कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफद्वारा उपाधि रक्षा

दीपक परियार

लेखनाथ — डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबले दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा शनिबार विभागीय प्रतिद्वन्द्वी पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो । 

एपीएफद्वारा उपाधि रक्षा

यसअघि रोल्पाको लिवाङमा भएको पहिलो संस्करण फाइनलमा दुई पुलिसको भेट भएको थियो । पोखरामा पनि एपीएफ सुरुदेखि नै आत्मविश्वासी देखियो । लिगकम नकआउटका आधारमा खेलाइएको स्पर्धामा एपीएफले धेरैजसो विपक्षीलाई सोझो सेटमा पाखा लगाएको थियो ।


अन्य प्रतियोगितामा न्यु डायमन्ड क्लबसँग प्राय: फाइनल खेल्ने गरेको एपीएफ यसपल्ट पुलिससँग भिड्यो । न्यु डायमन्डका खेलाडीसम्मिलित प्रदेश ३ सेमिफाइनलमा पुलिससँग हारेर फाइनल पुग्न वन्चित भएको थियो ।


फाइनलमा पुलिसलाई सहजै जित्ने आँकलन गरेको एपीएफलाई सोचेजस्तो भएन । पहिलो सेट २८–८ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेटमा २५–१९ को झट्का पार्‍यो । प्लेसिङ र क्विक स्पाइक खेल्न माहिर पुलिसले दोस्रो सेटपछि प्रतिस्पर्धात्मक सेट खेल्ने अनुमान गरिएपछि तेस्रो सेटमा लय जोगाइराख्न सकेन ।


एपीएफ पुन: खेलमा फर्कंदा २५–१७ ले सेट जित्दै दाबेदारी प्रस्तुत गर्‍यो । एपीएफको बलियो स्पाइकलाई पुलिसले ब्लक गर्न सकेन । अन्तत: चौंथो सेट पनि एपीएफले २५–१७ ले नै आफ्नो पक्षमा पार्दै उपाधि उचाल्यो । एपीएफका विनिता बुढाथोकी, सरस्वती चौधरी, रेश्मा भण्डारी, नेबिका चौधरी, उषा विष्टले उत्कृष्ट खेल प्रदर्शन गरे ।


पुलिसका प्रशिक्षक रुपेश विष्टले आफ्ना खेलाडीको ‘रिसिभ’ राम्रो नहुँदा खेल गुमाउन पुगेको बताए । ‘सात राष्ट्रिय खेलाडी भएको टिमलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘ब्लक राम्रै भएको हो तर रिसिभमै समस्या देखियो ।’ एपीएफका प्रशिक्षक ज्ञानेन्द्र विष्टले सोझो सेटमै जित्नुपर्ने खेल ३–१ मा पुगेको बताए । ‘हाम्रो प्रतिस्पर्धा प्राय: न्यु डायमन्डसँग हुन्छ,’ उनले भने, ‘पुुुलिसलाई सजिलै जित्नुपर्ने हो तर खेलाडीको ‘ओभर कन्फिडेन्स’ ले बिगार्‍यो ।’

फाइनलमा आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएको उनले सुनाए । भने, ‘पहिलो सेट सजिलै जितेपछि दोस्रो सेटमा खेलाडीले अलि लापरबाही तरिकाले खेले । त्यसैले दोस्रो सेट गुमाउनुपर्‍यो ।’


योसँगै जारी सिजनमा भएका आठ प्रतियोगितामध्ये एपीएफले सातमा जित दर्ता गराइसकेको छ । एपीएफले यसअघि सम्पन्न शेरबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता, पोखराकै लामाचौरमा सम्पन्न तीज राष्ट्रिय महिला भलिबल प्रतियोगिता, न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबल, एनभीए लिग, बागलुङमा सम्पन्न २२ औं राष्ट्रिय महिला च्याम्पियनसिप र रोल्पाको लिवाङमा भएको पहिलो सभामुख कप महिला राष्ट्रिय भलिबलको उपाधि जितेको थियो । काठमाडौंमा सम्पन्न आधिआवाधी प्रतियोगितामा भने विदेशी खेलाडीसम्मिलित चितवन टाइगर्सले फाइनलमा एपीएफलाई पराजित गर्दा उपविजेतामा चित्त बुझाएको थियो ।


शनिबारै प्रदेश ३ ले गण्डकी प्रदेशलाई ३–१ सेटमा हराएर तेस्रो स्थान हात पार्‍यो । प्रदेश ३ ले २५–१४, २१–२५, २५–१४, २५–१७ ले जित पायो । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार रुपैयाँ पाइन् ।


उत्कृष्ट स्पाइकर प्रदेश ३ की प्रतिभा माली, उत्कृष्ट ब्लकर एपीएफकी हीरा केसी, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिबेरो पुलिसकै शान्ति तामाङ र उत्कृष्ट सर्भर गण्डकीकी अरुणा शाही भए । उत्कृष्ट प्रशिक्षकको उपाधि एपीएफका ज्ञानेन्द्र विष्टले पाए । उनीहरूले जनही ५ हजार रुपैयाँ पाए ।


विजेताले ३ लाख ५० हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विजेतालाई पुरस्कार वितरण गरे । राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता भएको हो ।

प्रकाशित : माघ ६, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?