कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पोखरा कप : आर्मीलाई डफिन्सको धक्का

लेखनाथ — अधिकांस दोस्रो रोजाइका खेलाडी उतारेको त्रिभुवन आर्मी क्लबविरुद्ध क्यामरुनी क्लब डफिन्स टिम फेमिलीले फराकिलो गोलअन्तरले जित हासिल गर्दै सेमिफाइनल तय गरेको छ ।

पोखरा कप : आर्मीलाई डफिन्सको धक्का

शनिबारमात्र इटहरीमा मदन भण्डारी स्मृति इटहरी गोल्डकप जितेको आर्मीलाई पाहुना टोलीले छैटौं मनकामना पोखरा कप फुटबलको क्वाटरफाइनलमा ४–१ ले हराएको हो ।


पोखरा रंगशालामा सोमबार डफिन्सले लगातार ४ गोल गर्दा आर्मीले खेलको अन्तिम समयमा एक गोल फर्कायो । पहिलो हाफको इन्ज्युरी समयमा डफिन्सका यान्निक ओवनाले गोल गर्दै खाता खोले । रेफ्रीले थप दुई मिनेट सकिएर सिठी फुक्नुअघि उनले गोल गरेका थिए । अट्याकिङ डिफेन्स इकवेमको लामो पासलाई यान्निकले नियन्त्रणमा लिए । विपक्षी डिफेन्सले मार्क नगरेको अवस्थामा उनले सहजै गोल गरे ।


पावर गेम खेलेको डफिन्सका बलिया र अग्ला कदका खेलाडीसामु टेक्निकल खेलेको आर्मी निरीह बन्यो । डफिन्सले दोस्रो हाफमा एकपछि अर्को गोल थप्दै जित सुनिश्चित बनायो । ६० औं मिनेटमा यान्निकले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दिलाए । उनले डाइडर टिनाको क्रस सदुपयोग गरेका थिए । आर्मेल आहान्दाले ६८ औं मिनेटमा तेस्रो गोल गर्दा आर्मीका खेलाडी हतास देखिए ।


दुई डिफेन्सलाई बिट गर्दै अघि बढेका आर्मेलले गोल थपेपछि डफिन्स बलियो बन्यो । उसको गोल गर्ने क्रम त्यतिमै रोकिएन । दोस्रो हाफको इन्ज्युरी समयमा समेत विपक्षीलाई दबाबमा राख्दै डफिन्सले गोल गर्न छोडेन । इन्ज्युरी समयको पहिलो मिनेटमा ओको बोटाले बल विपक्षीको गोललाइन पार गराउँदै चौथो गोल गरेर बिट मारे ।


त्यसको तीन मिनेटपछि आर्मीका विवेक बस्नेतले एक गोल फर्काए । ४–१ ले पछि परिसकेकाले आर्मीका खेलाडीले गोलको खुसीसमेत मनाउन सकेनन् । आर्मीले पाएका केही अवसर चुकायो । ४२ औं मिनेटमा सुदील राईले पेनाल्टी एरियाबाटै प्रहार गरेको कडा प्रहार आकासिएपछि आर्मी सम्भावित अग्रता लिनबाट चुक्यो । त्यसअघि राजु आलेको फ्रिकिक क्यामरुनी गोलकिपर प्रिसो एनडिजंगाले बचाउ गरे ।


यद्यपि डफिन्सले सुरुदेखि नै आर्मीलाई दबाबमा राखेको थियो । ३९ औं मिनेटमा ओवनाको हेडिङ सेकेन्ड बारमा लागेर रिवाउन्ड भयो । त्यसमा एन्जामा यान्निकले प्रहार गरे पनि गोलकिपर विश्वास चौधरीले बचाए । खेलको ४१ औं मिनेटमा पनि ओवनाले कर्नरबाट नियोले दिएको पासलाई हानेको हेड क्रसबार माथिबाट बाहिरियो ।


आर्मीका प्रशिक्षक गंगा देउजाले पहिलो र दोस्रो रोजाइका खेलाडी मिसाएर खेलेकाले स्कोरिङमा समस्या देखिएको बताए । ‘डिफेन्समा तालमेल मिलेन,’ उनले भने, ‘खेलमा लय लिन नसक्दा स्कोरिङमा समस्या भयो ।’ उनले लगातार प्रतियोगिता खेल्दै आएका पहिलो रोजाइका खेलाडीलाई आराम आवश्यक परेकाले दोस्रो रोजाइका खेलाडी मैदान उतारेको बताए । भुटानमा हुने प्रतियोगितामा भाग लिन जाने तयारी भएकाले मुख्य खेलाडीलाई आराम चाहिएको उनले उल्लेख गरे ।


रिस्सोको दाउ

मंगलबार क्वाटरफाइनलमा जापानको रिस्सो युनिभर्सिटी र पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । आयोजक कास्की जिल्ला फुटबल संघको आतिथ्यतामा पोखरा आइपुगेको रिस्सो प्रतियोगित जित्ने दाउमा छ । आइतबार राति पोखरा आइपुगेको टिमले सोमबार बिहान पोखरा रंगशाला पुगेर अभ्यास गर्‍यो ।


युनिभर्सिटीका प्रमुख सुगिता मामोरुले विपक्षी पुलिसको खेल थाहा नभए पनि आफ्नो टिमले आक्रामक रणनीति लिने बताए । ‘हाम्रो टिम जापानमा युनिभर्सिटीबीच डिभिजन १ स्तरको लिग खेल्ने तयारी गरेको टिम हो,’ उनले भने, ‘यहाँको मैदानमा गाह्रो भए पनि फुटबल हो, खेल्नुपर्छ ।’


प्रशिक्षक तो काई रिनले पोखरामा फुटबलप्रति दर्शकको लगाव देखेर खुसी भएको बताए । उनले प्रतियोगिता जित्ने नै तयारी गरेको दाबी गरे । आगामी दिनमा हुने अन्य प्रतियोगितामा भाग लिन पनि आफूहरू लालयित भएको उनले उल्लेख गरे । २० खेलाडी र ४ अफिसियलसहित पोखरा आएको टोलीको संयोजन भने पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं जापानमा फन रुट्स फुटबल एकेडेमी सञ्चालन गरेका वसन्त गौचनले गरेका हुन् ।

प्रकाशित : माघ २२, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?