कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

युरोपेली लिगका प्रमुख प्रसंग

एएफपी

पेरिस — स्पेनिस ला लिगामा बार्सिलोनालाई स्पष्ट ५ अंकको अग्रता कायम राख्नका लागि लियोनल मेसीले वैकल्पिक खेलाडीका रूपमा आएर सानदार अन्त्य गरे । फ्रान्समा भने घरेलु मैदानमा कीर्तिमानी जितका बावजुद पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने खुसियाली मनाउन सकेन । 

युरोपेली लिगका प्रमुख प्रसंग

रेलिगेसनबाट जोगिन संघर्षरत मोनाको अझै तल पुगेको छ । र, बुंडेसलिगा उपाधिको यात्रामा बोरुसिया डर्टमन्डले अर्को इँटा थपेको छ । यो साता युरोपेली लिगका मुख्य खेलका नतिजा–


निर्विकल्प मेसी

ओस्मान डेम्बेलेले सानदार खेल प्रदर्शन गरे । तर आइतबार लेगानेसलाई ३–० ले पराजित गर्नका लागि निर्णायक भूमिका मेसीकै रह्यो । मेसीले करिब आधा घण्टा मैदानमा बिताउँदा १ गोल गरे भने अर्को गोलका लागि पास मिलाए । ला लिगामा लगातार सातौं जित निकालेको बार्सिलोनाले दोस्रो स्थानको एटलेटिको म्याड्रिडसँग ५ अंकको दूरी यथावत् राखेको छ ।


च्याम्पियन्स लिगको नकआउट स्पर्धाको तयारीका लागि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टिममा केही परिवर्तनको प्रयास गरेका थिए । नोभेम्बरमा हातको चोटबाट मुक्त भएपछि पहिलो पटक मेसी बार्सिलोनाको सुरुआती टिमबाट बाहिर थिए । तर खेलको सु:खद अन्त्यका लागि उनैको आवश्यकता पर्‍यो ।


लेगानेसविरुद्ध १–१ को बराबरी भएको अवस्थामा ६४ औं मिनेटमा मैदान प्रवेश गरेका मेसीले सात मिनेटपछि नै लुइस स्वारेजलाई गोलका लागि बल पास दिए । इन्ज्युरी समयमा आफैंले गोल गरी खेल जिताए । मेसीको लिगमा यो १८ औं गोल हो । ‘धेरै खेल छन्’, भाल्भर्डेले भने, ‘हामीले खेलाडीसँग छलफल गरेर निर्णय गर्ने गरेका छौं कि उनीहरूलाई आराम आवश्यक छ कि छैन ?’


पीएसजीलाई मिडफिल्डमा समस्या

पीएसजीको यो साता सानदार रह्यो । एडिन्सन काभानी र केल्भियन एम्बाप्पेको ह्याट्रिक सहयोगमा घरेलु मैदानमा कीर्तिमानी जित निकाल्ने क्रममा पीएसजीले लिग वानको पुछारमा रहेको गुइनग्याम्पलाई ९–० ले हरायो ।


खेलमा नेयमरले पनि दुई गोल गरे । थोमस टचेलको प्रशिक्षणमा यी ब्राजिलियन स्ट्राइकरले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । आफ्ना समकक्षी स्ट्राइकरसँगको सम्बन्धबारे नेयमरले भनेका छन्, ‘यो साथित्व हो, त्योभन्दा बढी आपसी सम्मान हो ।’


प्रशिक्षक टचेल टिममा योग्य मिडफिल्डरको तीव्र खोजीमा छन् । विशेष रूपमा यसै सिजन अनुबन्ध भएका एड्रियन रवियोट अहिले लयमा छैनन् ।


उनका एकमात्र बाँकी मिडफिल्डर मार्को भेराट्टी पनि शनिबार गोलीगाँठोको चोटका कारण बाहिरिएका छन् । यसको अर्थ म्यानचेस्टर युनाइटेडविरुद्ध हुने खेलका लागि उनी चोटमुक्त हुने अपेक्षा गर्न सकिन्छ । पीएसजीलाई नयाँ मिडफिल्डर अनुबन्ध गर्नका लागि १० दिनको समय छ । टोलीले एभरटनबाट इद्रिसा गुये र जेनिथ सेन्ट पिटर्सबर्गबाट लियान्द्रो पारेडेसलाई अनुबन्ध गर्न सक्छ ।

मोनाकोको बिर्सनलायक सिजन

मोनाकोका लागि बिर्सनलायक सिजन शनिबार पनि जारी रह्यो । उसले आफ्नै मैदानमा स्ट्रासबर्गसँग ५–१ को हार सामना गर्नुपर्‍यो र रेलिगेसन क्षेत्रमा अझै तीन अंकले पछि पर्‍यो । यो खेल सेस फेब्रिगासका लागि पनि बिर्सनलायक होम डेब्यु रह्यो । प्रशिक्षक थिएरी हेनरीले आफ्नो संयमता गुमाए । पेनाल्टी गोलमार्फत आफ्नो टिम २–१ ले पछि परेपछि उनले भार प्रणालीकै विरोध गरे ।


स्ट्रासबर्गका डिफेन्डर केन्नी लालालाई दुव्र्यवहार गरेपछि हेनरीको चर्को आलोचना भएको छ । उनले आफ्नो संयमता राखेर मोनाकोलाई कठिन अवस्थाबाट पार गराउने खोजीमा लाग्नुपर्ने अवस्था छ । आफूले प्रशिक्षण थालेपछिको १२ लिग खेलमा २ वटा मात्र जितेका हेनरीले भने, ‘यो एउटा प्रतिक्रिया थियो र मलाई यसबारे ग्लानि छ । तर, म पनि मानिस हुँ ।’


नेपोलीले हार मान्दैन

उत्कृष्ट युभेन्ट्स सिरी ‘ए’ का १९ खेलमा १७ मा जित र २ खेलमा बराबरीको नतिजा निकालेर लगातार आठौंपल्ट लिगको उपाधि यात्रामा छ । तर पनि नेपोलीले उसलाई चुनौती दिइरहेको छ र ऊ पूर्णरूपमा उपाधि यात्राबाट टाढा भइसकेको छैन ।


आइतबार लाजियोविरुद्धको खेलमा कार्लो एन्सेलोटीको टिमका प्रमुख खेलाडी थिएनन् । जोसे कलेजोन र अर्काडुइज मिलिकको गोलमार्फत उसले २–१ को जित निकाल्यो । सात लिग खेलमा ६ वटामा जित हासिल गरेपछि नेपोली युभेन्ट्सभन्दा ६ अंकले पछि छ ।


डर्टमन्डको यात्रा

आरबी लिप्जिगलाई १–० ले पराजित गरेपछि बोरुसिया डर्टमन्डले बुंडेसलिगामा आफ्नो उत्कृष्ट लयलाई सन् २०१९ मा पनि निरन्तरता दिएको छ । एक्सेल विटसलको गोलको सहयोगमा लुसियन फाब्रेको टिमले शीर्षस्थानमा बायर्नसँग स्पष्ट ६ अंकको अग्रता बनाएको छ ।


यो नतिजाले के पुष्टि भएको छ भने डर्टमन्डले आफ्ना प्रभावशाली प्लेमेकर तथा कप्तान मार्को रिउसबिना पनि ३ अंक हासिल गर्न सक्छ, जसले लिगमा ११ गोल गरेका छन् भने ७ गोलका लागि बल उपलब्ध गराएका छन् । उनले चोटका कारण शनिबारको खेल गुमाएका थिए ।

प्रकाशित : माघ ८, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?