अपराजित एपीएफ

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेपछि एपीएफ क्लबले शतप्रतिशत जितका साथ १४ औं ढोरपाटन डबल लिग राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ढोरपाटन डबल लिगमा एपीएफको यो छैटौं उपाधि हो ।

ढोरपाटन महिला लिग भलिबलको च्याम्पियन सशस्त्र प्रहरीको टिम आइतबार ट्रफीसाथ । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरू आर्मीकी शान्ति थारू, मध्यमाञ्चलकी अरुणा शाही ठकुरी, नेपाल प्रहरीकी कोपिला राना र एपीफकी सरस्वती चौधरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

अन्तिम खेलअघि नै एपीएफले उपाधि जित्ने निश्चित भइसकेको थियो । त्यतिमात्र होइन अन्तिम दिनको खेलअघि नै प्रतियोगिताका सातै पोजिसनको टुंगो लागिसकेको थियो । पुलिसलाई २५–१८, २५–२०, १९–२५ र २५–१५ को सेटमा हराउँदै एपीएफले शतप्रतिशत जित कायम राखेको हो ।

आर्मीले पश्चिमाञ्चललाई २६–२४, २०–२५, २५–१२ र २५–१४ ले हराए पनि त्यसले अंकतालिकामा कुनै फरक पारेन । १४ खेलबाट एपीएफको ४२, पुलिसको ३४, आर्मीको ३२ र पश्चिमाञ्चलको २२ अंक रह्यो । सामाखुसी इंग्लिस स्कुल (सेब) १४, चितवन टाइग्रेस १३ र श्रीगाउँ खेलकुद विकास समिति दाङ ११ अंकसहित अन्तिम तीन स्थानमा रहे ।

माघ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा ९ टोली सहभागी थिए । थाहा नगरपालिका मकवानपुर र आयोजक ढोरपाटन स्पोर्ट्स क्लबको टिमले पहिलो चरण पार गर्न असफल रहे ।

एपीएफका लागि ढोरपाटन डबल लिग भलिबलमा यो छैटौं उपाधि हो । एपीएफले यसअघि २०६९, २०७०, २०७१, २०७१ र २०७४ मा आयोजित संस्करणको उपाधि जितेको थियो । घरेलु महिला भलिबलमा अजेय देखिएको एपीएफले जारी सिजन नवौं प्रतियोगितामा आठ उपाधि जितेको छ ।

वैशाखमा आयोजना भएको शेरबहादुर स्मृति र सभामुख कप, साउनमा आरबीबी एनभीए लिग, भदौमा तीज कप, असोजमा २२औं राष्ट्रिय प्रतियोगिता र पुसमा आयोजना भएको न्यु डायमण्ड कपमा एपीएफ च्याम्पियन बनेको थियो । असोजमै आयोजना भएको आधीआबाधी कप राष्ट्रिय महिला भलिबलमा भने एपीएफ उपविजेतामा सीमित भएको थियो ।

उपाधिसँगै एपीएफले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता आर्मी र तेस्रो भएको नेपाल पुलिसले क्रमश: २ लाख र १ लाख रुपैयाँ पाएका छन् । चौथो भएको पश्चिमाञ्चलले ६० हजार, पाँचौं भएको सेबले ४० हजार, छैटौं भएको चितवन टाइग्रेसले ३० हजार र सातौं स्थानमा आएको श्रीगाउँ दाङले २० हजार रुपैयाँ हात पारे ।

विधागततर्फ उत्कृष्ट स्पाइकर नेपाल पुलिसकी उषा भण्डारी, उत्कृष्ट सेटर पुलिसकै कमला पुन, ब्लकर आर्मीकी सोफिया पुन, क्वीकर आर्मीकै सुनीता खड्का, डिफेन्डर पुलिसकी शान्ति तामाङ र सर्भर एपीएफकी नेविका चौधरी चुनिए । एपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक बने । विजेता सबैले जनही ६ हजार रुपैयाँ पाए ।

सरस्वती तेस्रोपल्ट उत्कृष्ट खेलाडी
टिमलाई उपाधि दिलाउन मुख्य भूमिका निर्वाह गरेकी एपीएफकी मुख्य स्पाइकर सरस्वती चौधरी ढोरपाटन डबल लिग भलिबलमा तेस्रोपल्ट उत्कृष्ट खेलाडीका रूपमा स्कुटर पुरस्कार पाएकी छन् । यसअघि उनी अघिल्लो संस्करण र २०६९ को संस्करणमा पनि उत्कृष्ट खेलाडी बनेकी थिइन् । समग्रमा उनले २०७३ को संस्करणमा प्लेयर अफ द इयरका रूपमा स्कुटर पाएकी थिइन् ।

