पुलिसले जित्यो २१ लाख

मोहन बुढाऐर

धनगढी — अभिषेक रिजालको गोलमा नेपाल पुलिस क्लब मोफसलको सर्वाधिक धनराशिको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको च्याम्पियन भएको छ ।

पुलिसले जित्यो २१ लाख

धनगढी रंगशालामा शनिबार फाइनलमा थ्रीस्टारलाई १–० ले पराजित गर्दै पुलिसले २१ लाख रुपैयाँसहित ट्रफी उचालेको छ ।


निकै प्रतिस्पर्धात्मक खेलमा अभिषेकले दोस्रो हाफको छैटौं मिनेटमा कर्नर बलमा गोल गरेका थिए । त्यही गोल नै निर्णायक भयो । उनी म्यान अफ द फाइनल घोषित भए ।


पहिलो हाफमा बराबरीमा रहेको थ्रीस्टार खेलाडीको दोस्रो सुरुमै देखिएको कमजोरीमा पुलिसले फाइदा उठायो । तुरन्तै थ्रीस्टार सम्हालिँदै गोल फर्काउन प्रयत्नशील रह्यो । तर ५ मिनेटको इन्ज्युरी समयमा थ्रीस्टारका खेलाडीले तीन गोलको अवसर चुकाउँदा समर्थकको चुकचुकी भने रहिरह्यो । थ्रीस्टारले १० लाखमै चित्त बुझाएको छ ।


रंगशालामा उपस्थित करिब ५ हजार दर्शकमाझ पुलिसका गोलकिपर शत्रुधन चौधरीले आफ्नो उत्कृष्ट प्रदर्शन देखाए । घाइते भएर पनि उनले थ्रीस्टारका स्ट्राइकरको दर्जनभन्दा बढी प्रहार बचाए । उनी नै उत्कृष्ट गोलकिपर बन्न सफल भए । उनले १५ हजार पाए । उत्कष्ट खेलाडी नेपाल पुलिसका रवि पासवान भए । उनले १५० सीसीको यामाहा मोटरसाइकल पाएका छन् ।


सर्वाधिक गोलकर्ता पुलिसका तीर्थ राना भए । उनले ३ गोल गरेका थिए । त्यो उनको ह्याट्रिक थियो । उत्कृष्ट डिफेन्डरमा पुलिसकै अजित भण्डारी र उत्कृष्ट मिडफिल्डरमा थ्रीस्टारका कप्तान विक्रम लामा भए । प्रशिक्षकमा पुलिसका अनन्तराज थापा उत्कृष्ट घोषित भए । राइजिङ प्लेयर घरेलु टोली सुदूरपश्चिमका भरत टमाटा चुनिए । उत्कृष्ट सबैले जनही १५ हजार पुरस्कार पाए ।


पुलिसका प्रशिक्षक थापाले आफ्नो टोलीलाई युवापुस्ताको फाइटर टिमका रूपमा विकसित गर्दै लगिएको बताए । ‘फाईटर टिमको रूपमा अगाडि बढाएकाले आक्रमण र रक्षात्मक दुवै रणनीतिसाथ मैदान उतारेका थियौं,’ उनले भने, ‘त्यसैले प्रतियोगिताको जित्न आस थियो ।’


उनले अझै राम्रो प्रदर्शन गर्नसक्ने अवस्था हुँदाहुँदै पनि मैदानका कारण त्यो सम्भव हुन नसकेको बताए । उनले विपक्षी टिमको पनि उनले खुलेर प्रशंसा गरे । उनले भने, ‘थ्रीस्टार ए डिभिजनमा राम्रो र बलियो टिम हो । उसको चुनौती सामना गर्दै जित्नु भनेको ठूलो खुसी हो ।’

प्रकाशित : माघ ६, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?