२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

जितमा सोमपाल सन्तुष्ट

आदर्श ढकाल

दुबई, यूएई — सोमपाल कामी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा ५ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । दायाँहाते तीव्र गतिका बलर उनी आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टिमले जितेकोमा बढी खुसी थिए । उनको प्रदर्शनमा नेपालले शनिबार दोस्रो खेलमा यूएईलाई १ सय ४५ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

जितमा सोमपाल सन्तुष्ट

नेपालले गत वर्ष अगस्ट १ मा नेदरल्यान्ड्ससँग एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गर्दा पारस खड्काले पहिलो खेलमै ४ विकेट लिएका थिए । लेग स्पिनर सन्दीप लामिछानेले एसिया कप छनोटमा यूएईसँगैको खेलमा पनि ४ विकेट लिएका थिए । तर कुनै नेपाली बलरले एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिने कीर्तिमान बनाउन सकेका थिएनन् । सन्दीपले शनिबारको खेलमा पनि ४ विकेट लिए ।


दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा सुरुआतमै सानदार बलिङ गर्दै सोमपालले उक्त कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए । उनले आफ्नो ओपनिङ स्पेलमै यूएईका ४ ब्याट्सम्यानलाई आउट गरे । नेपाल जित निश्चित भएको अवस्थामा उनले अन्तिम विकेट लिँदै ५ विकेटको कीर्तिमान बनाएका हुन् ।


‘म खुसी छु तर ५ विकेट लिएको भन्दा पनि टिमलाई जिताउन सकेकाले अझ सन्तुष्टि मिलेको छ । पहिलो खेल हारेकाले हामी राम्रो स्थितिमा थिएनौं र हामीमाथि दबाब पनि थियो,’ सोमपालले कान्तिपुरसँग भने ।


सोमपालले ६.३ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य लिएर आएको यूएई १९.३ ओभरमा ९७ रनमा अलआउट भयो । पहिलोपल्ट नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षीलाई एक सयमुनिकै स्कोरमा अलआउट गर्‍यो ।


‘निश्चय पनि जितले धेरै खुसी र उमंग ल्याउँछ । आज निकै उत्कृष्ट खेल्यौं । हाम्रा लागि पहिला १० ओभर निकै महत्त्वपूर्ण थियो, त्यस हिसाबमा ओपनरहरूले संयमित भएर खेले र आधार बनाए । त्यसपछि सबैले केही न केही योगदान दिएँ । रोहित (पौडेल) ले सुन्दर ब्याटिङ गरे, सोमपालको पहिलो स्पेलले नै खेल हाम्रो पक्षमा ल्याइसकेको थियो,’ कप्तान पारसले भने ।


ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटमा ६१ रन जोडेका थिए । एकदिवसीयमा नेपालको यो सबैभन्दा राम्रो सुरुआत हो । नेदरल्यान्ड्ससँगको पहिलो एकदिवसीयमा ज्ञानेन्द्रले अनिल साहसँग ५८ रन जोडेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउनेक्रममा रोहितले आरिफ शेखसँग छैटौं विकेटमा ८२ रन जोडे । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो सबैभन्दा ठूलो साझेदारी हो । ज्ञानेन्द्र ४४, विनोद र पारस समान २१, आरिफ २९ तथा रोहितले ५५ रन बनाए ।


‘शृंखला अझ खुला र रोचक भएको छ, हामी अन्तिम खेलको प्रतीक्षामा छौं । खेलाडीहरूले पनि मिहिनेत गरिरहेका छन् । हाम्रो टोली निकै युवा छ र हामी धैर्य हुनुपर्छ । आशा गरौं हामीले यस्तै जितलाई निरन्तरता दिनेछौं,’ पारसले भने ।

प्रकाशित : माघ १३, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?