ढोरपाटन भलिबलमा चार खेलाडी र एक दर्शकलाई स्कुटर पुरस्कार दिइन्छ । जसअनुसार यसपटक उदीयमान खेलाडीका रूपमा आर्मीकी शान्ति थारूले स्कुटर पाइन् । वर्ष खेलाडी उपाधिका रूपमा पश्चिमाञ्चलकी अरुणा शाही र प्लेयर अफ द सिरिजका रूपमा पुलिसकी कोपिला रानाले स्कुटर पाए । अरुणाले दोस्रोपटक स्कुटर पुरस्कार पाएकी हुन् । यसअघि २०७० को संस्करणमा उत्कृष्ट खेलाडीका रूपमा उनले स्कुटर पाएकी थिइन् ।

प्रतियोगिताभर टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथामार्फत गोरखाका भीमप्रसाद देवकोटाले स्कुटर पाए । दर्शकका लागि पुरस्कारस्वरूप स्कुटरको व्यवस्था अघिल्लो संस्करणबाट गरिएको हो ।

प्रकाशित : माघ २१, २०७५ ०९:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वीरेन्द्रनगर बचाउने कदम : जमिनको कित्ताकाट नगर्ने निर्णय

कलेन्द्र सेजुवाल

सुर्खेत — संघीय सरकारको भूमि व्यवस्था मन्त्रालयले पुस २७ गते जग्गाको खण्डीकरणसम्बन्धी पाँचबुँदे निर्देशनसहित वीरेन्द्रनगर नगरपालिकालाई परिपत्र गर्‍यो । पत्रमा केही समयदेखि रोक्का गरिएको जग्गा प्राविधिक समितिमार्फत अध्ययन गराई खुला गर्न सकिने आशय छ ।

रत्न राजमार्गदेखि दक्षिणतर्फ पर्ने कृषियोग्य जमिनमा बनेका घर । तस्बिर : कलेन्द्र/कान्तिपुर

वीरेन्द्रनगर नगरपालिकाले भने मन्त्रालयको उक्त परिपत्रपछि सर्वपक्षीय छलफल चलायो । निष्कर्ष निस्कियो– हाललाई सुर्खेत उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा कित्ताकाट र घरको नक्सापासखुला नगर्ने ।

यही निष्कर्षबमोजिम शुक्रबार बसेको नगर कार्यपालिका बैठकले रत्न राजमार्गदेखि दक्षिण क्षेत्रमा घरको नक्सापाससमेत रोक्ने निर्णय गरेको छ । स्थानीय सरोकारवाला नगरपालिकाको यो निर्णयलाई ‘वीरेन्द्रनगर बचाउने कदम’ भन्छन् । ‘कित्ताकाट खुलाउन जनप्रतिनिधिमाथि निकै ठूलो दबाब थियो, तर हामीले वीरेन्द्रनगरको भविष्यलाई मध्यनजर गर्दै रोक्का राख्ने निर्णय गर्‍यौं,’ वडा ९ का अध्यक्ष सुरेश मानन्धरले भने, ‘यो निर्णयबाट कुरूप बन्दै गएको वीरेन्द्रनगरलाई व्यवस्थित सहर बनाउन सहयोग मिल्ने अपेक्षा गरेका छौं ।’

वीरेन्द्रनगरले झेलेको समस्या
२०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाद्वारा निर्मित वीरेन्द्रनगरको गुरुयोजनामा राजमार्गदेखि दक्षिणतर्फ कृषि क्षेत्र तोकिएको छ तर पछिल्लो समय कृषि क्षेत्रमा धमाधम प्लटिङ गरी घर बन्न थाले । प्लटिङको रफ्तार यसरी बढ्यो कि खेतीयोग्य जमिन कंक्रिटमय बन्यो ।

जिल्ला नापी कार्यालयका अनुसार पछिल्लो ४ आवमा मात्र जिल्लाभर १६ हजार ८ सय ५० कित्ता खण्डीकरण भएर ४१ हजार २ सय ५१ कित्ता बनेका छन् । जिल्ला नापी अधिकृत राजेन्द्र थापाका अनुसार यसरी कित्ताकाट भएकामध्ये करिब ७० प्रतिशत संख्या वीरेन्द्रनगर क्षेत्रको हो । ‘नगरपालिकाले १० वर्षअघि नै जथाभावी भइरहेको कृषियोग्य जमिनको प्लटिङ रोक्नुपथ्र्यो,’ उनी भन्छन्, ‘ढिलै भए पनि राम्रो काम थालनी भएको छ, यसले व्यवस्थित वीरेन्द्रगर बनाउन सघाउ पुर्‍याउला ।’

उनका अनुसार दशक अघिसम्म प्लटिङको अवस्था यतिविघ्न कहालीलाग्दो थिएन । ०६३/६४ र ०६४/६५ मा जिल्लाभर ३ हजार ३ सय ९१ कित्ता खण्डीकरण भई ७ हजार ९ सय ४३ कित्ता बनेका थिए । पछिल्लो अवस्थासँग तुलना गर्दा यो करिब साढे दुई भाग
कम हो ।

