२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेत्रहीन क्रिकेट शृंखला नेपाललाई

काठमाडौँ — नेत्रहीन महिला क्रिकेटले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्वमै पहिलो पटक आयोजना भएको शृंखला नेपालले एक खेलअगावै जितेको हो । 

नेत्रहीन क्रिकेट शृंखला नेपाललाई

पाँच खेलको शृंखलामा नेपालले लाहोरको पहिलो र रावलपिण्डीमा भएको तेस्रो खेल १० विकेटले जितेको थियो । इस्लामाबादमा भएको चौथो खेलमा ९ विकेटले जितेपछि नेपालले एक खेलअगावै शृंखला आफ्नो पक्षमा पारेको हो । फैसलाबादमा हुने तय भएको दोस्रो खेल भने वर्षाका कारण रद्द गरिएको थियो ।


आइतबार पाकिस्तानले दिएको १ सय २ रनको लक्ष्य नेपालले ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी विमला राईले सर्वाधिक ४२ रन बनाइन् । ओपनर मन केसी चौधरीले २५ र मुना अर्यालले २२ रन अविजित बनाइन् ।


मुना अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा चौका प्रहार गर्ने बी वान क्याटेगोरीकी खेलाडी बनिन् । बी वान भएकाले उनको चौकाको ८ रन गणना भएको थियो ।


यसअघि शालिमार क्रिकेट ग्राउन्डमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएको थियो । पाकिस्तानका किरन रफिकले १६ र ओपनर तयावा फतिमाले १३ रन जोडिन् । नेपालबाट कप्तान विनीता राई, मुना अर्याल र आयुष्मा क्षेत्रीले १–१ विकेट लिए । पाकिस्तानका ४ खेलाडी रनआउट भए ।


नेपालबाट आयुष्मासँगै सुष्मा तामाङ र आशिगा डगौराले डेब्यु गरे । नियमित कप्तान भगवती भट्टराई, गीता पौडेल र हिता गुरुङको स्थानमा उनीहरूले खेलेका थिए । भगवतीको स्थानमा विनीताले कप्तानी गरिन् ।


एक खेलअगावै शृंखला जितेपछि कप्तान विनीताले फिल्डिङमा केही कमजोरी हुनुका बावजुत टोलीले राम्रो खेलेको बताइन् । ‘हामी पहिलो महिला नेत्रहीन क्रिकेट शृंखला जित्दा एकदमै खुसी छौं । सबैले राम्रो क्रिकेट खेले । आगामी दिनमा पनि अझ राम्रो खेल्नेछौं ।’


यस्तै पाकिस्तानकी कप्तान रबिअ शेहजादीले लगातार तीन खेल हारे पनि शृंखलाबाट धेरै सिकेको बताइन् । ‘भलै हामीले शृंखला गुमायौं, अन्य धेरै कुरा सिक्ने अवसर पायौं । थोरै समयको तयारीका बावजुत हामीले राम्रो खेल्यौं । अब अर्कोपटक नेपालसँग खेल्दा कडा चुनौती दिनेछौं ।’


चौथो खेलमा नेपालका लागि सर्वाधिक ४२ रन बनाएकी विमला राई प्लेअर अफ द म्याच घोषित भइन् । उनले १५ हजार पाकिस्तानी रुपैयाँ हात पारिन् ।

प्रकाशित : माघ २१, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?