पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक र अग्रवाल सम्मानित

धनगढी — नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षक सुनोज भट्टराई र पूर्व कप्तान पवन अग्रवाल एउटै मञ्चमा सम्मानित भएका छन् । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले दुवैलाई शनिबार डीपीएल उद्घाटनको क्रममा सम्मान गरेको हो ।

पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक र अग्रवाल सम्मानित

भट्टराईलाई ‘अर्जुन खड्का स्मृति प्रशिक्षक सम्मान’ र अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ प्रदान गरेको हो । दुवै पुरस्कारको राशी जनही १ लाख रुपैयाँ रहेको छ । डीसीएले डीपीएलको उद्घाटन दिन हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । विगतका वर्षहरुमा पुबुदु दासानायके, प्रफुल्ल वैद्य, जगत टमाटा, जंगबहादुर थापा, अरुण अर्याल र राजु खड्काले यो पुरस्कार पाइसकेका छन् ।


भट्टाई नेपालका अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले सन् १९९६ मा मलेसियामा एसीसी ट्रफी खेलेको थियो, जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । नेपाली क्रिकेटको पहिलो पुस्ता अग्रवाल त्यस टोलीका खेलाडी हुन् । भट्टराईकै प्रशिक्षणमा नेपाल आईसीसी यू १९ विश्वकपमा पुगेको थियो । सन् १९९९ मा सिंगापुरमा भएको एसीसी यू १९ कपमा भट्टराईको प्रशिक्षणमा फाइनल पुग्दै नेपाल यू १९ विश्वकपमा पुगेको थियो ।


उनी ३३ वर्ष देखि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षकको रुपमा कार्यरत छन् । ५७ वर्षे उनी ३,४ महिनापछि अवकाश पाउँदै छन् । परिषद्को जागिरे प्रशिक्षकका क्रममा उनी २०५२ सालमा धनगढी आएका थिए र कैलाली जिल्लाको प्रशिक्षक भएर राष्ट्रिय प्रतियोगितामा टिम ओरालेका थिए । त्यही कैलाली टोलीका कप्तान जगत टमाटा अहिले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक हुन् । क्रिकेट संघले आवश्यक नदेखिएका कारण आफू बिचमा हराएको जस्तो भएको उनको तर्क थियो ।


१९९६ मा पहिलो एसीसी ट्रफी खेल्नेक्रममा अग्रवालले ब्रुनाईविरुद्ध बनाएको ८१ रन नेपाली खेलाडीको आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक हो । उनकै कप्तानीमा नेपालले २००० युएईमा एसीसी ट्रफी खेलेको थियो । नेपाल त्यहीबाट पहिलोपटक एसीसी ट्रफीको सेमिफाइनल पुगेको थियो । उनले २००१ मा क्यानाडामा भएको आईसीसी ट्रफीसम्म नेपाली राष्ट्रिय टोलीबाट खेले ।


अग्रवालले पाएको पुरस्कार रकम ‘ड्रिम फाप्ला’ मैदान निर्माण अभियानलाई नै प्रदान गरेका थिए । मैदान बनाउनदेखि डीपीएल आयोजना गर्न धेरै दुःख व्यहोरिरहेको अवस्थामा आफूले एउटा सानो सहयोग गरेको उनले जनाए ।


सन् २००६ देखि २०११ सम्म नेपाल क्रिकेट संघका सदस्य रहेका अग्रवाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले केही समयअघि बनाएको सल्लाहकार समितिका सचिव पनि हुन् ।

प्रकाशित : माघ २६, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?