कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एपीएफले खेल जित्यो, रिस्सोले मन

दीपक परियार

लेखनाथ — फिँजिएर खेल्ने खेलाडी । अनुशासन उस्तै । १७–२१ वर्षे जापानी खेलाडीको खेलकौशल देखेर पोखराका भेट्रान फुटबलर आनन्द रन्जित लोभिए । नेपाल पुलिस क्लबसँग क्वाटरफाइनल खेल हेरेपछि उनले जापानको रिस्सो युनिभर्सिटीको टिम फाइनल पुग्ने अड्कल काटे ।

एपीएफले खेल जित्यो, रिस्सोले मन

मंगलबार पुलिसलाई १–० ले हराएकाले धेरै दर्शक रिस्सोको समर्थनमा देखिए । तिनै दर्शक प्रतिकूल मौसमका बाबजुद पनि रिस्सो र एपीएफ क्लबबीचको सेमिफाइनल हेर्न शुक्रबार रंगशाला झुल्किए ।


दर्शकले रिस्सोकै खुबै पक्ष लिए । पोखराको मैदानमा जापानको गुणस्तरीय खेल हेर्न पाएको चर्चा भयो । उनीहरू चाहन्थे टिम फाइनलसम्म पुगोस् । चाहनाको पछाडि एउटै कारण थियो, आधुनिक फुटबल हेर्ने । शुक्रबारको परिणामले दर्शकलाई निराश बनायो । खेलमा रिस्सो टाइब्रेकरमा पराजित हुनुपर्‍यो । पाहुना टोलीलाई घर फर्काउनुपर्दा बादल लागेर धुमिल भएको आकाशजस्तै मन लिएर दर्शक रंगशालाबाट बाहिरिए ।


उत्कृष्ट प्रदर्शनका बाबजुद रिस्सो फुटबल क्लब छैटौं मनकामना पोखरा कप फुटबलको सेमिफाइनलमा एपीएफसँग पराजित भयो । निर्धारित र थपिएको ३० मिनेटमा दुवै टोलीबाट कुनै गोल नभएपछि पेनाल्टी शुटआउटबाट नतिजा निकालियो । खेल ४–१ ले एपीएफको पक्षमा पर्‍यो । थपिएको ३० मिनेटमा मात्रै एक पछि अर्को गर्दैै ९ पल्टसम्म विपक्षी गोलपोस्टमा गरेको प्रहार रिस्सोले गोलमा परिणत गर्न नसक्नु दुर्भाग्य ठहरियो । जसले गर्दा खेल टाइब्रेकरमा पुग्नु बेफाइदाजनक बन्यो ।


पेनाल्टी शुटआउटमा पहिलो गोल एपीएफका कप्तान सुदीप सिख्राकारले गरे । रिस्सोको तर्फबाट नात्सुकी ताकेदा पहिलो पेनाल्टी हान्न तम्सिए । उनको प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले बचाए । जितको सम्भावना बलियो भयो । ताकुतो योसिनोको प्रहार क्रसबार माथिबाट बाहिरिएपछि एपीएफका खेलाडीमा खुसीको सीमा रहेन । एपीएफका आशिष लामा, राजीव लोप्चन र गोलकिपर राजुले पेनाल्टीमा गोल गरेर टिमलाई फाइनल पुर्‍याए । रिस्सोका कप्तान ताकुया हितोमीले एकमात्र गोल गरे ।


विपक्षीलाई निकै दबाबमा राखे पनि रिस्सोले स्कोरिङ निकाल्न सकेन । एकपछि अर्को गोलको अवसर सिर्जना गरेको रिस्सोलाई एपीएफले निर्धारित समयसम्म रोकेरै राख्यो । विपक्षी गोलकिपर राजु रिस्सोका लागि मुख्य बाधक बने । एपीएफका डिफेन्स मानव पर्खालझैं उभिएका छँदै थिए । जापानी प्रशिक्षक ताकेसी तोकाइरिनले विपक्षी डिफेन्सको प्रशंसा गरे । भने, ‘सबै डिफेन्स गोलकिपरसरह खेले । त्यसैले हामीलाई गाह्रो भयो ।’ हुनपछि खेल ७०–३० को थियो । रिस्सोका स्ट्राइकरले गर्ने प्रत्येक प्रहार गोलकिपरले रोक्थे । रिबाउन्ड बल डिफेन्सले क्लियर गर्थे । रिबाउन्ड बलमा आफ्ना खेलाडीले स्कोर गर्न नसक्दा खेलमा पराजित हुनुपरेको प्रशिक्षक तोकाइरिनको तर्क छ ।


