कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आर्मीलाई एमएम क्रिकेट उपाधि

वेदराज पौडेल

इनरुवा — त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति राष्ट्रिय वान–डे क्रिकेट प्रतियोगिता जितेको छ । आर्मीले शनिबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्‍यो । 

आर्मीलाई एमएम क्रिकेट उपाधि

सुनसरीको इनरुवास्थित मैदानमा टस जितेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाई २ सय ४९ रन बनायो । जवाफमा पुलिस ४२.५ ओभरमा १ सय ६६ रनमै अलआउट भयो । आर्मीले ४ लाख १ हजार रुपैयाँसहित ट्रफी हात पार्‍यो । उपविजेतामै सीमित पुलिसले २ लाख १ हजारमा चित्त बुझायो ।


राजेश पुलामीको अर्धशतकीय इनिङ्स र युवा खेलाडी कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आर्मी च्याम्पियन भयो । राजेशले ६९ र कुशलले ४९ रन बनाए । अनिल मण्डल ४, कप्तान विनोद भण्डारी २६, राजु रिजाल १२, भीम सार्की १५, रोहितकुमार पौडेल १४ र हरिबहादुर चौहान ९ रनमा आउट भएको अवस्थामा राजेश र कुशलले सातौं विकेटमा ६३ रनको महत्त्वपूर्ण साझेदारी गरे ।


राजेशले १ सय २८ बलको इनिङ्समा ५ चौका प्रहार गरे । कुशलले ३६ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । पुलिसका दीपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ तथा सुनील धमला, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले १–१ विकेट लिए ।


योगेन्द्रले ५१ रन जोडे पनि पुलिसलाई त्यो पर्याप्त भएन । पुलिसका हिमांशु दत्तले २९ र अमित श्रेष्ठले २५ रन जोडे । पुलिसलाई सस्तैमा समेट्नेक्रममा आर्मीका शाहब आलम र कुशलले ३–३ विकेट लिए । कुशल म्यान अफ द फाइनल चुनिए । प्रतियोगितामा अनुशासित टिम भने प्रदेश ७ बन्न सफल भयो । राइजिङ प्लेयर इनरुवाका सरोज बस्नेत घोषित भए । उनले १० हजार पुरस्कार पाए ।


उत्कृष्ट बलर पुलिसका सागर ढकाल र उत्कृष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बने । उनीहरूले २० हजार १ सय प्राप्त गरे । पुलिसका दिलीप नाथ म्यान अफ द सिरिज घोषित भए । उनले ५१ हजार पाए ।

प्रकाशित : माघ ६, २०७५ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?