कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पुलिसको जितमा अभिषेक नायक

वेदराज पौडेल

इटहरी — सीएफसी भुटानलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ । पुलिसका अभिषेक रिजालले दोस्रो हाफको १८ औं मिनेट र इन्जुरी टाइममा एक गोल थप्दै पुलिसलाई विजयी गराए । उनी म्यान अफ द म्याच भए । 

पुलिसको जितमा अभिषेक नायक

पुलिसले बिहीबार मनाङ मस्र्याङदीसँग दोस्रो सेमिफाइनल प्रतिस्पर्धा गर्नेछ । बुधबार मेची नेत्रालय झापा र आर्मीबीच पहिलो सेमिफाइनल हुनेछ ।


खेलको अन्तिम मिनेटमा भुटानका सिद्धान्तले पेनाल्टी बक्सभित्र निकालेको सुन्दर पासलाई निमाले प्रहार गर्न सकेनन् । उनको सुझबुझपूर्ण प्रहारले भुटानलाई एक गोल गर्ने अवसर थियो । तर बल पोलको दायाँबाट बाहिरियो ।


भुटानी गोलरक्षक निगम सिंहले गरेको गल्ती तत्कालै कप्तान निवास रानाले सच्याए । विपक्षीले बल पन्च गरेको बल बक्सभित्रै खसेपछि निवासले क्लियर गरेका थिए । भुटानका अभिषेक थापाले गरेको प्रहार पुलिसका गोलरक्षक शत्रुधन चौधरीले बचाउ गरे । बल लिएर अघि बढिरहेका अभिषेकलाई फाउल गरेपछि भुटानले पाएको फ्रिकिक आदर्शले सदुपयोग गर्न सकेनन् ।

पुलिसले भुटानका खेलाडीलाई दबाबमा राखे पनि दर्शकको अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेन । खेलको १७ औं मिनेटमा पाएको राम्रो अवसर पुलिसका अभिषेक रिजालले चुकाएका थिए । पहिलो हाफका उनका प्रयासहरू खेर गए पनि दोस्रो हाफको १८ औं मिनेटमा तीर्थ रानाले मिलाइदिएको पासमा उनले गोल गरेका थिए । निर्धारित समय सकिएपछि थप इन्ज्युरी टाइममा अभिषेकले अर्काे गोल थपेका थिए । उनकै दुई गोल पुलिसको जितमा निर्णायक भयो ।


भुटानका प्रशिक्षक विकास प्रधानले मध्यरात आइपुगेर दिउँसो मैदानमा उत्रनुपर्दा सोचअनुरुप नतिजा ल्याउन नसकिएको बताए । उनले आफ्ना तीन खेलाडी काँकडभिट्टाबाट भिसा समस्याका कारण फर्किएपछि टिमले लयमा खेल्न नसकेको सुनाए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले इटहरी रंगशालामा खेलाडीले अभ्यास गर्न नपाएका कारण र विपक्षी कस्तो टिम हो भनेर जानकार नहुँदा अपेक्षा गरे जति प्रदर्शन गर्न नसकेको बताए ।

प्रकाशित : माघ १६, २०७५ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?