२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रंगशालामा बर्मुडा घाँस, ४० लाख खर्च

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज रंगशालामा मुलुकमै पहिलो पटक बर्मुडाग्रास (घाँस) रोपिएको छ । घाँसले रंगशाला हरियो देखिएको छ । फुटबल प्रतियोगिताका लागि भारतको कोलकाताबाट उक्त घाँस ल्याइएको हो । जसकोलागत करिब ४० लाख रुपैयाँ रहेको छ । 

रंगशालामा बर्मुडा घाँस, ४० लाख खर्च

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रमाणित गरेको घाँस नेपालका लागि नयाँ प्रयोग हो । उक्त घाँस रोपिएको मैदानमा अन्तर्राष्ट्रिय खेलाडीलगायतले प्रतिस्पर्धा गरिसकेका छन् । नेपालका खेलाडीले पहिलो पटक आफ्नै भूमिका यो घाँसे रंगशालामा खेल्ने अवसर पाउने छन् ।


‘बर्मुडा घाँस रोपिएको मैदान नेपालगन्जको पहिलो हो । यो फिफाले प्रमाणित गरेको घाँस हो,’ मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले भने, ‘नेपालका कुनै पनि रंगशालामा यस्तो घाँस रोपिएको छैन । विश्वभर यही घाँसे फिल्डमा फुटबल प्रतियोगिता हुँदै आएका छन् ।’


रंगशालाको एक तिहाइ भागमा घाँस रोपिएको छ । दुइतिहाइ भागमा घाँस आउने क्रममा रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । घाँस १५–२० दिनमै बढेर खेल्नका लागि तयार हुने जनाइएको छ । प्रतियोगिता हुने समयमा घाँसको क्रसिङ गरिने छ ।


घाँस रोप्नका लागि काभ्रेबाट प्राविधिक ल्याइएको छ । हाल एकतिहाइमा बिछ्याइएको घाँसमा मल र सिंचाइ गरिने काम भइरहेको छ । ६ दिन लगाएर भारतबाट ल्याइएको केही घाँस सुकेको छ । सुकेको ठाउँमा नयाँ रोप्ने काम चलिरहेको छ । फागुन अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने मिति तय भएको छ । अहिले रंगशालालगायतका भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ । रंगशालाको काम ९० प्रतिशत पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।


रंगशालामा राख्न चीनबाट अत्याधुनिक (रेडिमेड) प्यारापिट मगाइएको छ । नेपालगन्ज रंगशालाको दर्शक क्षमता बढाएर १० हजार पुर्‍याइएको छ । रंगशालाको कुल लागत २५ करोड रुपैयाँको हो । निमार्णाधीन रंगशाला अन्तिम चरणमा छ । राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रंगाशालाको स्वरुप बदलिएको छ ।


अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्नेगरी भौतिक पूर्वाधारहरू तयार भएका छन् । प्रतियोगिताका लागि आवश्यक पूर्वाधारका विभिन्न १३ ठूला आयोजना सन्चालनमा छन् ।

प्रकाशित : माघ २०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?