सरस्वती र धनबहादुरलाई अवार्ड

काठमाडौँ — एपीएफकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट प्लेयर अफ द इयर अवार्डबाट सम्मानित भएका छन् । 

सरस्वती र धनबहादुरलाई अवार्ड

नेपाल भलिबल संघले हालै आयोजना गरेको एनभीए अवार्डमा उत्कृष्ट बनेका महिलातर्फ सरस्वती र पुरुषतर्फ धनबहादुरले ३० हजार रुपैयाँ राशिको प्लेयर अफ द इयर अवार्ड पाएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले खेलाडीलाई अवार्ड वितरण गरे । धनबहादुर अहिले रामेछाप सिभिल च्याम्पियनसिप भलिबलमा व्यस्त रहेकाले उनी अवार्ड वितरणमा उपस्थित थिएनन् ।

डेढ वर्षअघि भलिबल नेपालको राष्ट्रिय खेल भएलगत्तै संघका अध्यक्षसमेत रहेका मनोरन्जन रमण शर्माले १० लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेका थिए । त्यही रकमको ब्याजबाट वार्षिक रूपमा १–१ महिला र पुरुष खेलाडीलाई नगदसहित सम्मान गर्ने परम्परा यसपालिदेखि थालनी भएको हो ।

‘म भलिबल संघमा रहे पनि नरहे पनि वा म जीवित रहुन्जेलसम्म यो अक्षय कोषमार्फत खेलाडीको हितका लागि लगानी हुनेछ,’ अवार्ड कार्यक्रममा शर्माले भने, ‘भविष्यमा मेरा छोरानातिले यसमा रकम थप गरी सहयोग गर्न सक्नेछन् ।’

राष्ट्रिय टोलीकी मुख्य स्पाइकरसमेत रहेकी सरस्वतीले घरेलु प्रतियोगिताका नौमध्ये ८ उपाधि एपीएफलाई दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् । पछिल्लो समय एपीएफ टिम नै सरस्वतीको प्रदर्शनप्रेरित छ ।

सर्भर धनबहादुरले घरेलु भलिबलमा आर्मीको टिमको प्रदर्शनमा निर्णायक भूमिका खेल्दै आएका छन् । राष्ट्रिय टोलीमा पनि उनले नियमित उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नेपालले अर्को वर्ष भदौमा एसियाली सेन्ट्रल जोन भलिबलको आयोजना गर्दै छ । जहाँ ९ टिमको सहभागिता रहने छ । भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले निर्माणाधीन राखेप कभर्डहल समयमै सम्पन्न भए प्रतियोगिता गर्न सहज हुने बताए ।

राखेप उपाध्यक्ष तिम्सिनाले राष्ट्रिय खेल विकासका लागि सबै सरोकारवालासँग सर्वपक्षीय छलफल गरी योजना बनाउने आश्वासन दिए ।

प्रकाशित : माघ २६, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?