नेपाललाई ऐतिहासिक एकदिवसीय शृङ्खला, पारसको शतक

काठमाडौँ — कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेपछि तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ४ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खलामा पहिलो जित हासिल गरेको छ ।

नेपाललाई ऐतिहासिक एकदिवसीय शृङ्खला, पारसको शतक

घरेलु टोली यूएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । तीन खेलको शृङ्खला अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले शनिबार भएको दोस्रो खेलमा १ सय ४५ रनको विजय हासिल गरेको थियो ।


गत वर्षको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनोट मार्फत् एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले त्यसपछि नेदरल्याण्ड्ससँग दुई एकदिवशीय खेलको शृङ्खला खेलेको थियो । जुन १-१ को बराबरीमा सकिएको थियो ।


ओपनर बिनोद भण्डारी ९ रनमा आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले ९६ बलमा शतक पूरा गरेका हुन् । उनले दोस्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ६२ रनको साझेदारी गरेका थिए ।


उनी एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका छन् । पारसले १०९ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १५ रन बनाएर आउट भए ।


नेपालका लागि उपकप्तान मल्लले ३५ बलमा ३१, सन्दीप जोराले २० बलमा १९ र रोहितकुमार पौडेलले २४ बलमा १६ रन बनाए । आरिफ शेख २१ र सोमपाल कामी २६ रनमा अविजित रहँदै टिमलाई ऐतिहासिक जित दिलाए ।


यसअघि दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो ।


कमजोर सुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले इनिङ उकासेका थिए । युएईले सुरुआती पावर प्लेको १० ओभरमा मात्र १४ रन बनाउँदा महत्वपूर्ण दुई विकेट गुमाएको थियो । उसका ओपनरहरु अस्फाक अहमदलाई सोमपाल कामी र चिराग सुरीलाई करण केसीले खाता खोल्नै दिएनन् ।


घुलाम सब्बरले १८ र मुहम्मद उस्मानले २६ रन बनाएर आउट हुँदा युएईले २०.२ ओभरमा ४७ रन जोडेर ४ विकेट गुमाइसकेको थियो । तर, चुन्दनगापोयिल र साइमन अनवारले पाँचौं विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए । ४१.२ ओभरमा रिज्वन ४५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका मोहम्मख बोतासँग मिलेर अन्वारले छैटौं विकेटका लागि ८० रनको साझेदारी गरेपछि युएईले सम्मानजनक स्कोर बनाएको हो ।


नेपाली कप्तान पारस खड्काको बलमा उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट हुनुअघि अन्वारले ७० बलमा ९ चौका र २ छक्काका साथ ८७ रनको उत्कृष्ट इनिङ खेले । बोता ३१ बलमा ५९ रनमा अविजित रहे । कप्तान मोहम्मद नाभिदले पनि अविजित ११ रन बनाए ।


बलिङतर्फ कप्तान पारस र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सन्दिप लामिछानेले १–१ विकेट लिए ।

प्रकाशित : माघ १४, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?