फुपुले छाडिन् ओलम्पिक कोर्स

एनओसी र जुडो संघ असन्तुष्ट
कुशल तिमल्सिना

काठमाडौँ — अन्तर्राष्ट्रिय पदक सम्भावना साकार पार्न नेपालले धेरै लगानी गरेको थोरै खेलाडीमा पर्छिन् ओलम्पियन जुडोकी फुपुल्हामु खत्री । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गत सोलिडारिटी कोर्स दुई पटकसम्म पाउने भाग्यमानी यी खेलाडीले दोस्रो कोर्स भने पूरा नगरी फर्किएकी छन् । 

फुपुले छाडिन् ओलम्पिक कोर्स

२२ वर्षीया उनले सन् २०२० मा हुने टोकियो ओलम्पिकलक्षित प्रशिक्षण पूरा नगरी फर्किएपछि उनको जुडो संघ र नेपाल ओलम्पिक कमिटी (एनओसी) असन्तुष्ट देखिएको छ ।


एनओसी, जुडो संघ, आईओसी, ओलम्पिक कमिटी अफ जापान र जुडो खेलाडी तथा प्रशिक्षक प्रशिक्षण सेन्टर कोडोकानलगायतका संस्थाको समन्वयमा ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत फुपु गत अप्रिल अन्तिममा जापान पुगेकी थिइन् । राजधानी टोकियोबाट ३ सय किलोमिटर टाढा युनिभर्सिटी अफ ल मा उनले कानुनको अध्ययनसँगै जुडोको प्रशिक्षण थालिन् । जापानमा हुने स्थानीय प्रतियोगिता सहभागी हुन पाउने व्यवस्था पनि थियो ।


कम्तीमा दुई वर्षको विशेष प्रशिक्षणका लागि जापान पुगेकी १२ औं सागकी स्वर्ण विजेता फुपुले मुस्किलले ८ महिनामात्र प्रशिक्षण गरिन् । बीचको एक महिना १८ औं एसियाली खेलकुदका लागि फर्किएकी थिइन् ।


अन्तर्राष्ट्रियस्तरको स्तरीय प्रशिक्षण बीचैमा त्यागेर बिनासूचना नेपाल फर्कने उनको निर्णय घातक बन्ने देखिएको छ । किनभने एनओसीले फुपुका कारण अन्य खेलाडीका लागि पनि प्रशिक्षणको ढोका बन्द हुन आँटेको र अन्तर्राष्ट्रियस्तरमा नेपालको शीर निहुँर्‍याएको भन्दै असन्तुष्टि जनाइसकेको छ ।


प्रशिक्षण पूरा नगरी नेपाल फर्किएकोबारे स्वयं फुपु, एनओसी र जुडो संघको आ–आफ्नै धारणा छ । उनले लामो समयको प्रशिक्षणमा अनुकूल माहोल नमिलेको, पारिवारिक वातावरण नभएको बताएकी छन् । उनको तर्कसँग जुडो संघ केही लचिलो देखिएको छ । तर जानकारी नै नदिई नेपाल फर्कने उनको निर्णयप्रति ओलम्पिक कमिटी भने निकै रुष्ट बनेको छ ।


फुपुको व्यथा

१२ औं सागअघि ६ महिना यही कोर्सअन्तर्गत हंगेरीमा बसेर ६ महिने प्रशिक्षण गरिसकेकाले मसँग अन्तर्राष्ट्रिय अनुभव नभएको होइन । साग गेम्समा स्वर्ण र ओलम्पिक खेलिसकेकाले राष्ट्रिय खेलाडीको रूपमा मैले मेरो जिम्मेवारी भुलेको छैन ।


जापानमै हुने ओलम्पिकको तयारीअन्तर्गत दुईवर्षे सोलिडारिटी कोर्सका लागि छानिएकोमा मेरो उमंग जापान गएलगत्तै बिलायो । भाषाको समस्या पनि नभएको होइन तर त्यो ठूलो कुरा थिएन । ठूलो कुरा के हो भने मैले विश्वविद्यालयको होस्टेलमा कुनै समन्वय पाइनँ । मसँगै अन्य चार जापानी खेलाडी थिए । उनीहरूको एउटा टिम थियो । जापानीहरू सकेसम्म बाहिरका मानिससँग घुलमिल हुने स्वभावका हुँदैनन् भन्ने भनाइ मेरो वास्तविक जीवनमा सत्य भइरहेको थियो । बस्ने, खाने, रमाइलो गर्ने लगायत सबै कुरामा म एक्लिएँ ।


