नेपाली महिला क्रिकेट : १२ वर्षपछि उपाधितिर

काठमाडौँ — १२ वर्षपछि खोला फर्किन्छ’ भन्ने उखानजस्तै भयो नेपालको महिला क्रिकेट । १२ वर्षपछि नेपाली महिला क्रिकेट टोली फेरि नकआउट प्रतियोगिताको फाइनल पुगेको छ । 

नेपाली महिला क्रिकेट : १२ वर्षपछि उपाधितिर

नेपालले सन् २००७ मा एसीसी वुमन्स च्याम्पियनसिप खेलेर मलेसियाबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको थियो । पहिलो पटककै प्रतियोगिताको फाइनलमा खेल्दै नेपाली महिला क्रिकेट टोलीले अनेकौं सम्भावना देखाएको थियो । तर त्यसयताका प्रतियोगितामा नेपालको यात्रा सेमिफाइनलमा रोकिँदै आयो ।


नेपाल शुक्रबार क्रिकेटको खासै संस्कार नभएको इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटको फाइनल पुगेको हो । बैंककमा शनिबार हुने फाइनल नेपालले आयोजक थाइल्यान्डको सामना गर्नेछ । थाइल्यान्डले अर्को सेमिफाइनलमा यूएईलाई ४९ रनले हराएको थियो ।


१२ वर्षअघि मलेसियामा खेल्दा नेपाली टोलीका दुई खेलाडी (सीता रानामगर र नेरी थापा) इन्डोनेसियासँगको खेलमा पनि उत्रिएका थिए । त्यसमध्येकी एक सीताले अलराउन्ड प्रदर्शन गर्दै नेपाललाई आमन्त्रण प्रतियोगिताको फाइनल पुर्‍याएकी हुन् ।


टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १९ रनको स्कोर खडा गर्‍यो । ओपनर काजल श्रेष्ठ १४ रनमै आउट भए पनि अर्की ओपनर सीताले इन्दु बर्मासँग मिलेर ७० रनको साझेदारी गरेपछि नेपालले उच्च लक्ष्य बनायो । १९ औं ओभरमा रनआउट हुनुअघि सीताले ६२ बलमा १ चौकाको सहयोगमा ४८ रन बनाइन् । इन्दु ३३ बलमा ३७ रनमा अविजित रहिन् । नेरी थापाले ५ रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले अविजित २ रन जोडिन् ।


इन्डोनेसिया टोली ११.१ ओभरमा २७ रनमै समेटियो । कप्तान रुबिनाले ४ विकेट र दुई रनआउट गरेपछि इन्डोनेसिया निरीह बन्यो । ओपनर युलिया अंग्राइनीले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले २ रनभन्दा बढी व्यक्तिगत स्कोर बनाउन सकेनन् । इन्डोनेसियाले ५ अतिरिक्त रन पाएको थियो ।


कप्तान रुबिनाले ३.१ ओभरमा २ मेडन राख्दै २ रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवर, नेरी, सीता र सरिता मगरले पनि १–१ विकेट झारे ।


शुक्रबारै दोस्रो सेमिफाइनलमा ९२ रनको लक्ष्य पछ्याएको यूएईलाई थाइल्यान्डले १५.४ ओभरमा ४२ रनमै सीमित पार्‍यो । यूएईका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटमा सहभागिता जनाएको नेपाली राष्ट्रिय महिला टोलीले यो प्रतियोगिता खेलिरहेको छ ।


फागुन ६ देखि १५ सम्म थाइल्यान्डमै आईसीसी विश्वकप एसिया छनोट हुँदै छ । सन् २०२० मा हुने महिला ट्वान्टी–२० विश्वकपको पहिलो खुटकलोको रूपमा रहेको यो प्रतियोगितामा नेपाल, थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र यूएई सहभागी हुनेछन् । यस प्रतियोगिता विजेताले विश्वकप छनोटमा स्थान बनाउने छ ।

प्रकाशित : माघ ५, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?