छब्बीस सेकेन्डमै ढल्यो थ्रीस्टार

दीपक परियार

लेखनाथ — रेफ्रीले सिट्ठी फुके । रुस्लान थ्रीस्टारले बल चलायो । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ आफ्नै धुनमा थिए । बेन्चमा बसेका खेलाडी एक्कासि जर्‍याकजुरुक उठे । ‘गोल...’ भनेर चिच्याएपछि तामाङ झल्यास्स भए । खेल सुरु भएको केही सेकेन्डमै आफ्ना खेलाडीको गोलले उनलाई ‘सरप्राइज्ड’ बनायो । 

छब्बीस सेकेन्डमै ढल्यो थ्रीस्टार

पोखरा रंगशालामा जारी छैटौं मनकामना पोखरा कपमा एपीएफले थ्रीस्टारविरुद्ध रोमाञ्चक जित हात पार्‍यो । क्वाटरफाइनल खेलको पहिलो मिनेटमै भएको एक मात्र गोलले एपीएफलाई सेमिफाइनल पुर्‍यायो । सन्तोष श्रेष्ठले राजीव लोप्चनको पासमा २६ सेकेन्डमै गोल गरेका हुन् । उनकै गोलले राष्ट्रिय खेलाडीले भरिएको थ्रीस्टारलाई अनपेक्षित रूपमा प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो ।


थ्रीस्टारले सुरु गरेको बल केही समयमै विपक्षी डिफेन्सको नियन्त्रण्मा पुग्दा ‘सरप्राइज’ गोल भयो । विजय धिमालले बल अगाडि बढाउने क्रममा मिस पास हुँदा विपक्षी डिफेन्स विश्वास उदासको खुट्टामा बल पुग्यो । उनले मिडमा खेलिरहेका राजीव लोप्चनलाई पास दिए । राजीवले सेन्टर नजिकैबाट राइट विङ्गर सन्तोष श्रेष्ठलाई कर्भ पास उपलब्ध गराए । श्रेष्ठले विपक्षी डिफेन्स रञ्जित धिमाललाई बिट गर्दै बललाई पोस्टको दिशा दिए । थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाउने प्रयास गरे पनि उनको हातबाट फुस्किएर बारकै छेउबाट बलले जालीलाई छोयो ।


बलियो टिम थ्रीस्टारसँग खेल्दा कम्प्याग र जोनल मार्क गरेर काउन्टर अट्याक गर्ने रणनीति लिएको एपीएफ आकस्मिक गोलपछि रक्षात्मक खेल्यो । पहिलो चरणको खेलमा हिमालयन शेर्पाविरुद्ध गोल गरेका टिम कप्तान सुदीप सिख्राकार थ्रीस्टारसँगको खेलमा चम्किन सकेनन् । आशिष लामा, रमेश दंगाल, राजीव लोप्चनले उत्कृष्ट प्रदर्शन गरे । ११ औं मिनेटमा लोप्चनले विपक्षी डिफेन्स अनन्त तामाङ र विजय धिमाललाई बिट गर्दै फस्टबार च्यापेर गरेको प्रहार बाहिरिएको थियो ।


थ्रीस्टारले ६०–४० मा खेले पनि स्कोरिङमा समस्या देखियो । पहिलोभन्दा दोस्रो हाफमा तुलनात्मक रूपमा आक्रामक देखिएको थ्रीस्टारले पाएका कैंयन् अवसर सदुपयोग गर्न सकेन । ४८ औं मिनेटमा बुद्धराज लिम्बूले पेनाल्टी एरियाबाट गरेको प्रहार बारमा लागेर रिबाउन्ड हुनु थ्रीस्टारको दुर्भाग्य बन्यो । रिबाउन्ड बललाई पुन: सुनील बलले प्रहार गरे पनि आकाशियो । ८१ औं मिनेटमा बुद्धराजले पाएको अर्को अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलमा एपीएफका रमेश दंगाल म्यान अफ द म्याच हुँदै ५ हजार रुपैयाँ पाए ।


एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले थ्रीस्टारलाई जित्न निकै गाह्रो भएको बताए । ‘थ्रीस्टार जत्तिको बलियो टिमलाई पराजित गर्न पाएकामा खुसी छौं,’ उनले भने, ‘एक गोल नै हाम्रा लागि सरप्राइज जस्तै भयो ।’ थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले थुप्रै अवसर पाउँदा पनि गोल गर्नबाट चुक्नुपरेको प्रतिक्रिया दिए । ‘एपीएफका युवा खेलाडीको प्रदर्शन राम्रो रह्यो,’ उनले भने, ‘थ्रीस्टार जत्तिको टिमलाई ९० मिनेट रोक्नु नै ठूलो कुरा हो ।’ उनले लगातारको प्रतियोगिताले खेलाडीमा थकान, इन्जुरीलगायत समस्याले सोचेजस्तो प्रदर्शन गर्न नसकेको जनाए ।


कास्की जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार दोस्रो क्वाटरफाइनल खेल क्यामरुनी क्लब डफिन्स टिम फेमिली र नेपाल आर्मीबीच हुँदैछ ।

प्रकाशित : माघ २१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?