प्रशिक्षण चाहिँ राम्रो भएको थियो । मेरो खेलस्तर पनि सुधारिएकै थियो । यद्यपि बाहिरका कुराले पनि धेरै असर गर्दोरहेछ । होस्टेलमा रहँदा उनीहरू एकातिर, म अर्कातिर । अनि मेरो साथी भने पनि परिवार भने पनि मोबाइल हुन्थ्यो । यही मोबाइलबाट मैले मेरो मम्मी, दिदी र साथीहरूसँग कुराकानी गर्थें । मन हलुँगो हुन्थ्यो ।


यसबारेमा मैले जीवन सर (जीवनराम श्रेष्ठ, ओलम्पिक कमिटी अध्यक्ष), दीपक सर (दीपकहर्ष बज्राचार्य, जुडो संघ अध्यक्ष) सँग बारम्बार कुरा गरिरहको हो । मलाई त्यहाँ आफ्नै रुममेटहरूसँग डर लाग्थ्यो । उनीहरूले नै केही गर्ने हुन् कि भन्ने लाग्यो । बिरानो देशमा आफ्नो कोही नहुँदा म डिप्रेसनमै जान लागिसकेकी थिएँ ।


कहिलेकाहीं त आत्महत्या गरुँ जस्तो लाग्थ्यो । यो मेरो त्यति बेलाको वास्तविक अनुभव हो । मैले यही कुरा नेपालमा सरहरूलाई गरेको थिएँ ।


उहाँहरूले मलाई केही दिन पर्खन भन्नुभयो । म भने एक दिन पनि कुर्न नसक्ने अवस्थामा पुगिसकेकी थिएँ । मलाई अनौठो डरले सताएको थियो । यहाँ रहेर जीवन बर्बाद गर्नुभन्दा बरु निस्कन्छु भन्ने निर्णय लिएँ । नेपालबाट टिकट मगाएँ र डिसेम्बर १५ मा म नेपाल फर्केकी हुँ ।


डिसेम्बर ११ मा अन्तिमपल्ट मैले भाइबरमार्फत जीवनसरलाई मलाई यहाँबाट निकाल्नुस भनेकी थिएँ । उहाँले दुई दिन पर्खन भन्नुभएको थियो । दुई दिनसम्म अत्तोपत्तो नभएपछि म निस्किएकी हुँ । र, अर्को कुरा म भागेकी होइन ।

नेपाल आएर संघमा मैले लिखित निवेदन दिएको छु, त्यस पत्रमा त्यहाँबाट निस्कनुपर्नाका कारणहरू खुलाएको छु । संघका सरहरूले छलफल गर्दै हुनुहुन्छ होला । नयाँबजारमा गएर नियमित प्रशिक्षण पनि लिइरहेकी छु ।


मलाई त्यहाँ प्रशिक्षणको व्यवस्था मिलाउनुहुने सम्पूर्ण सरोकारवालासँग समन्वय नगरी फर्किएकोमा गल्ती महसुस भएको छ । दुई दिन बढी बस्न सकेको भए यस्तो हुँदैनथ्यो । यस मानेमा मैले गरेको गल्तीमा माफी चाहन्छु र सम्भवित सजायको भागीदार हुनेछु ।


समन्वय भएन : जुडो अध्यक्ष

नेपाली जुडोमा राज्यले सबैभन्दा धेरै लगानी गरेको र सबैभन्दा बढी अपेक्षा गरेका खेलाडी हुन् फुपु । उनलाई हामीले यसअघि पनि हंगेरीमा प्रशिक्षण गराएका थियौं र सागमा स्वर्ण आएको थियो । ओलम्पिकको तयारीका लागि नेपाल ओलम्पिक कमिटीसँगको छलफलमा उनलाई पठाइएको हो ।


सुरुआती समयमा कुनै समस्या थिएन । सबै कुरा राम्रो भइरहेको थियो र हामीलाई पनि त्यस्तै रिपोर्ट थियो । तर एकाएक उनी त्यहाँ बस्न नसक्ने भन्न थालिन् । आफू विश्वविद्यालयको होस्टेलमा एक्लो भएको, डर लाग्न थालेको, डिप्रेसनमा गएको र मर्न मन लाग्ने भनेपछि हामीले उनलाई निकाल्नका लागि प्रक्रिया अघि बढाएका हौं ।


नोभेम्बरमा भएको ओसाका ग्रान्ड स्लाम जुडो प्रतियोगितामा सहभागी भएपछि उनले कोडोकानमा प्रशिक्षण लिएकी थिइन् । त्यहाँका प्रशिक्षकले ६३ केजीको सट्टा ५७ केजीमा खेल्न निर्देशनात्मक सुझाव दिएका थिए । त्यसकै डर पनि उनमा परेको हुनसक्छ ।


