कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आर्मी उपाधि रक्षाको बाटोमा

सिमरा गोल्डकप
पवन यादव

सिमरा — साबिक विजेता त्रिभुवन आर्मी क्लब बुधबार दसौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बाराको सिमरा रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा आर्मीले आयोजक नव जनजागृति युवा क्लबलाई १–० ले हरायो ।

आर्मी उपाधि रक्षाको बाटोमा

सिमसिमे झरीका कारण चिसो बढेको रंगशाला क्षेत्रलाई गोल्डकपले तताएको थियो । खेलमा सुरुदेखि नै दुवै टिम कसिलो प्रदर्शनमा उत्रिएका थिए । दुवै टिमको रक्षात्मक हुँदै एटयाटिङ प्रदर्शनमा उत्रिएका थिए । बाहिरी मौसम जाडो भए पनि खेलाडीको प्रदर्शनले दर्शकलाई ततायो । सुरुदेखि दर्शक घरेलु टोलीको पक्षमा निरन्तर हुटिङ गरीरहे । पहिलो हाफ गोलरहित भयो ।


दोस्रो हाफ सुरु भएसँगै दर्शकहरू विभाजित हुँदै आ–आफ्नो टिमको पक्षमा हुटिङ गर्न थाले । त्यही क्रममा आर्मीका भरत खवासले ५० औं मिनेट गोल गरे । उनले पोस्ट नजिकै पाएको बलमा गोलरक्षक अघि बढेको मौकाको सदुपयोग गरेका थिए । भरतलाई सेसाङ लिम्बुले बल मिलाइदिएका थिए ।


गोलसँगै आर्मीको अग्रता बन्यो । गोल खाएर दबाबमा परेको आयोजकले लय गुमाएको हो । गोल फर्काउन उसले गरेको निरन्तरको प्रयास आर्मीका खेलाडीले असफल बनाइदिए । गोलपछि आर्मी रक्षात्मक रणनीतिमा उत्रियो । अन्तिम समयसम्म दुवै टिमले गोल गर्न सकेनन् । अन्तत: भरतको गोल नै निर्णायक बन्यो ।


पाँचौं संस्करण विजेता आयोजकले मकवानपुर ११ लाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा तय गरेको थियो ।

आर्मीले एपीएफ क्लबलाई ४–२ ले हराएर आयोजकविरुद्धको भिडन्त पक्का गरेको हो । आर्मीले गत शनिबार वीरगन्जमा विशाल गोल्डकप जितेको थियो ।


जनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले सुरुआतमा आफ्ना खेलाडीले राम्रो खेले पनि दोस्रो हाफमा लय गुमाएको बताए । ‘सुरुको स्टामिना कायम राख्न सकिएन,’ उनले भने, ‘लगातार पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपर्‍यो ।’


आर्मीका प्रशिक्षक नवीन न्यौपानेले जितबाट खुसी भए पनि सोचेअनुसार प्रदर्शन गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । ‘उपाधिका लागि अझ मिहिनेत गर्नुपर्छ,’ उनले भने, ‘हामी तयारी थाल्छौं । आजको खेलमा तालमेलको अभाव देखिएको छ ।’


आर्मीका डिफेन्डर विमल पाण्डे म्यान अफ द म्याच घोषित भए । उनले १० हजारसहित ट्रफी हात पारे । बिहीबार हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार र हिमालयन शेर्पा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : माघ १०, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?