खेलको १२ औं मिनेटमै रिस्सोले पहिलो आक्रमण गर्‍यो । केसुकी ओमुरोको क्रसलाई योजी फुजिमोरीले पेनाल्टी एरियाबाटै ब्याकहिल किक प्रहारलाई विपक्षी किपरले पन्च गर्दै कर्नर अवसर दिलाए । दोस्रो हाफमा पनि एपीएफलाई दबाबमा राख्यो । ५३ औं मिनेटमा कप्तान ताकुया हितोमीको प्रहार एपीएफका गोलकिपरले पन्च गर्दै विफल बनाए । गोलकिपरबाट रिबाउन्ड बललाई केसुकी अमुरोले प्रहार गरे । उक्त बल राजुले नियन्त्रण गर्दै टोलीको जित आशा मर्न दिएनन् । ७३ औं मिनेटको अवसर पनि पाहुना टोलीले सदुपयोग गर्न सकेन । योजी फुजिमोरीको कडा प्रहार गोलरक्षक राजुले पन्च गर्दै बचाए ।


खेलको ८४ आंै मिनेटमा ताकुया हितोमीको प्रहार विपक्षी गोलकिपरले पन्च गरेर जोगाए । रिबाउन्ड बललाई योता उमिहाराले हेडिङ गरे पनि क्रस बारमाथिबाट बाहिरियो । खेलको ८६ औं मिनेटमा पाएको कर्नरलाई नात्सुकी ताकेदाले प्रहार गरे । उमिहाराले हानेको हेडिङ सेकेन्ड बार नजिकैबाट बाहिरियो ।


रक्षात्मक खेलेको एपीएफविरुद्ध सफल नहुँदा निर्धारित समय गोलरहित बराबरीमा टुंगिँदै ३० मिनेट लम्बियो । अतिरिक्त समयमा रिस्सोले विपक्षी पोस्टमा धेरै प्रहार गर्‍यो । प्रत्येकपल्टको प्रहार विपक्षी गोलकिपरले उत्कृष्ट बचाउ गरे ।


अतिरिक्त समयको तेस्रो मिनेटमा यासुताका सुजुकीको क्रस उमिहाराले वान टचमा हितोमीलाई पास दिए । हितोमीले गोल एरियाभित्रैबाट प्रहार गरेको बल सेकेन्डबारमा लागेर रिबाउन्ड भयो । उक्त बल विपक्षी डिफेन्सले क्लियर गरे । लगत्तै चौथो मिनेटमा विपक्षी गोलकिपर धेरै अघि बढेको अवस्थामा गोलपोस्ट खाली हुँदा मासाकी कानेउराले पेनाल्टी एरियाबाट गरेको प्रहार आकासिन पुग्यो । एपीएफले भने खेल अवधिभर उत्कृष्ट प्रहार रच्न सकेन । गोलबाट बच्न नै समय खर्चियो । विपक्षीको एकपछि अर्को प्रहार रोकेका एपीएफ गोलकिपर राजुमाथि न्याय भयो । उनी म्यान अफ द म्याच भए ।


त्यसो त अप्रत्यासित जितले एपीएफका प्रशिक्षक राजेन्द्र तामाङलाई चकित तुल्यायो । ‘उनीहरूको खेल्ने तरिका नै फरक छ,’ उनले भने, ‘उनीहरूकै तरिकाले हामी खेलेको भए धेरै गोलको अन्तरले हार बेहोर्नुपथ्र्यो । त्यसैले डिफेन्सलाई महत्त्व दिएर खेल्यौं ।’ गोलकिपरको प्रदर्शनले टिमलाई फाइनलसम्म पुर्‍याएको उनले उल्लेख गरे । उनको टिम शनिबार लिग विजेता मनाङ मस्र्याङदी र क्यामरुनको डफिन्स टिम फेमिलीबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग आइतबार फाइनल खेल्नेछ ।


शुक्रबारको खेलमा अचम्मको संयोग थियो । एपीएफ सम्हालेका तामाङ पोखराकै हुन् । रिस्सोलाई जापानबाट पोखरा ल्याउने वसन्त गौचनको घर पनि पोखरा हो । दुवै नेपालको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रि प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । खेलपछि दुवैले बधाई साटासाट गरे । भेट्रान फुटबलर आनन्द रन्जितले दुवैलाई धाप मार्दै भने, ‘एपीएफले खेल जित्यो, रिस्सोले मन ।’

प्रकाशित : माघ २६, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?