त्यसबीचमा मैले नेपालमा उनका परिवारसँग पनि बारम्बार कुरा गरिरहेको थिएँ र राम्रो प्रशिक्षण भएकाले सकेसम्म सम्झाएर कोर्स पूरा गर्न पनि भनेको थिएँ । उनी बस्न नसक्ने नै भइन् । जापान ओलम्पिक कमिटी र जुडो संघका पदाधिकारीसँग छलफल गरी फर्काउने निर्णय भएपछि मैले उनको परिवारलाई जानकारी गराउन खोज्दा जापानबाट फर्किसकेको थाहा पाएँ । उनको यो निर्णयले संघलाई अप्ठेरो परेको छ ।


संघले गरेको विश्वासमा उनले आफूलाई प्रमाणित गर्न सकिनन् । अन्तर्राष्ट्रिय स्तरमा पनि हामीलाई अप्ठेरो भएको छ । उनीपछि मनिता श्रेष्ठ प्रधान पनि यस्तै कोर्सका लागि छनोट भएकी थिइन् । उनी जान नपाउने हो की भन्ने अवस्था आएको छ । प्रशिक्षणका लागि ल्याउने भए एक महिनाको परीक्षणकाल पूरा गर्नुपर्ने नयाँ सर्त आउन थालेको छ ।

थप रिपोर्ट मगाइरहेका छौं : एनओसी अध्यक्ष

‘ओलम्पिक २०२० प्रोजेक्ट’ अनुसार सरकारसँगकै सहमतिमा ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत दुई जुडो खेलाडी जापान जाने भए । फूपूल्हामु सुरुमै र अर्की खेलाडी केही समयपछि जाने कुरा थियो ।


जापान गएको सुरुमै उनले इन्टरनेट नभएको, खाना राम्रो नभएको लगायतको गुनासो गरेकी थिइन् । हामीले सबैतिर भनेर व्यवस्था गरेका थियौं । त्यहाँ बसेर प्रशिक्षण गर्न नचाहने मनसाय बेलाबेलामा प्रकट भइरहेको थियो । हामीले सम्झाइबुझाइ गर्‍यौं ।


उनले संघलाई पनि दबाब दिने, ओलम्पिक कार्यालयका कर्मचारीलाई पनि यहाँबाट निकालेनौ भने जे पनि गर्न सक्छु भन्ने जस्तो धम्की दिने गरिन् । एउटा प्रक्रियामा गएको हुनाले फर्कन पनि प्रक्रिया पूरा गर्नुपर्छ । हामीले आधिकारिक रूपमा नै जापान ओलम्पिक कमिटीसँग कुराकानी गर्‍यौं ।


जापानबाट फुपुबारे एउटा रिपोर्ट आयो । त्यो रिपोर्टबाट हामी छर्लंग भयौं कि उनी फर्कन चाहनुको कारण के हो । जुन उद्देश्यले हामीले पठाएको हो त्यसमा उनी सिरियस नभएको प्रस्ट भइसकेपछि उनकै चाहनाअनुसार हामीले फर्काउने प्रक्रिया सुरु गरेका हौं । प्रशिक्षणमा गम्भीर नहुने, मोबाइलमा धेरै समय रहने, समयमा नसुत्नेलगायतका समस्या उनमा देखियो ।


हामीले उनीबारेको थप रिपोर्ट मगाइरहेका छौं र संघसँग कुराकानी गरेपछि कारबाही प्रक्रिया सुरु गर्नेछौं । त्यो भन्दा पनि ठूलो धक्का हामीलाई के पर्‍यो भने नेपाल, जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको जुन सहकार्य थियो त्यसमा विश्वासको संकट आएको छ ।


हामीले यताबाट प्रक्रिया सुरु गर्दै गर्दा उनी कसैलाई खबर नगरी त्यहाँबाट फर्किइन् । त्यसैकारण जुडोकै अर्की खेलाडी मनिताको प्रक्रिया पनि रोकिएको छ । उनी गइसक्नुपर्ने थियो तर रोकिएको छ ।


प्रशिक्षणमा केन्द्रित गराएर खेलाडीलाई राख्ने कुरामा नयाँ ढंगबाट नसोच्ने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पदकको आशा नगरे पनि हुन्छ भन्ने मेरो निष्कर्ष रह्यो ।

प्रकाशित : माघ ६, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?