कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

युवा खेलाडीको भर

कुशल तिमल्सिना

काठमाडौँ — ‘अन्तर्राष्ट्रियस्तरमा पुगेपछि प्रतिष्ठा, जिम्मेवारी र दबाब उत्तिकै बढ्नेछ । त्यसलाई सही व्यवस्थापन गरेपछि मात्र सफल बनिन्छ’– कप्तान पारस खड्का ।

युवा खेलाडीको भर

पारस सम्मिलित छनोट समितिले युवा खेलाडीको बाहुल्य रहने गरी चार नयाँ अनुहार समेटेर यूएई भ्रमणका लागि टिम घोषणा गरेको छ । यसबाट नेपाली क्रिकेट पुस्तान्तरणको चरणमा प्रवेश गरेको देखिन्छ ।

माघ ११ देखि १९ सम्म यूएईमा नेपालले तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दैछ । १६ सदस्यीय नेपाली टोलीको घोषणा कप्तान पारस, प्रशिक्षक जगत टमाटा र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी प्रतिनिधि अमिनुल इस्लाम सम्मिलित कमिटीले गरेको छ । अनुभवी खेलाडी शरद भेषावकरले अस्वस्थताका कारण नाम फिर्ता लिएका छन् ।

अविनाश बोहरा, पवन सर्राफ, भीम सार्की र सन्दीप जोरा पहिलोपटक राष्ट्रिय टिममा अटाएका छन् । तीव्र गतिका बलरहरू विक्रम सोब र ललित भण्डारीसँगै स्पिनर सुशान भारी वैकल्पिकमा छन् । बंगलादेश प्रिमियर लिग खेलिरहेका सन्दीप लामिछाने शृंखलाका लागि उपलब्ध हुनेछन् ।

‘एकदिवसीय मान्यता पाइसकेपछि हामी अबको चार वर्ष व्यस्त रहन्छौं, युवा खेलाडीलाई पनि क्षमता बढाएर अर्को स्तरका लागि योग्य बनाउने हाम्रो लक्ष्य हो,’ १० वर्षदेखि नेपालको कप्तानी गरिरहेका ३१ वर्षे पारसले भने, ‘३/४ जना छाडेर अरू सबै खेलाडीसँग २/३ वर्षको मात्रै अन्तर्राष्ट्रिय अनुभव छ ।’ राष्ट्रिय टोलीमा अहिले प्रतिस्पर्धा बढ्न थालेको छ । धेरै युवा खेलाडीले घरेलु क्रिकेटमा आफूलाई प्रमाणित गरिसकेकाले अन्तर्राष्ट्रिय अनुभव बढाउने बेला आएको कप्तान पारसले बताए ।

प्रशिक्षक जगत टमाटाले पनि युवा खेलाडीले आफ्नो क्षमता बढाउने अवसर आएको बताए । ‘चार जना नयाँ खेलाडी छन्, त्यससँगै अन्य धेरैजसो खेलाडीसँग अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव छैन,’ प्रशिक्षक टमाटाले भने, ‘नेपाली क्रिकेटलाई अझै माथिल्लोस्तरमा लानका लागि युवा खेलाडीमा विश्वास गर्नुपर्छ ।’

१२ दिनको प्रशिक्षण प्रशिक्षक टमाटाले तयारी अवधिको हिसाबले छोटो भएको बताए । पारसले भने तयारी राम्रो रहेको बताए । ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालका लागि यूएईविरुद्धको एकदिवसीय र

ट्वान्टी–२० शृंखला महत्त्वपूर्ण रहेको कप्तान पारसले बताए । ‘हामी दोस्रोपटक एकदिवसीय शृंखला खेल्दैछौं र यसपछि लामो समयसम्म एकदिवसीय प्रतियोगिता छैन । ट्वान्टी–२० विश्वकप छनोट आउँदै रहेकाले यो शृंखला युवा खेलाडीको क्षमता अभिवृद्धि गर्न तथा उनीहरूकै लागि ठूलो अवसर छ,’ पारसले भने ।

उत्कृष्ट रणनीतिकार र खेलाडीका रूपमा पारसले आफूलाई प्रमाणित गरिसकेका छन् । यसपटक उनले अर्को चुनौती स्वीकार गरेका छन् । पारस यूएईविरुद्ध आफूलाई ओपनिङ ब्याट्सम्यानका रूपमा तयार गर्दैछन् । एकदिवसीय क्रिकेटमा सुरुआती ब्याट्सम्यानको जिम्मेवारी स्वाभाविक रूपमा धेरै हुन्छ ।

