१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

विशाल गोल्डकप : आर्मी फेरि च्याम्पियन

भूषण यादव

वीरगन्ज — वीरगन्जमा जारी विशाल गोल्डकप फुटबलको दोस्रो संस्करण पनि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

विशाल गोल्डकप : आर्मी फेरि च्याम्पियन

शनिबार नारायणी रंगशालामा भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्द्वी हिमालयन शेर्पा क्लबलाई सडेनडेथका आधारमा पराजित गरेको छ । पेनाल्टी सुटआउटमा ६–५ ले नतिजा निस्किएको थियो ।


निर्धारित समयको खेल १–१ हुँदै टाइब्रेकरको सुरुआती ५–५ पेनाल्टी बराबर भएपछि सडेनडेथका आधारमा विजेता चयन गरिएको हो । विजेता आर्मीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजताले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाए । म्यान अफ द टुर्नामेन्ट घोषित भएका हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठले १५० सिसीको जिक्सर मोटरसाइकल जितेका थिए । उनले खेलमा ४ गोल गरेका थिए ।


साबिक विजेता आर्मी र हिमालयन शेर्पाबीचको फाइनल रोमाञ्चक भएको थियो । रंगशालाको उत्तर र दक्षिणपट्टिको प्यारापिट जीर्ण भएकाले दर्शक राखिएको थियो । पूर्व र पश्चिमपट्टिको प्यारापिट भरिएपछि दर्शक थेग्न आयोजक र सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।


झन्डै १० हजार दर्शकको उपस्थितिमा भएको फाइनलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए । दुवैले दर्शकको उत्तिकै समर्थन पाएको थियो । खेलको १९ औं मिनेटमा हिमालयनका अमर डंगोलको पासमा विश्वास श्रेष्ठले सानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा आर्मीले गोल फर्काउने मौका पाए पनि सदुपयोग हुन सकेन ।


दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै आर्मीले थप आक्रामक खेल प्रदर्शन गरेको थियो । खेलको ५१ औं मिनेटमा आर्मीका सन्तोष तामाङले विपक्षीतर्फ बल लिएर अगाडि बढ्ने क्रममा हिमालयनका ड्याडी ओम्बले फाउल गरे । फाउलवापत पाएको फ्रिकिकलाई सन्तोषले सदपुयोग गर्दै सोझै पोस्टमा छिराए ।


खेल बराबरी भएपछि हिमालयनमाथि दबाब बढेको थियो । ड्याडी ओम्बले आर्मीका सेसाङ लिम्बुलाई टयाकल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए । त्यसपछि हिमालयन १० खेलाडीमा समेटिएको थियो । अन्तिम समयमा आर्मीका कप्तान भरत खवासले गोल गर्ने राम्रो मौका गुमाएपछि निर्धारित समयको खेल बराबरीमा टुंगियो ।

आर्मीका तर्फबाट भरत खवास, सन्तोष तमाङ, दीप लामा, विवेक बस्नेत, टेकबहादुर तामाङ, विकेश कुथुले गोल गरेका थिए । हिमालयन शेर्पाबाट विजय श्रेष्ठ, उलरिच सिवे, विश्वास श्रेष्ठ, रवि थापा र विशन गुरुङले गोल गरे । हिमालयनका प्याट्रिक प्राइवेट र आशिष गुरुङ गोल गर्न सकेनन् भने आर्मीका दीपक गुरुङको पेनाल्टी प्रहार विपक्षी गोलरक्षकले रोके । आशिषको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले रोकेका थिए ।


आर्मीका विकेश कुथु उत्कृष्ट गोलकिपर, दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर र नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक तथा हिमालयनका विश्वास श्रेष्ठ उत्कृष्ट स्ट्राइकर घोषित भए । सबैले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : माघ ६, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?