‘कुनै आश्चर्य छैन’

विनोद पाण्डे

काठमाडौँ — नेपाली महिला क्रिकेट टोली पछिल्लो समय नतिजामुखी हुन सकेको थिएन । लगातार रूपमा नेपाल सेमिफाइनलमा हार्दै आएको थियो । राउन्ड रोबिनको प्रतियोगितामा पनि त्यस्तै थियो नेपालको प्रदर्शन । शीर्ष दुईभित्र पर्न नेपाललाई हम्मे पर्थ्याे। 

‘कुनै आश्चर्य छैन’

थाइल्यान्ड स्म्यास ट्वान्टी–२० प्रतियोगिताले नेपाललाई नयाँ जीवन दिएको छ । अर्को महिना थाइल्यान्डमै हुने विश्व

ट्वान्टी–२० को एसिया छनोटको तयारीका लागि नेपालले यो प्रतियोगितामा सहभागिता जनाएको थियो ।


लगातार ५ खेल जितेपछि नेपाल बैंककमा फाइनलमा पुग्यो । आयोजक थाइल्यान्डसँग ७० रनले फाइनलमा पराजित भएपछि नेपाल पहिलो उपाधि जित्नबाट चुक्यो । पछिल्लो समय नेपाल नियमित रूपमा थाइल्यान्डसँग पराजित भएको थियो ।


२००७ मा एसीसी वुमेन्स ट्वान्टी–२० खेल्दै नेपालले मलेसियाबाट अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेको थियो । पहिलो सहभागितामै फाइनल पुगेको नेपालले त्यसको १२ वर्षपछि बल्ल अर्को फाइनल खेलेको हो ।


पहिलोपटक महिला क्रिकेट टोली हेरिरहेका प्रशिक्षक विनोद दासलाई यसले कुनै आश्चर्य बनाएन । ‘हामीले जसरी खेल्यौं त्यसमा म आश्चर्यमा परेको छैन । किनभने मैले पहिला अरू टोलीको स्तर देखेको थिइनँ, त्यही भएर मैले केही प्रतिक्रिया जनाइहालेको थिइनँ,’ दासले भने, ‘अहिले हेर्दा थाइल्यान्डलाई कुनै टोलीले चुनौती दिन्छ भने त्यो नेपाल हो । हामीले आफैंलाई पनि विश्वास गर्न लाग्यौं भने थाइल्यान्डलाई पनि जित्नेछौं । थाइल्यान्डलाई पराजित गर्ने स्तरसम्म पुग्न हामीले अझै मिहिनेत गर्नुपर्ने हुन्छ ।


विनोद दास, प्रशिक्षक

विगतको प्रदर्शन हेर्दाखेरि थाइल्यान्ड, यूएई, हङकङसँगै नेपाल सम्भवत: शीर्ष चार टोलीमा थिए । यसपटकको सबैभन्दा राम्रो पक्ष के थियो भने यो मैले सम्हालेको सबैभन्दा राम्रो टोली थियो । विगतमा मैले जे जति पनि सुनेको थिएँ, मैले त्यस्तो केही पाइनँ । त्यही कारणले गर्दा पनि यो भ्रमण विशेष रह्यो ।


झन्डै डेढ वर्षपछि नेपालले कुनै प्रमुख प्रतियोगिता खेलिरहेको थियो । त्यसमा राम्रो मात्र होइन एकरूपको प्रदर्शन पनि देखाउन सफल भयो । विश्वकप छनोटमा प्रतिस्पर्धा गर्ने हो भने सुधार गर्ने पक्ष धेरै छ अझै पनि । फिटनेसको हिसाबमा हामी राम्रै टोली थियौं । जतिले पनि विगतमा नेपालसँग खेलेका थिए, उनीहरूको एउटै भनाइ थियो– ‘नेपालको टोली अहिले फरक र फिट छ ।’


हाम्रो क्षेत्रमा थाइल्यान्ड निकै बलियो छ । स्किलको हिसाबमा हेर्ने हो भने हामी थाइल्यान्डभन्दा त्यत्ति धेरै पछाडि छैनौं । दुवै टोलीका खेलाडी हेर्ने हो भने पनि हाम्रो नै बलियो टोली देखिन्छ । तर म्याच टेम्परामेन्ट, ठूलो लिगमा खेलेको अनुभव, त्यो स्तरमा एकरूपमा खेलेको हिसाबमा निश्चय पनि थाइल्यान्ड हामीभन्दा राम्रो छ । उनीहरू राम्रो टिमसँग खेलिरहेका छन्, नियमित रूपमा खेलिरहेका छन् । त्यस हिसाबमा उनीहरू ठूला म्याच खेल्नलाई पोख्त भइसकेका छन् । विश्वकप छनोट आउन अझ केही समय बाँकी छ । हामीले आफूलाई तयारी गरेर राम्रो प्रदर्शन देखाउन सक्छौं ।


