कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मनाङ उपाधि नजिक

वेदराज पौडेल

इटहरी — मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधिलाई सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लब शनिबार भिड्ने भएका छन् । बिहीबार दोस्रो सेमिफाइनलमा मनाङले नेपाल पुलिस क्लबविरुद्ध १–० को जित निकाल्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

मनाङ उपाधि नजिक

खेलको ४३ औं मिनेटमा मैदानको मध्यभागबाट बल लिएर अघि बढेका आफिज ओलावालेले पुलिसका अजित भण्डारीको अवरोध छिचोल्दै गोल गरेका थिए । मनाङलाई फाइनल पुर्‍याउन त्यही एक गोल निर्णायक बन्यो । ओलावाले म्यान अफ द म्याच घोषित भए ।


सुरुआती १५ मिनेटसम्म मनाङ निकै दबाबमा रहे पनि त्यसपछि भने उसले पुरानै लय समाएको थियो । मनाङ विराज महर्जनबिना मैदान उत्रिएको थियो । दोस्रो हाफमा अफ्रिकी मूलका अडेलाजा सोमिडेलाई उतारेको थियो ।


२४ औं मिनेटमा ओलावालेको पासमा विमल रानाले गरेको प्रहार पोस्ट माथिबाट बाहिरियो । लगत्तै मनाङ खेलाडीको कर्नर प्रहार पुलिसका अजित भण्डारीले क्लियर गरे । २८ औं मिनेटमा ओलावालेको प्रहार बारमा लागेर फर्कियो । उक्त बल पुलिसका अजितले क्लियर गरिदिए ।

खेलको २८ औं मिनेटमा आलावालको प्रहार गोलरक्षक शत्रुधन चौधरीले बचाए । उनकै पासमा ३१ औं मिनेटमा रोशन खड्काको हेड प्रहार बाहिरियो । पुलिसका अभिषेक रिजालले ३४ औं मिनेटमा पाएको बललाई सिधै प्रहार गरे । उनको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरेर फाले । अन्जन विष्टको पासमा आफिजले पोस्ट नजिकबाट गरेको हेड पनि बाहिरियो ।


मध्यान्तरपछि पुलिस निकै आक्रामक शैलीमा प्रस्तुत भयो । दोस्रो हाफको दुई मिनेटमा पुलिसका अभिषेक रिजालले गरेको लामो प्रहार पोस्ट माथिबाट बाहिरियो ।


लगत्तै तीर्थ रानाको प्रहार गोलरक्षक विशालले रोकेका थिए । नवौं मिनेटमा पुलिसका सुरज बिकको एयर बलमा तीर्थ रानाले गरेको हेड प्रहारले पनि लक्ष्य भेटेन । खेलको १९ औं मिनेटमा पुलिसका हेमन तामाङको फ्रिकिक प्रहार पनि फलदायी हुन सकेन । दुई मिनेटपछि आफिजको प्रहार रोक्न अघि बढेका पुलिसका गोलरक्षक शत्रुधनको गल्तीलाई अजित भण्डारीले सच्याइदिएका थिए । आफिजले खाली पोस्टमा गरेको प्रहार अजितले बचाए ।


३१ औं मिनेटमा दुवै पक्षका खेलाडीबीच विवाद हुँदा खेल ५ मिनेट रोकियो । मनाङका विमल राना र अभिषेक रिजालले पहेँलो कार्ड पाए । पुलिसका प्रशिक्षक अनन्त थापाले पेनाल्टी बक्सभित्र ह्यान्ड हुँदासमेत रेफ्रीले पेनाल्टी नदिएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘त्यो पेनाल्टी हाम्रा लागि टर्निङ प्वाइन्ट हुनसक्थ्यो ।’ समग्र खेल र आफ्ना खेलाडीको योगदानप्रति सन्तुष्ट देखिएका उनले भने, ‘हामीले अवसर सदुपयोग गर्न सकनौं ।’


मनाङका टिम म्यानेजर फुजा तोपेले आफ्ना खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताउँदै यही रणनीतिमा आर्मीविरुद्धको फाइनल खेल्ने बताए । विराज महर्जनलाई आराम दिनका लागि मैदान नउतारेको उनले बताए । उनी आर्मीसँगको फाइनल भने खेल्ने छन् ।

प्रकाशित : माघ १८, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?