डीपीएललाई आईसीसीको मान्यता

डीपीएलमा हरेक टिमले कम्तीमा दुई विदेशी राख्नुपर्ने व्यवस्था

काठमाडौँ — धनगढीमा माघ २६ देखि हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल ३) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएको छ । 

डीपीएललाई आईसीसीको मान्यता

नेपालको आधिकारिक निकाय नेपाल क्रिकेट संघलाई आईसीसीले नै निलम्बन गरेकाले घरेलु प्रतियोगिताका लागि उसैबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।


आईसीसीबाट आफ्ना सदस्य राष्ट्रमा परिपत्र भएसँगै प्रतियोगिता खेल्ने विदेशी खेलाडीका लागि पनि सहज भएको छ । डीपीएलमा हरेक टिमले कम्तीमा २ विदेशी खेलाडी राख्नुपर्ने अनिवार्य व्यवस्था छ ।


धनगढी क्रिकेट एकेडेमीको आयोजनामा डीपीएलको तेस्रो संस्करण फाप्ला क्रिकेट मैदानमा हुँदै छ । जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सीवाईसी अत्तरिया, विराटनगर किंग्स, रूपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स गरी ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।


प्रतियोगिताका लागि सबै टिमले हालै सम्पन्न अक्सनबाट खेलाडी अनुबन्ध गरिसकेका छन् । डीपीएलका प्रत्येक टोलीले अक्सनबाट १२ खेलाडी, एक रणनीतिक खेलाडी र दुई विदेशी गरी १५–१५ खेलाडी अुनबन्ध गर्नुपर्नेछ ।


ट्वान्टी–२० संरचनाको प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने छ । लिग चरणमा प्रत्येक टिमले एक–अर्कासँग खेल्नेछन् । शीर्ष चार टिम प्लेअफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । प्रतियोगिताको यसअघिका दुवै संस्करण टिम चौराह धनगढीले जितेको थियो । टिम मालिक परिवर्तन भएसँगै यो टिमको नाम अहिले धनगढी स्टार्स भएको हो ।


५ करोड अनुमानित बजेट रहेको प्रतियोगिताका लागि विजय डिस्ट्रिलरीको रुस्लान क्रिकेटले यस वर्ष पनि मुख्य प्रायोजनलाई निरन्तरता दिएको छ । प्रायोजक र आयोजकबीच यस संस्करणका लागि नगद र जिन्सी गरी १ करोड १० लाखको कीर्तिमानी सम्झौता भएको थियो ।


यसअघिको संस्करणमा झै यस वर्ष पनि प्रतियोगिताको उद्घाटन समारोहमा धनगढी क्रिकेट एकेडेमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्त्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १–१ लाख रुपैयाँ प्रदान गर्नेछ ।


गत वर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजु खड्का र अर्जुन खड्का स्मृति सम्मानबाट राखेपका पूर्व प्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए ।

प्रकाशित : माघ १०, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?