१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जोकोभिचलाई सातौंपल्ट अस्ट्रेलियन ओपन

रोयटर्स

मेलबर्न — राफल नाडललाई आइतबार ६–३, ६–२ र ६–३ को सेटमा हराउँदै सातौंपल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेपछि नोभाक जोकोभिचले भने, ‘ग्रान्डस्लाम टेनिसकै सबैभन्दा उत्कृष्ट फाइनल ।’

जोकोभिचलाई सातौंपल्ट अस्ट्रेलियन ओपन

‘यो सर्वश्रेष्ठमध्येको एक हो । त्यसो होइन भने पनि मैले अहिलेसम्म खेलेका ग्रान्डस्लाम फाइनलमध्येउत्कृष्ट हो,’ मात्र २ घण्टा १५ मिनेटमा करिअरको १५ औं उपाधि जितेका शीर्ष वरीयताका सर्वियन स्टार जोकोभिचले भने ।

निरीह देखिएका दोस्रो वरीयताका नाडलले ३१ वर्षीय जोकोभिचलाई रोजर फेडेरर र रोय इमर्सनभन्दा एक कदम अगाडि पुर्‍याइदिए । यी दुवैले समान ६ पल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । शीर्ष वरीयताका जोकोभिचले आफ्ना सबैभन्दा ‘ठूलो’ प्रतिद्वन्द्वीलाई हराएपछि घुँडा टेके र मैदान चुमे । ‘यो परिस्थितिमा सम्भवत: सर्वश्रेष्ठ स्तरको टेनिस जो मैले फाइनलमा राफलसँग खेलेँ,’ जोकोभिचले भने ।


‘म पछिल्लो १२ महिना आफ्नो अवस्थाबारे पुनर्ताजगी गर्ने प्रयास गरिरहेको छु । ठीक १२ महिना पहिला मेरो शल्यक्रिया भएको थियो,’ उनले भने । कुहिनाको शल्यक्रियापछि टेनिसबाट टाढिएका उनी विश्व वरीयतामा शीर्ष २० बाट बाहिरिइसकेका थिए । तर विम्बल्डन र यूएस ओपनको उपाधि जितेर उनले उत्कृष्ट पुनरागमन गरे ।


‘आज यहाँ तपाईंहरू सामुन्ने रहँदा र पछिल्लो चारमध्ये तीन ग्रान्डस्लामको उपाधि जित्न सक्नु आश्चर्यजनक हो । म अवाक् छु,’ जोकोभिचले भने । सन् २०१२ को अस्ट्रेलियन ओपनको फाइनलमा यो जोडीले कीर्तिमानी ५ घण्टा ५३ मिनेट प्रतिस्पर्धा गरेको थियो । जुन ग्रान्डस्लाम इतिहासकै सबैभन्दा लामो फाइनल भिडन्त हो ।


जोकोभिचले भने कि तीव्र सुरुआत जहिले पनि मेरो योजना बन्ने गर्छ । उनले भने, ‘यहाँ बिल्कुल त्यही भयो, जुन मेरो लक्ष्य थियो । तीव्रताका साथ खेल अघि बढाउनु किनभने मलाई थाहा छ कि अर्कोतर्फ मेरो विपक्षी कमजोरी पहिल्याउन चनाखो हुनेछन् ।’


हारपछि नाडलले आफू कमजोर रहेको स्वीकारे । ‘आजको साँझ मेरा लागि उत्कृष्ट रहेन । तर मेरो विपक्षीका रूपमा यस्ता व्यक्ति थिए जसले आज मभन्दा धेरै राम्रो खेले,’ नाडलले भने । यो जितले नाडलविरुद्ध जोकोभिचको जित, हारको तथ्यांक २८–२५ ले बढेको छ र यी दुईले ग्रान्डस्लाम फाइनलमा ४–४ खेल जितेका छन् । विम्बल्डन र यूएस ओपन जितेका जोकोभिचले ग्रान्डस्लाममा एकै सिजन हयाट्रिक पूरा गरेका छन् । उनी फ्रेन्च ओपनका लागि मेमा पेरिस जानेछन् । र, दोस्रोपटक चारवटै ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्ने प्रयास गर्नेछन् ।

प्रकाशित : माघ १४, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?