आर्मीलाई इटहरी गोल्डकप

वेदराज पौडेल

इटहरी — विभागीय टोली त्रिभुवन आर्मी क्लबले शनिबार दोस्रो मदन भण्डारी आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि जितेको छ ।

आर्मीलाई इटहरी गोल्डकप

इटहरी रंगशालामा भएको फाइनलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङदी क्लबलाई २–० ले पराजीत गर्‍यो । दर्शकको समर्थनबीच मनाङले अपेक्षाकृत गतिलो प्रदर्शन गर्न सकेन ।


सुरुबाटै दबाबमा आएको मनाङले आर्मीसँग ६०–४० को मात्र प्रदर्शन दिन सक्यो । सुरुआती पाँचौं मिनेटमा आर्मीका टंक बस्नेतले कर्नरबाट पाएको बल सदुुपयोग गर्दै पोस्टको दिशा दिएपछि मनाङ दबाबमा परेको थियो । आर्मीको अर्काे गोल भने भरत खवासले दोस्रो हाफको अन्तिम मिनेटमा गरे । उनले मैदानको मध्यभागबाट एक्लै अगाडि बढाएको बल गोल गरेका हुन् ।


भरतले आफ्ना साथीलाई पास निकाल्ने संकेत दिए पनि गोलरक्षक विशाल श्रेष्ठलाई झुक्याएर बल प्रहार गरेका थिए । थप ७ मिनेटको इन्ज्युरी समयमा मनाङले निकै गतिमा गोल फर्काउने कोसिस गरे पनि त्यसले नतिजामा खासै परिवर्तन ल्याएन । दोस्रो हाफको २४ औं मिनेटमा मनाङ १० खेलाडीमा समेटिएको थियो ।


मनाङका आफिज ओलावालेले रातो कार्ड पाएका थिए । पेनाल्टी बक्सभित्र बल नियन्त्रणमा लिएर लडेका आर्मीका गोलरक्षक विकेश कुथुको खुट्टामा टेकेका कारण रेफ्री सुदीश पाण्डेले ओलावालेलाई सोझै रातो कार्ड दिएका थिए । त्यसपछि मनाङले खेलमा सन्तुलन गुमाएको थियो ।


मनाङले पाएका राम्रा अवसर पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको २३ औं मिनेटमा मनाङका अन्जन विष्टले पेनाल्टी बक्सभित्र एडेलाजा सोमिडेलाई राम्रो अवसर निकालिदिए । तर उनले कडा प्रहार गर्न सकेनन् । अन्जनको फितलो प्रहार गोलरक्षक विकेशले क्लियर गरिदिए ।


लगत्तै हेमन गुरुङले राम्रो अवसर पाए पनि सन्तुलनमा प्रहार गर्न सकेनन । उनको फितलो प्रहार विकेशले सजिलै समाए । दुई मिनेटपछि नै मनाङले पोस्ट नजिक अर्काे अवसर पाएको थियो । सुजल श्रेष्ठले निकालिदिएको पास कमल श्रेष्ठले प्रहार गर्नुअघि नै सन्तुलन गुमाए । कमल लडेपछि त्यो अवसर पनि गुम्यो । दोस्रो हाफको पाँचौं मिनेटमा मनाङले फ्रिकिक सदुपयोग गर्न सकेन । सोमिडेको राम्रो पासलाई मोहमद आसिफले हेड गरे पनि त्यो पोस्टमाथिबाट बाहिरियो ।


आर्मीले पनि फाइनलका केही सुन्दर अवसर उपयोग गर्न सकेन । मनाङका गोलरक्षक विशालले पनोल्टी बक्सभन्दा अघि बढेर गरेको गल्तीबाट सिर्जना भएको अवसर भरत खवासले सदुपयोग गर्न सकेनन् । उनी विशालसँग ठक्कर खान पुग्दा बल टंकले पाए । उनले अत्तालिएर गरेको प्रहार बारको दायाँछेउबाट बाहिरियो ।


मनाङका दुई खेलाडीलाई पछि पार्दै बल लिएर बक्सभित्र पुगेका आर्मीका सुमन अर्याल वान भर्सेस वानको अवस्थामा उनी चुके । दोस्रो हाफको २३ औं मिनेटमा भरत खवासले वैकल्पिक खेलाडी विवेक बस्नेतलाई बक्सभित्र पास मिलाइदिए । तर विवेकले सोझै आफैंले प्रहार नगरी सन्तोष तामाङलाई पास दिए । सन्तोषले प्रहारले लक्ष्य भेट्न सकेन ।


दुवैतिरका खेलाडीले फाइनलमा ७ पहेंलो र एक रातो कार्ड पाए । मनाङका आसिफ मोहमद, विराज महर्जन, कमल श्रेष्ठ र आर्मीका सेसहाङ लिम्बु, विकास तामाङ, भरत खवास, पदम तामाङले पहेंलो कार्ड पाए । मनाङमा ओलावालेले रातो कार्ड पाए ।


विजेता आर्मीले १६ लाख र उपविजेता मनाङले ८ लाख रुपैयाँ पुरस्कार जितेका छन् । आर्मीले यसअघि वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकप जितेको थियो । सिमरा गोल्डकपमा भने थ्रीस्टारसँग पराजित भएर उपाधि गुमाएको थियो । मनाङ भने इटहरी गोल्डकपमा दोस्रोपल्ट पनि फाइनलमै रोकिएको थियो ।


प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत घोषित भए । उनले ३० हजार र सेन्सुईको ४३ इन्चको एलईडी टीभी पुरस्कार पाए । उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु घोषित भए । उनले २० हजार पाए । फरवार्डमा आर्मीका भरत खवास, मिडफिल्डमा आर्मीका सन्तोष तामाङ र डिफेन्समा मनाङका सुरज बिक उत्कृष्ट भए । सबैले जनही २० हजार पाए ।


प्रशिक्षकमा आर्मीका चुनबहादुर थापा उत्कृष्ट भए । उनले २० हजार पाए । म्यान अफ द फाइनल आर्मीका विमल पाण्डे भए । उनले २० हजार पाए । तीन गोल गरेका भरत खवासले सर्वाधिक गोलकर्ताको पुरस्कार ३० हजार रुपैयाँ र म्याडल प्राप्त गरे । राष्ट्रिय जागृति क्लबका उमेश राई उदीयमान खेलाडी घोषित भए । उनले २४ इन्चको एलईडी टीभी पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कृत गरे ।

प्रकाशित : माघ २०, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?