कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहितको गाउँमा खुसीयाली

नवीन पौडेल

परासी — यूएईविरुद्ध शनिबार सम्पन्न दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बनेपछि यहाँका रोहितकुमार पौडेलको चर्चा सबैतिर भइरहेको छ । उनले १६ वर्ष १ सय ४६ दिनको उमेरमा अर्धशतक बनाएका थिए । रोहितले ५८ बलमा ५५ रन बनाएका थिए ।

रोहितको गाउँमा खुसीयाली

यसअघि सबैभन्दा कम उमेरमा अर्धशतक बनाएका भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमान उनले तोडेका हुन् ।


उनले विश्व कीर्तिमान कायम गरेको खबर भाइरल भएसँगै पश्चिम नवलपरासीमा पनि खुसीयाली छाएको छ । यसअघि प्रचारमा नरहेका उनी गृहजिल्लामा प्रशंसा बनेका छन् । उनी बर्दघाट नगरपालिका–१४, बुद्धबस्तीका हुन् । यता परिवारलाई भने बधाई थाप्न भ्याईनभ्याई थियो । घरमा बुवाआमालाई बधाई दिन आउनेको लाम लागेको थियो । शनिबार साँझदेखि भीड लागिरहेको छ ।


गाउँको नाम चिनाउन सफल भएको भन्दै आफन्त र स्थानीय खुसी छन् । यहाँका चोकचोकमा उनकै चर्चा सुनिन्छ ।

‘सानैदेखि उनको अध्ययनभन्दा क्रिकेटमा बढी ध्यान हुन्थ्यो,’ स्थानीय वसन्त ढकालले भने, ‘मुलुक मात्र होइन, हामी रोहितको गाउँलेभन्दा गर्व लाग्ने भएको छ । क्रिकेटर रोहितको छिमेकी हुँ भन्दा सबैले चिन्ने गर्छन् ।’


यसअघि आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा पहिलोपल्ट राष्ट्रिय टोलीबाट खेलेका रोहितले केन्याविरुद्धको खेलमा सर्वाधिक ४७ रन बनाउँदै नेपालको जितमा महत्त्वपूर्ण योगदान गरेका थिए । अहिलेसम्म सहभागी प्रतियोगिता उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका उनले यसपालि विश्वलाई चकित तुल्याउने गरी ठूला हस्तीको रेकर्ड तोडेकामा आफूहरू प्रफुल्ल बनेको स्थानीयको प्रतिक्रिया छ ।


नेपालमा खेलेर जीविका चलाउन सकिँदैन भन्ने मान्यतालाई अहिलेको पुस्ताले तोडिदिएको उनका सहपाठीले बताए । अब खेललाई नै आफ्नो पेशा मानेर अगाडि बढ्न अभिभावकले पनि प्रोत्साहन गर्ने वातावरण बनेको स्थानीय क्रिकेटर राजीव कँुवरले बताए ।

रोहितका बुवा कुमार भारतीय सेनाबाट अवकाशप्राप्त हुन् । उनले भारतमा क्रिकेटको क्रेज देखेर छोरालाई पनि ठूलो क्रिकेटर बनाउने आशा पालेका थिए । छोरालाई सानैबाट क्रिकेट खेलाउँदा अध्ययनमा असर पर्ने हो कि भन्ने चिन्ता उनमा थियो । छोराको लगावका साथै क्रिकेटमा अब्बल बन्दै गएपछि परिवारका सदस्यले सहयोग गर्न थालेको उनले सुनाए ।


‘भारतीय सेनामा भएकाले छोराको प्रारम्भिक अध्ययन पनि उतै भयो, ऊ केवल क्रिकेट हेर्ने र खेल्नमा मात्र व्यस्त हुँदा अध्ययनमा असर पर्छ कि भन्ने लागेको थियो,’ कुमारले भने, ‘पछि अब्बल हुँदै गएर अहिले देशकै गहना बनेको देख्दा खुसी लागेको छ ।’

क्रिकेटमा रुचि राख्ने र स्थानीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थालेपछि परिवारले बुटवल र त्यसपछि बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना गरिदिएका थिए । उनले कक्षा ८ सम्म स्थानीय लिटिल बुद्ध माविमा अध्ययन गरेका थिए । त्यसपछि क्रिकेटमै केन्द्रित बने । बर्दघाटको बुद्ध क्रिकेट क्लब, भैरहवाको खुकुरी क्लबबाट खेल्दाखेल्दै सबैको नजरमा परेका उनी थप सिकाइका क्रममा काठमाडांै, गोरखपुर र दिल्लीमा प्रशिक्षण लिन पुगे । त्यसपछि उनी १९ वर्षको उमेर समूहबाट राष्ट्रिय टोलीमा समावेश भएका थिए ।

प्रकाशित : माघ १५, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?