कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अस्ट्रेलियन ओपन : सेरेना बाहिरिइन् जोकोभिचलाई सहज

एएफपी

मेलबर्न — २४ औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने अभियानमा रहेकी सेरेना विलियम्सलाई बुधबार अस्ट्रेलियन ओपनमा क्यारोलिना प्लिस्कोभाले सनसनीपूर्ण रुपमा रोकिदिएकी छन् । अर्कोतर्फ पूर्व च्याम्पियन नोभाक जोकोभिचले भने सहज रूपमा सेमिफाइनलमा स्थान बनाएका छन् ।

अस्ट्रेलियन ओपन : सेरेना बाहिरिइन् जोकोभिचलाई सहज

शीर्ष वरीयताकी सिमोना हालेपलाई चौथो चरणमा पराजित गरेकी अमेरिकी खेलाडी सेरेनाले क्वाटरफाइनलमा सातौं वरीयताकी चेक गणतन्त्रकी प्लिस्कोभासँग निराश बनिन् । मेलबर्नको चर्को गर्मीबीच प्लिस्कोभाले चार पटकसम्म म्याच प्वाइन्ट रोकेर ६–४, ४–६, ७–५ को सेटमा जित निकालेकी हुन् ।


उनले फाइनलमा पुग्नका लागि जापानकी नाओमी ओशाकाको चुनौती पन्छाउनुपर्नेछ । चौथो वरीयताकी जापानी खेलाडीले चोटग्रस्त इलिना भिटोलिनालाई ६–४, ६–१ को सेटमा हराएर अन्तिम चारमा पुगेकी हुन् ।


यो सेरेनाका लागि दर्दनाक हार थियो, जसले पहिलो सेट जितेर दोस्रो सेट गुमाएपछि खेल बराबरीको अवस्थामा थियो । तेस्रो सेटमा सेरेना ५–१ ले अघि थिइन् । केवल एक शटमा खेल आफ्नो पक्षमा हुन सक्थ्यो । उनले निरन्तर गल्ती गरिरहिन् । कोर्टमा उनको निरासा पटक–पटक देखिन्थ्यो ।


‘ती म्याच प्वाइन्टमा मैले कुनै गलत हर्कत गरेको छैन । म केही आक्रामक भने रहें, उनले राम्रो खेलिन् ।’ ३७ वर्षीया सेरेनाको खुट्टा खेलका क्रममा लड्खडाएको थियो । तर, उनले त्यसलाई आफ्नो हारको कारण स्वीकार्न तयार भइनन् ।


आमा बनेपछि सेरेना गत वर्ष पहिलो पल्ट कोर्टमा फर्किएकी थिइन् । मार्गरेट कोर्टको लामो समयदेखि स्थापित २४ ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने अभियानमा त्यसयता उनले चार पटक असफल प्रयास गरिन् । आगामी मे मा हुने फ्रेन्च ओपन उनका लागि अर्को अवसर हुनेछ ।


प्लिस्कोभाको करिअरमा यो तेस्रो ग्रान्ड स्लाम सेमिफाइनल हो । सन् २०१७ मा रोनाल्ड गारोस र गत वर्ष यूएस ओपन । यूएस ओपनको फाइनलमा एन्जेलिक क्रेबरसँग पराजित हुनुअघि उनले सेरेनालाई नै हराएकी थिइन् ।

‘म लगभग बाहिरिइसकेको थिएँ । तर अहिले यहाँ विजेताका लागि रूपमा उभिएकी छु, यो एक सानदार अनुभूति हो,’ सेरेनाको कीर्तिमानी यात्रामा बाधक बनेकी प्लिस्कोभाको भनिन् ।


अबकी प्रतिस्पर्धी ओशाकाबारे सोधिएको प्रश्नमा प्लिस्कोभाले भनिन्, ‘उनी खतरनाक छिन् तर सेरेना जतिको खतरनाक अरु कोही हुनै सक्दैन ।’ ओशाकाले क्वाटरफाइनलमा घाँटी र काँधको चोटबाट ग्रसित युक्रेनी खेलाडी भिटोलिनालाई पछि छाडेकी थिइन् । चोटग्रस्त प्रतिस्पर्धीलाई पराजित गर्नुका बाबजुत ओशाकाप्रति गरिएको यस्तो टिप्पणीले उनको क्षमता दर्शाउँछ । उनले यस्तो टेनिस खेलिरहेकी छन् कि जसले गत वर्ष यूएस ओपन दिलाएको थियो ।


‘मैले निरन्तरताको प्रयास गरेकी थिएँ । दुर्भाग्यपूर्वक उनी घाइते भइन् । तर, घाइते हुँदा पनि उनीसँग खेल्न निकै कठिन भयो,’ २१ वर्षीया ओशाकाले थपिन्, ‘मेरो मात्र एउटै लक्ष्य हुन्छ कि जति कठिन भए पनि जित्ने प्रयास गर्ने र रिस नदेखाउने । पछिल्ला दुई चरणमा मैले वास्तवमै राम्रो खेल्न सकिनँ । आज राम्रो भयो र यो प्रदर्शनबाट खुसी छु ।’


ओशाका सन् १९९४ मा किमिको दातेपछि पहिलो पटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुग्ने जापानी महिला बनेकी छन् । पुरुषतर्फ विश्व नम्बर एक सर्बियाली जोकोभिचले भने बुधबार खेल सुरु भएलगत्तै राहतको श्वास लिए । प्रतियोगितामा लगातार तीन खेल पाँच सेटमा जितेका जापानका केई निशिकोरीले तिघ्राको चोटका कारण खेल त्यागेपछि जोकोभिचले ६–१, ४–१ को अग्रता लिएसँगै खेल आफ्नो पक्षमा पारे ।


कीर्तिमानी सातौं पटक अस्ट्रेलियन ओपनको उपाधि यात्रामा रहेका जोकोभिचका लागि यो जितले थप राहत मिलेको छ । अब उनले २८ औं वरीयताका फ्रान्सेली खेलाडी लुकास पोउलीसँग भिड्नेछन् । जसले क्यानडाका मिलोस राओनिकलाई ७–६, ६–३, ६–७, ६–४ ले हराउँदै पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनल तय गरेका थिए ।


करिअरको १५ औं ग्रान्ड स्लामलाई निशाना बनाइरहेका जोकोभिच चौथो चरणमा ड्यानियल मेदभेदेवसँग चार सेटको प्रतिस्पर्धात्मक नतिजामा विजयी भएका थिए । क्वाटरफाइनलमा छिट्टै कोर्टबाट निस्कन पाएकामा अहिले खुसी छन् ।


‘दुई दिनअघि मात्र चिकित्सकले कोर्टमा धेरै समय बिताउनु उपयुक्त नहुने चेतावनी दिएका थिए,’ उनले भने, ‘मैले यस वर्ष धेरै खेल जितें र अहिले दोस्रो सेमिफाइनल खेल्न लागेको छु ।’

प्रकाशित : माघ १०, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?