‘मैले अहिलेसम्म नगरेको ओपनिङको तयारी गर्दैछु । मध्यक्रममा एकसे एक ब्याट्सम्यान आएका छन् जसले खेललाई अन्त्यसम्म लग्ने क्षमता राख्छन्,’ पारसले भने, ‘मध्यक्रमको जिम्मा युवा खेलाडीलाई सुम्पेर सुरुआती जिम्मेवारी लिन लागेको छु ।’ एकदिवसीय र ट्वान्टी–२० दुवैमा ओपनिङ गर्न सक्ने सम्भावना पारसले आंैल्याए । यूएईका नियमित कप्तान रोहन मुस्तफासँगै अहमद राजा र रमिस सहजाद प्रतिबन्धमा परेकाले यूएईको टिममा हुने छैनन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाइसकेको अवस्थामा ब्याटिङ, बलिङ या फिल्डिङजस्ता निश्चित क्षेत्रमा रहेको कमजोरी स्वीकार्य नहुने कप्तान पारसले बताए । ब्याटिङमा अपेक्षाकृत प्रदर्शन हुन नसकेको स्वीकार गर्दै कप्तानले भने, ‘केही सुधार गर्नुपर्ने त पक्कै छ । ब्याट्सम्यानहरू ब्याटसँग ‘कनेक्ट’ हुन सकिरहेका छैनन् । अनुभवका कारण निम्तिएको समस्या हो यो, अनुभव पाउँदै अघि पढ्न सक्ने हो भने सुधार हुँदै जाने हो ।’

‘बल सेन्स छ, गेम सेन्स भएन’

नेपाली टोलीको ब्याटिङ सुधार्न आईसीसीले भारतीय प्रशिक्षक उमेश पटवाललाई ब्याटिङ कल्सल्ट्यान्टका रूपमा पठाएको छ । लामो समयदेखि उनी नेपाली खेलाडीको क्षमता हेरिरहेका छन् र एउटा निष्कर्षमा पुगेका छन् ।

‘नेपाली खेलाडीमा बल सेन्स छ, तर गेम सेन्स भएन,’ एक वर्षदेखि नेपाली टोलीका ब्याटिङ कल्सल्ट्यान्ट पटवालले भने, ‘थोरै बलमा राम्रो रन बटुलेर टिमका लागि योगदान दिनका लागि नेपाली टोली योग्य छ । टिमको अवस्थालाई आकलन गरेर खेल्ने कम भए ।’

‘शट सेलेक्सनमा उनीहरू द्विविधामा पर्छन्, कतिबेला लामो शट खेल्ने र कतिबेला एक या दुई रन लिने भन्ने निर्णय गर्न नसक्दा धेरै ब्याट्सम्यान आउट हुने गरेका छन् । खेलको अवस्था आकलन गर्न नसक्ने र खराब बलमा ठूलो शट खेल्न खोज्ने समस्या छ । कुन बलरसँग कस्तो खेल्ने भन्ने योजना पनि हुँदैन । बलरअनुसारको रणनीति हुँदैन,’ पटवालले थपे ।

यूएई भ्रमणअघि उनले टिमका हरेक सदस्यको यही कमजोरी सुधार गर्ने गरी काम केन्द्रित गरेका छन् । यसो हुनुको कारण नेपालमा स्तरीय एकदिवसीय प्रतियोगिता नहुनुलाई मुख्य कारण मान्छन् पटवाल । ‘तीन ठूला ट्वान्टी–२० लिगबाहेक अन्य एकदिवसीय प्रतियोगिता छैनन्, भए पनि उच्चस्तरका छैनन् । ब्याट्सम्यानहरू राम्रो बलर र राम्रो टिमविरुद्ध बनाइने रणनीतिका बारेमा जानकार छैनन् । लामो समयसम्म ब्याटिङ गर्ने धैर्यता नेपाली ब्याट्सम्यानको छैन ।’

उनले पछिल्ला घरेलु प्रतियोगितामा नेपाली ब्याट्सम्यानको ब्याटिङ प्रदर्शनबाट असन्तुष्टि जनाए । दीपेन्द्र सिंह ऐरीबाहेक अन्य ब्याट्सम्यान घरेलु प्रतियोगितामा फ्लप भएका थिए । यूएई भ्रमणमा क्याम्पबाट सिकेका कुरा थोरै मात्र पनि लागू भए ब्याटिङमा धेरै सुधार हुने पटवालको विश्वास छ ।

नेपाली टोली

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), अविनाश बोहरा, वसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा ।


नेपाल भर्सेस यूएई (एकदिवसीय)

११ माघ (पहिलो खेल)

१२ माघ (दोस्रो खेल)

१४ माघ (तेस्रो खेल)

नेपाल भर्सेस यूएई (ट्वान्टी–२०)

१७ माघ (पहिलो खेल)

१८ माघ (दोस्रो खेल)

२० माघ (तेस्रो खेल)

प्रकाशित : माघ ७, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?