१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ओसाकाले रचिन् कीर्तिमान

एएफपी

मेलबर्न — नाओमी ओसाकाले शनिबार चेक गणतन्त्रकी पेट्रा भिटोभालाई हराउँदै अस्ट्रेलियन ओपन जितेकी छन् । उनी यस्तो उपलब्धि हात पार्ने पहिलो जापानी खेलाडी पनि भएकी छन् । 

ओसाकाले रचिन् कीर्तिमान

यस जितपछि प्रतियोगितामा चौथो वरीयताप्राप्त २१ वर्षीया ओसाका महिलातर्फ विश्व नम्बर एक खेलाडी भएकी छन् । उनी यो सफलता पाउने पहिलो एसियाली खेलाडी भएकी छन् । फाइनल खेल ओसाकाको पक्षमा ७–६ (७–२), ५–७, ६–४ ले रह्यो ।


जितपछि खुसीयालीमा उनले घुँडाले टेकेर आकासतर्फ हेरिन् । पहिलो सेट कडा प्रतिस्पर्धाबीच ५१ मिनेट चलेको थियो र त्यसमा दुई खेलाडीबीच खासै अन्तर थिएन । पहिलो सेट ५–६ को स्थितिमा रहेको बेला चेक खेलाडी भिटोभाले दुई सेट प्वाइन्ट जोगाएकी थिइन् । त्यसयता टाइब्रेकरमा ओसाका सजिलै ७–२ ले विजयी रहिन् ।


आठौं वरीयताप्राप्त भिटोभा दोस्रो सेटमा पनि हारको संघारमा पुगेकी थिइन् । दोस्रो सेट ३–५ को स्थितिमा पनि उनले तीन च्याम्पियनसिप प्वाइन्ट जोगाइन् र खेल आफ्नो पक्षमा पारिन् । तेस्रो सेट भने पूर्णत: ओसाकाको पक्षमा रह्यो र उनी सजिलै विजयी रहिन् ।


खेल भने दुई घण्टा २७ मिनेट चलेको थियो । गत सेप्टेम्बरमा यूएस ओपन जितेकी ओसाका लगातार दोस्रो ग्रान्ड स्लाम जित्न पनि सफल भइन् । अब उनले यसअघि नम्बर एक रहेकी रोमानियाली खेलाडी सिमोना हालेपलाई उछिन्दै शीर्षस्थान कब्जा गर्नेछिन् ।


यूएस ओपनका रूपमा पहिलो ग्रान्ड स्लाम जित्ने क्रममा उनको त्यो उपलब्धि भने फाइनलमा पराजित सेरेना विलियम्स र अम्पायरबीचको झगडाले ओझेलमा परेको थियो । सन् १९९८ मा मार्टिना हिंग्गिजले लगातार दुई ग्रान्ड स्लाम जितेयता उनी यस्तो उपलब्धि हात पार्ने सबैभन्दा कम उमेरकी खेलाडी पनि भएकी छन् । यस्तै सन् २०१० मा डेनमार्ककी क्यारोलिन वाज्नियाकीयता उनी सबैभन्दा कम उमेरमा शीर्ष वरीयतामा उक्लने खेलाडी पनि बनेकी छन् ।

प्रकाशित : माघ १३, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?