मैले यो टोली हेरेपछि सबैभन्दा पहिला खेलाडीको मानसिक प्रवृत्ति परिवर्तन गर्न केन्द्रित थिए । थाइल्यान्डसँगको फाइनलमा मलाई हामी अलिकति मानसिक प्रभावमा परेर दबाबमा खेलेको जस्तो देखे । अलिक आत्तिएका पनि थियौं । सामान्य स्किलहरू अरू टिमविरुद्ध देखाइरहेका थियौं । फाइनलमा चाहिँ त्यो देखाउन सकेका थिएनौं । त्यही कारण अलिक ठूलो हार पनि बेहोर्न पुग्यौं । राम्रो टिमसँग लामो समयपछि खेल्दा यस्तो भइहाल्छ ।


मैले जानुभन्दा अगाडि पनि भनेको थिएँ, मेरा लागि यो पाठ जस्तो हुन्छ । के गर्नुपर्ने हो सिकेर आउँछु जस्तो लागेको थियो । अहिले प्रस्ट भएको छ । लुकेर, तल परेर थाइल्यान्ड जस्तो टोलीसँग खेल्न सकिँदैन । अब थाइल्यान्डसँग खेल्दा हामीले राम्रो तयारी गर्नुपर्छ ।


संघ नभएको अवस्थामा लामो समयसम्म क्याम्प राख्न गाह्रो छ । तर जति कार्यक्रम बनाएर पठाइएको छ त्यो सबै स्वीकृत भएर आएका छन् । त्यही भएर यसको समस्या पनि र समाधन पनि छ ।


रुबिना क्षेत्री, कप्तान

अहिलेसम्म खेलेको प्रतियोगितामा यो सबैभन्दा उत्कृष्ट थियो । त्यसैले यस नतिजालाई पूर्ण सन्तुष्ट रूपमा लिएको छु । सबैले आफ्नो उत्कृष्ट दिएको हो । यसपटक चाहिँ टिम समन्वय राम्रो भयो । सबै खेलाडीमा सफलताको भोक थियो, राम्रो गर्नुपर्छ भन्ने ईख थियो । पहिला भोक र ईख हुन्थ्यो तर उद्देश्य हुँदैनथ्यो ।


ट्रेनिङ क्याम्पसँगै हाम्रो मानसिक रूपको पनि विकास भएका कारण हुन सक्छ यो परिपक्वता आएको हो । विनोद दास एउटा उत्कृष्ट प्रशिक्षक हुनुहुन्छ सबैलाई थाहा छ । विगतका प्रशिक्षकलाई नराम्रो भन्न खोजेको होइन । तर विनोद दाइ पूर्वखेलाडी भएकाले पनि उहाँले हामीलाई मानसिक र शारीरिक हिसाबमा बुझ्न सक्नुभयो । कस्तो स्थितिमा के गर्ने भनेर पूर्वखेलाडीको हिसाबमा उहाँले अझ राम्रोसँग बुझ्नुभयो ।


फाइनलमा हामी अलिकति नर्भस भयौं । हामीले आफ्नो उत्कृष्ट पनि दिन सकेनौं । सधैं एकैनास हुँदैन । सबैजनाले प्रयास गरेको हो । त्यो ब्याटिङ विकेट थियो, १ सय २० ठूलो स्कोर थिएन । हामीले धैर्य देखाउन सक्नुपथ्र्यो । ठूलो टिमसँग खेल्दा पहिला थाइल्यान्ड होइन क्रिकेट खेल्नुपर्छ भनेर दिमाग लगाउनुपर्छ ।


१५ दिन अभ्यास गर्दा जितेर आइन्छ भन्ने होइन । हामीले सिकेर आएका छौं । अब हामीले विश्व ट्वान्टी–२० छनोट खेल्नु छ । त्यस हिसाबमा म्याच अभ्यास जस्तो पनि थियो हामीलाई ।

प्रकाशित : माघ ७, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?