३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यूएईविरुद्ध ट्वान्टी–२० शृंखलाको अन्तिम खेल आज, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय शृंखला जित्ने अवसर

आदर्श ढकाल

यूएई — सही समयमा दीपेन्द्रसिंह ऐरी लयमा फर्किएपछि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन ट्वान्टी–२० शृङखला पनि नेपाललाई जितको अवसर छ ।

यूएईविरुद्ध ट्वान्टी–२० शृंखलाको अन्तिम खेल आज, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय शृंखला जित्ने अवसर

ऐतिहासिक एकदिवसीय शृंखलाकै जितयात्रालाई अनुशरण गर्ने लक्ष्यसहित चिरपरिचित एसोसिएट प्रतिस्पर्धीविरुद्ध नेपालले आइतबार तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ ।

एकदिवसीयमा पनि पहिलो खेल ३ विकेटले हारपछि नेपालले तीन खेलको शृंखलामा पनि ठोस पुनरागमन गरेको थियो । ऐतिहासिक एकदिवसीय शृंखला जित्ने क्रममा कप्तान पारस खड्काको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक र युवा खेलाडीको प्रदर्शन निर्णायक रह्यो ।

ट्वान्टी–२० शृंखलामा पनि नेपालको अवस्था ठ्याक्कै त्यस्तै बनेको छ । शीर्षक्रमका ब्याट्सम्यानहरू चल्न नसकेको पहिलो खेलमा नेपालले २१ रनको हार बेहोरेको थियो ।

युएईसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जोगाइराख्न शुक्रबार दोस्रो खेलमा नेपालले ४ विकेटको जित हासिल गर्‍यो । यस जितले नेपाललाई नेपाललाई पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जित्ने अवसर पनि बनाएको छ । नेपालले २०१४ मा हङकङसँग तीन खेलको शृंखला खेल्न श्रीलंका गएको थियो । तर वर्षाले एक खेलमात्र सम्भव भयो, त्यसमा सोमपाल कामीले दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व कीर्तिमान बनाए पनि पराजित भएको थियो ।

सन् २०१५ मा नेपालले नेदरल्यान्ड्समा गएर ४ खेलको ट्वान्टी–२० शृंखला खेल्यो । अन्तिम खेलमा पारस खड्काले अर्धशतक बनाउँदै नेपाललाई जिताए पनि नेदरल्यान्ड्सले शृंखला ३–१ ले जित्यो । नेपाल यही शृंखलाबाट ४ वर्षअगाडि ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरीयतामा प्रवेश गरेको थियो ।

दुबईमा मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रले शुक्रबार ४१ बलमा अविजित ४७ रन बनाएपछि नेपालले १ सय ८ रनको सामान्य लक्ष्य तीन बल बाँकी छँदा भेट्टाएको हो । नेपाललाई अन्तराष्ट्रिय एकदिवसीय मान्यता दिलाउनेलगायत पछिल्ला केही वर्षदेखि दीपेन्द्र नेपाली टोलीका प्रमुख सदस्य छन् । यू–१९ का पूर्व कप्तान दीपेन्द्र यूएई भ्रमणका पछिल्ला चार खेलमा असफल रहे । उनले एकदिवसीयका ३ खेलमा १६ रनमात्र बटुले । पहिलो ट्वान्टी–२० मा पनि ४ रनमै आउट भए ।

दोस्रो ट्वान्टी–२० मा १ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा कुनै समय नेपालको अवस्था ४६/५ थियो । दीपेन्द्रले पवन सर्राफसँग छैटौं विकेटमा ५५ रनको साझेदारी गरे । आफ्नो मुख्य हतियार सही समयमा लयमा फर्किएको देखेर कप्तान पारस खुसी छन् ।

‘हामी हमेशा उनीप्रति ठूलो विश्वास गछौं । उनले विगतमा टोलीका लागि धेरै योगदान गरेका छन् र उनी त्यस्ता खेलाडी हुन्, जसलाई विश्वास गर्न सक्छौं । मलाई आस छ कि उनी यो स्तरमा यस्तै लय कायम राखुन्,’ कप्तान पारसले भने । उनी दोस्रो खेलको जितबाट पूर्ण सन्तुष्ट भने छैनन् ।

उनले भनेका छन्, ‘हामी आफ्नो तर्फबाट पूरा कोसिस गर्नेछौं । त्यसका लागि फेरि सुरुआत गर्नुपर्छ । यसअघिका खेललाई हेर्दा दुवै टिमका खेलाडी राम्रो प्रदर्शनका लागि भोका छन् । भ्रमणको अन्तिम खेल आफ्नो पक्षमा ल्याउन हामी प्रयासरत हुनेछौं ।’

ट्वान्टी–२० राष्ट्रिय टोलीमा पुनरागमन गरेका ओपनर प्रदीप ऐरी अहिले दबाबमा छन् । अघिल्ला दुवै खेलमा उनले ब्याटबाट ठूलो योगदान दिन सकेनन् । उनी पहिलो खेलमा बिहीबार पहिलो बलमै आउट भए भने दोस्रो खेलमा शुक्रबार ८ रनमात्र बनाउन सके । तेस्रो खेलमा उनी एकदिवसीय टोलीका ओपनर विनोद भण्डारीबाट प्रतिस्थापन हुन सक्नेछन् ।

विनोदले ट्वान्टी–२० का दुई खेल खेलेका छैनन् । नेपालका लागि मुख्य भूमिका बलरहरूको हुनसक्छ । एकदिवसीय शृंखला जित्ने क्रममा पनि बलरहरूकै प्रदर्शन प्रभावशाली थियो । सोमपाल कामीले ओपनिङ बलरका रूपमा सानदार प्रदर्शन गरिरहेका छन् । दुवै खेलमा आफ्नो ४ ओभरको स्पेलमा उत्कृष्ट देखिएका उनले २–२ विकेट लिएर उत्कृष्ट सुरुआत गर्न सफल रहे ।

स्टार लेग स्पिनर सन्दीप लामिछानेले दुई खेलमा ४ विकेट लिएर आफ्नो अनुशासित बलिङमा लय कायम राखेका छन् । सबैभन्दा सकारात्मक पक्ष भनेको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ शृंखला खेलिरहेका बलर अविनाश बोहरा छन् । जो आफ्नो पहिलो प्रतियोगितामा सानदार देखिएका थिए ।

निकै कम रनअपसाथ अविनाशले पहिलो दुई खेलमा सबैलाई प्रभावित पारेका छन् । विशेष रूपमा दोस्रो खेलमा उनले मात्र २० रन दिएर ३ विकेट लिए । शुक्रबारको जितमा महत्त्वपूर्ण रन बनाएपछि पवन सर्राफलाई एक अर्को मौका मिल्ने सम्भावना छ ।


प्रकाशित : माघ २०, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?