१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आठौं राष्ट्रिय खेलकुद : चीनबाट तयारी प्यारापिट

ठाकुरसिंह थारू

नेपालगन्ज — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम तयारी भइरहँदा नेपालगन्ज रंगशालाका लागि चीनबाट अत्याधुनिक र तयारी (रेडिमेड) प्यारापिट मगाइएको छ । 

अन्तर्राष्ट्रियस्तरको प्यारापिट जडानको काम एक साताभित्र पूरा हुनेछ । प्यारापिट पानीजहाजबाट बंगलादेश हुँदै यहाँसम्म ल्याइनेछ ।


‘लोड भइसकेको छ । केही दिनमै नेपाल आइपुग्छ,’ प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार तयारीबारे बुझ्न आइतबार यहाँ आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले भने, ‘चीनमै बनेर तयार भएको प्यारापिटलाई यहाँ नटबोल्टले जोड्न मिल्छ । त्यसैले कम समयमा तयार हुन्छ ।’ चीनबाट रेडिमेड मगाइएको प्यारापिट ३ हजार ५ सय क्षमताको छ ।


तीनतर्फ पक्की प्यारापिट निर्माण भइरहेको छ । नेपालगन्ज रंगशालाको प्यारापिटमा १० हजार दर्शक अट्ने क्षमता छ । चीनबाट ल्याउन लागिएको प्यारापिट १९ करोड रुपैयाँको रहेको सदस्य सचिव विष्टले बताए । ‘यो

अन्तर्राष्ट्रियस्तरको हो,’ उनले भने । रंगशाला निर्माणका लागि कुल लागत २५ करोड छ । निर्माणाधीन रंगशाला अन्तिम चरणमा पुगिसकेको छ । पौडी पोखरी बनिसकेको छ । रात्रिकालीन प्रतियोगिताका लागि रंगशालामा बिजुली जडानको काम दु्रतगतिमा अघि बढेको छ ।


राष्ट्रिय प्रतियोगिताले नेपालगन्ज रंगशालाको स्वरूप नै फेरिदिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने भौतिक पूर्वाधार नेपालगन्जले पाएको छ । वर्षातका बेला पानी नजम्ने फिल्ड तयार गरिएको छ । त्यसका लागि पानी निकास गर्न अन्डरग्राउन्ड पाइप बिछ्याइएको छ । प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगिसकेको छ । हालसम्म पूर्वाधारसम्बन्धी ८० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।


प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न ढिलो गरी बजेट निकासा भएकाले समयमै हुन नसकेको हो । बजेट आएलगत्तै निर्माणको कामले गति लिएको छ । पछिल्लोपल्ट फागुनको अन्तिम सातासम्म प्रतियोगिता सञ्चालन हुने गरी काम अगाडि बढाइएको छ ।


क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रतियोगिताका लागि अन्तिम चरणको काम भइरहेको दाबी गरे । उनले माघ १५ गतेसम्म करिब ९० प्रतिशत काम सम्पन्न हुने बताए । कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भइरहेको छ ।


बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा कबड्डी र खोखोको पूर्वाधार, बर्दियाको गुलरियामा भलिबल र एथलेक्टिस कोर्ट, दाङमा बास्केटबल कोर्ट, कराँते कभर्डहल, कपिलवस्तुमा कुस्ती खेलस्थल निर्माण भइरहेका छन् । प्रतियोगिताका लागि आवश्यक पर्ने पूर्वाधारका लागि १३ वटा ठूला आयोजना सञ्चालनमा छन् । ३५ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रकाशित : माघ ७, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?