नगर प्रमुख देवकुमार सुवेदी सुर्खेत उपत्यकामा देखिएको खेतीयोग्य जमिनको बढ्दो प्लटिङ र गुरुयोजनाविपरीत बन्दै गएका संरचना निर्माण रोक्न यस्तो निर्णय गरिएको बताउँछन् । ‘जनप्रतिनिधिका रूपमा चुनिएर नगरपालिकामा आउनेबित्तिकै हामीले गुरुयोजनाविपरीत भइरहेको अव्यवस्थित सहरीकरणलाई रोक्न कदम चालेका थियौं,’ उनले भने, ‘अब यसलाई अझ कडाइसाथ लागू गर्न यस्तो निर्णय गरेका हौं ।’

नगरप्रमुख सुवेदीका अनुसार गुरुयोजना निर्माणका लागि कन्सल्टेन्ट नियुक्त गरिसकिएको छ । फागुन २५ देखि निर्माणको काम सुरु भई ३ महिनाभित्र गुरुयोजना तयार हुने उनले सुनाए । ‘त्यसपछि मात्र गुरुयोजनाले निर्धारण गरेअनुसार जग्गा खण्डीकरण र घर निर्माण प्रक्रिया खुला गरिनेछ,’ सुवेदीले भने ।

वीरेन्द्रनगनर नगरपालिकाले आव ०७५/७६ को नीति तथा कार्यक्रममै माथेमाद्वारा निर्मित गुरुयोजनालाई पुनरावलोकन गर्दै नयाँ समावेश गरिएका साबिकका गाविसलाई समेत समावेश गरी छुट्टै गुरुयोजना बनाइने उल्लेख गरेको छ । ४६ वर्षअघि बनेको गुरुयोजना रत्न राजमार्गभन्दा उत्तरतर्फको क्षेत्र (तत्कालीन वीरेन्द्रनगर नगरपालिका) को मात्र हो ।

अहिले सिंगो सुर्खेत उपत्यकाका साथै उपत्यकाबाहिरका रतु, जर्बुटा, गढी, साटाखानीसमेत नगरपालिका क्षेत्रभित्र परेका छन् । त्यसैले साबिकको गुरुयोजनालाई पुनरावलोन गर्दै नयाँ गुरुयोजना बनाउनुपर्ने धेरैको राय छ । गुरुयोजनाकार माथेमासमेत यसमा सहमत देखिन्छन् । ‘गुरुयोजना भनेको जनताको आवश्यकता र तात्कालिक अवस्थिति हेरेर दीर्घकालका लागि बनाउनुपर्छ,’ उनको भनाइ छ, ‘अब पुरानो गुरुयोजनाका आधारमा वीरेन्द्रनगरलेनयाँ बनाउनुपर्छ ।’

नगरपालिकाको पछिल्लो निर्णयबाट राजमार्गभन्दा दक्षिणतिर पर्ने वडा २, ३, ९, १० र ११ पूर्ण प्रभावित भएका छन् । यी वडामा नयाँ गुरुयोजना नबन्दासम्म घर निर्माण र कित्ताकाट रोक्का गरिएको छ । साबिक १ देखि १२ वडामा समेत गुरुयोजनाका बाटामा परेका बाहेक क्षेत्रमा यो कार्य बन्द गरिएको निर्णयमा उल्लेख छ । लगतकट्टा भइसकेका सडक क्षेत्रमा पर्ने जग्गामा भने घर निर्माण खुला छ ।

फर्किएला सुन्दरता ?
वीरेन्द्रनगर सहरको नक्सा सुन्दर भए पनि भौतिक रूपमा कुरूप हुँदै जानुको प्रमुख कारण दक्षिणी क्षेत्रमा भएको प्लटिङ र अव्यवस्थित घर निर्माण नै हो । २०६५ यता यो क्रमह्वात्तै बढेको छ ।

नगरपालिकाको पछिल्लो तथ्यांक केलाउने हो भने खेतीयोग्य जमिन कसरी ‘कंक्रिटमय’ बन्दै छ भन्ने स्पष्ट हुन्छ । नगरपालिकाका इन्जिनियर किशोर कँडेलका अनुसार आव ०७४/७५ मा ८ सय ३१ घरको नक्सापास भएकामा यो संख्या सबैभन्दा बढी दक्षिणी क्षेत्रमा पर्ने वडा ३, ९, १० र ११ मा छ ।

उक्त क्षेत्रमा करिब ६ सय घर निर्माणका लागि नक्सापास भएको उनले बताए । ‘सरकारले स्पष्ट नीति नबनाउँदा खेतीयोग्य जमिन जथाभावी प्लटिङ भए, नगपालिकाले पनि घर बनाउने स्वीकृति दियो,’ उनी भन्छन्, ‘यसकै परिणामस्वरूप गुरुयोजनाविपरीत खेतमा धमाधम घर ठडिन थाले, सुन्दर सहर कुरूप बन्दै गयो ।’ नगरपालिकाको पछिल्लो निर्णयले कुरूप बन्दै गएको वीरेन्द्रनगरलाई व्यवस्थित र सुन्दर सहर बनाउन टेवा पुग्ने उनले बताए ।

प्रकाशित : माघ २१, २०७५ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT