी रूपमा दाखिला गराउन छानबिन अघि बढाएका छौं ।’


एन्फाको श्वेतपत्र

एन्फा कार्यसमितिले ९ महिनाबीचमा गरेको कार्यप्रगतिबारेको श्वेतपत्र एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रस्तुत गरे । श्वेतपत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता/सफलता, प्रशिक्षण, कार्यशाला गोष्ठी, नयाँ कार्यसमितिको उपलब्धिको फेहरिस्त प्रस्तुत गरिएको छ ।


नयाँ कार्यसमितिले यो अवधिमा गरेको मुख्य कामको २६ बुँदा पेश गरिएको छ । त्यसमा रेलिगेसन बिनाको ए डिभिजन लिग आयोजना, एन्फा मैदानमा अस्थायी प्यारापिट र स्कोरबोर्ड, फिफा फरवार्ड कार्यक्रमअन्तर्गत रकम निकासा, टेलिभिजन प्रसारण अधिकारलगायत समावेश छ ।


त्यस्तै विश्वकप फुटबलको टिकट बिक्री, फुटबल विकासका लागि कतार फुटबल संघसँग ५ वर्षे सम्झौता, फ्रेन्चाइज लिग आयोजना सम्झौता, रौतहटको चन्द्रपुरमा महिला फुटबल एकेडेमी निर्माण सुरु, फुटबलको व्यावसायिक संगठनको रूपमा संगठनिक संरचनाको विकासलगायत छन् ।

प्रकाशित : माघ ५, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?