२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

पहिलो पुस्ताका प्रशिक्षक र खेलाडी सम्मानित

धनगढी — नेपालका पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षक सुनोज भट्टराई र पूर्व कप्तान पवन अग्रवाल एउटै मञ्चमा सम्मानित भएका छन् । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले दुवैलाई शनिबार उद्घाटनका क्रममा सम्मान गरेको हो ।

पहिलो पुस्ताका प्रशिक्षक र खेलाडी सम्मानित

भट्टराईलाई ‘अर्जुन खड्का स्मृति प्रशिक्षक सम्मान’ र अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ प्रदान गर्‍यो । दुवैको राशि जनही १ लाख रुपैयाँ रहेको छ । डीसीएले डीपीएलको उद्घाटन दिन हरेक वर्ष यो पुरस्कार दिने गर्दछ । विगतका वर्षमा पुबुदु दासानायके, प्रफुल्ल वैद्य, जगत टमाटा, जंगबहादुर थापा, अरुण अर्याल र राजु खड्काले यो पुरस्कार पाइसकेका छन् ।


भट्टराई नेपालका अन्तर्राष्ट्रिय प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा नेपालले सन् १९९६ मा मलेसियामा एसीसी ट्रफी खेलेको थियो, जुन नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । नेपाली क्रिकेटको पहिलो पुस्ताका अग्रवाल त्यस टोलीका खेलाडी हुन् । भट्टराईकै प्रशिक्षणमा नेपाल आईसीसी यू–१९ विश्वकपमा पुगेको थियो । सन् १९९९ मा सिंगापुरमा सम्पन्न एसीसी यू–१९ कपमा भट्टराईको प्रशिक्षणमा फाइनल पुग्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो । त्यसपछि भने उनले कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली टोली हेरेका छैनन् ।


‘म क्रिकेटमा निरन्तर नै छु । देखाउनलाई बजारी रूपमा होइन क्रिकेटको गुण निकाल्ने कार्यमा सक्रिय छु । म बोक्राभित्रको फल जस्तै हुँ । बाहिरबाट नदेखिने भित्रै गएर हेर्नुपर्ने,’ डीसीएका स्वर्गीय प्रशिक्षक अर्जुन खड्काको नाममा स्थापित पुरस्कारबाट सम्मानित भएपछि भट्टराईले भने, ‘गत वर्ष अरुणसर (अर्याल) ले पाउँदा नै म धेरै खुसी भएको थिएँ । तर मैले यो पुरस्कार, सम्मान कहिल्यै आशा गरेको थिइनँ । डीपीएलले नेपाली प्रशिक्षकलाई सम्झेको छ, त्यसैले म आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’


उनी ३३ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षकमा कार्यरत छन् । ५७ वर्षे उनले ३–४ महिनापछि अवकाश पाउँदै छन् । परिषद्को जागिरे प्रशिक्षकका क्रममा उनी २०५२ सालमा धनगढी आएका थिए र कैलाली जिल्लाको प्रशिक्षक भएर राष्ट्रिय प्रतियोगितामा टिम ओरालेका थिए । त्यही कैलाली टोलीका कप्तान जगत टमाटा अहिले राष्ट्रिय टोलीका प्रशिक्षक छन् । क्रिकेट संघले आवश्यक नदेखिएका कारण आफू बीचमा हराएजस्तो भएको उनको तर्क थियो ।


सन् १९९६ मा पहिलो एसीसी ट्रफी खेल्नेक्रममा अग्रवालले ब्रुनाईविरुद्ध बनाएको ८१ रन नेपाली खेलाडीको आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक हो । उनकै कप्तानीमा नेपालले २००० यूएईमा एसीसी ट्रफी खेलेको थियो । नेपाल त्यहीबाट पहिलोपल्ट एसीसी ट्रफीको सेमिफाइनल पुगेको थियो । उनले २००१ मा क्यानडामा सम्पन्न आईसीसी ट्रफीसम्म राष्ट्रिय टोलीबाट खेले ।


‘जब कसैले तपाईको प्रयासलाई कदर गर्छ भने त्यसले अझ राम्रो गर्न प्रोत्साहित गर्छ । सम्मान पाउनु मेरा लागि सौभाग्यको विषय हो । क्रिकेट खेल्दाखेरि यसरी सम्मान पाइएला भनेर सोचिएको थिएन, आज त्यो दिन पनि आएको छ,’ सम्मानपछि अग्रवालले भने, ‘पहिला र अहिलेको क्रिकेटको माहोल नै फरक छ । पहिला क्रिकेट बुझ्ने नै कम थिए । अहिले डीपीएल र क्रिकेट भनेपछि धेरै ठूलो रुचिको विषय भइसकेको छ । एउटा खेलाडीको रूपमा अझ खेल्न मजा आउने माहोल छ । त्यस हिसाबमा अलिक चाँडो जन्मिएर खेलिएछ जस्तो पनि लाग्छ ।’


अग्रवालले प्राप्त सम्मान रकम ‘ड्रिम फाप्ला’ मैदान निर्माण अभियानलाई नै प्रदान गरेका छन् । मैदान बनाउनदेखि डीपीएल आयोजना गर्न धेरै दु:ख बेहोरिरहेको अवस्थामा आफूले एउटा सानो सहयोग गरेको उनले सुनाए । सन् २००६ देखि २०११ सम्म नेपाल क्रिकेट संघका सदस्य रहेका अग्रवाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले केही समयअघि बनाएको सल्लाहकार समितिका सचिव पनि हुन् ।


होटलमा उद्घाटन

डीपीएलको ‘सफ्ट’ उद्घाटन होटल फ्लोरामा गरिएको छ । निर्धारित तालिकाअनुसार शनिबार डीपीएला सुरु हुने कार्यक्रम थियो । सोहीक्रममा उद्घाटन समारोह पनि राखिएको थियो । तर बुधबार रातिदेखिको वर्षाले मैदान हिलाम्ये बनाएका कारण आयोजकले खेलहरू दुई दिन पछि सारिसकेको छ ।


खेल सोमबार सुरु हुनेछ । सामान्य हिसाबमा होटलमै उद्घाटन समारोहलाई भने निरन्तरता दिइएको हो । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिक (समिर खान) लाई म्याच बल प्रदान गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले फाप्लालाई विधिवत रूपमा लगेर अन्तर्राष्ट्रिय रंगशाला बनाउने दृढता जनाए । निजी र सरकारको लगानीमा नमुना रंगशाला बनोस् भन्ने प्रदेश सरकारको चाहना रहेको जनाए ।


सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाहले डीपीएल सुदूरपश्चिमको गौरव र राष्ट्रको कोसेढुंगा भएको जनाए । आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले डीपीएल र ड्रिम फाप्लालाई सहयोग गर्न प्रदेश सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए । डीसीएका अध्यक्ष सुवास शाहीले सबैको साथमा प्रतियोगिताले ठूलो रूप लिइरहेको बताए ।

प्रकाशित : माघ २७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?