२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फेरिएको सीवाईसी अत्तरिया

विनोद पाण्डे

धनगढी — सीवाईसी अत्तरियाका अध्यक्ष नरबहादुर राईको जोस धेरैले बिर्सेका छैनन् । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो संस्करणको अक्सनमा उनी यति उत्साहित थिए कि ज्ञानेन्द्र मल्ल, करण केसी, योगेन्द्रसिंह कार्कीजस्ता खेलाडीमाथि भाउ लगाउँदै अत्तरियामा ल्याएका थिए । 

फेरिएको सीवाईसी अत्तरिया

डीपीएलमा राईको त्यस्तै जोस फेरि कहिल्यै देखिएन । चन्दा उठाउँदै, सामुदायिक हिसाबमा चलेको अत्तरियालाई आर्थिक संकटले च्यापिसकेको थियो । काठमाडौंको अक्सनपछि धनगढी फर्किएका राईलाई आर्थिक पक्ष जुटाउनै हम्मे पर्‍यो । त्यसैले उनी भन्दै थिए, ‘काठमाडौंमा अक्सनमा जोसमा त राम्रा खेलाडीलाई लिन झण्डा उठाइयो, अहिले यहाँ कहाबाट तिर्ने भइरहेको छ ।’


गत वर्षको दोस्रो संस्करणमा पनि अत्तरियाको पीडा उस्तै नै थियो । डीपीएल खेल्ने ६ मध्ये ५ फ्रेन्चाइज टोली धनगढीमै बसेका थिए । भन्नलाई त स्थानीयसँग सामीप्यता बढाउन अत्तरियामै बसेको भनिए पनि वास्तविकतामा प्रायोजकको अभावमा अत्तरियाको टोली धनगढीका होटलमा बस्न नसक्ने स्थितिमा पुगिसकेको थियो । अत्तरियाका सामान्य होटलमा बस्दा खेलाडीको पीडा उर्लिन थालिसकेको थियो ।


स्थिति आइसकेको थियो कि अत्तरियाको टोली पतनको स्थितिमा पुगेको थियो । मात्र औपचारिक निर्णयको पर्खाइमा ।


परिवर्तनको संवाहक

तेस्रो संस्करणको अक्सनमा राई थिएनन् । अत्तरियाका उपाध्यक्ष शर्मानन्द भट्ट, सदस्य अनुप भण्डारी, व्यवस्थापक रजत शाही, निर्देशक शशांक पोखरेलसहित अभिषेक केसी थिए । अत्तरियाको स्वामित्वमा स्पोर्टस एड र हिमालयन ह्वाइटहाउस स्कुल आएपछि पोखरेल र केसी थपिएका हुन् । स्पोर्टस एड र ह्वाइटहाउसले अत्तरियाको समान ३३ प्रतिशत शेयर लिएको छ ।


स्पोर्टस एडले नै नेपाल स्पोर्टस स्कुलसँग मिलेर दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स र रायन मरोनलाई नेपाल ल्याएको थियो । उनै रोड्स र मरोन अहिले अत्तरियामा छन् । रोड्स मेन्टर र मरोन प्रशिक्षक हुन् । रोड्स डीपीएलका पनि सद्भावना दूत हुन् । खेलकुद र शिक्षा क्षेत्रलाई जोड्ने गरी स्पोर्टस एड सेप्टेम्बरमा दर्ता भएको थियो र त्यसको दुई महिनापछि नै विश्व क्रिकेटका फिल्डिङ हस्ती रोड्सको टोलीलाई नेपाल ल्याएको थियो ।


‘मेकिङ अ डिफरेन्स’ स्पोर्टस एडको नारा छ । अर्थात् परिवर्तनको संवाहक । अहिले अत्तरियामा देखिएको परिवर्तन पनि यही नै हो । रोड्सको चाहना पनि यस्तै छ । उनी आफू विभिन्न देशका लिगहरूको टिमको प्रशिक्षक र मेन्टर भएर थाकिसकेको बताउँछन् । त्यसै कारण फरक रूपमा कसैले केही गर्न खोजेको छ भने त्यसमा उनी सामुदायिक हिसाबमा काम गर्न इच्छुक थिए ।


पहिलोपल्ट नेपाल आउँदा उनले नेपाली यू–१९ टोली र अन्य युवा खेलाडीलाई प्रशिक्षण दिएका थिए । त्यसलगत्तै उनी परिवारसहित अन्नपूर्ण पदयात्रामा आए र आफ्नो उद्देश्य राखे । अभिषेक केसी र डीपीएलका अध्यक्ष सुवास शाहीसँग पोखरामा छलफल भएपछि उनी अत्तरियामा आबद्ध हुनपुगे ।


‘जोन्टीको जुन व्यक्तित्व र खेलाडी जीवन छ, त्यस हिसाबमा उनी जुनै टिममा बसेको भए पनि हुन्थ्यो । अत्तरिया सामुदायिक हिसाबमा चलिरहेको भएर हामी त्यसमा आबद्ध भएका छौं,’ अत्तरियामा स्पोर्टस एडबाट लगानी गरेका केसीले भने, ‘जोन्टी र रायनले अत्तरियाको विद्यालयमा गएर क्याम्प गर्नेछन् । डीपीएल र अत्तरिया व्यावसायिक इभेन्ट भए पनि उनीहरू सामुदायिक हिसाबमा कार्य गर्नलाई बढी उत्साही छन् ।’


भन्दा हतार होला तर अत्तरियामा एउटा एकेडेमी बनाउने योजना रहेको केसी सुनाउँछन् । रोड्स र मरोनमार्फत दक्षिण अफ्रिकाको केपटाउनस्थित एक एकेडेमीसँग अत्तरियाको एकेडेमीलाई जोड्ने दूरगामी योजना पनि उनीहरू सँग छ । केसी भन्छन्, ‘सीवाईसी अत्तरियाले पहिला अरु पनि कार्य गथ्र्यो, अहिले क्रिकेटले बढी एक्सपोज गराएको छ । खेलाडीहरू र टिम सबै नयाँ व्यवस्थापनमा सन्तुष्ट छन् ।’


कागजी हिसाबमा अत्तरिया डीपीएल–३ को सबैभन्दा कमजोर टोली देखिएको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियामा सन्दीप जोरा, भुवन कार्की, सुवेन्दु पाण्डे, रामनरेश गिरी, प्रेम तामाङलगायत खेलाडी छन् । नेपाली भूमिमा चलेका भारतीय खेलाडी सन्नी पटेल र जयकिसन कोल्सावाला थपिएकाले टोलीलाई केही बल प्रदान गरेको छ । दुई महिनाअघि काठमाडौंमा अक्सन हुँदा अत्तरिया स्टार र चल्तीका खेलाडीको नाम आउँदा मौनजस्तै बसेको थियो ।


बरु त्यसको तुलनामा अत्तरियाले जितेन्द्रसिंह ठकुरी, रित गौतम, दीपेन्द्र राउत, अदिल अन्सारीजस्ता युवा र नयाँ खेलाडीलाई लिएको थियो । जितेन्द्र र रितले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसके पनि अदिल र दीपेन्द्र राष्ट्रिय क्रिकेटमा देखिन बाँकी खेलाडी हुन् । यो सबै रोड्स र मरोनको सल्लाहबमोजिम गरिएको थियो ।


यी चारै खेलाडीलाई नेपाल क्रिकेट स्कुलबाट रोड्स र मरोनले प्रशिक्षण दिएका थिए । ‘अक्सनमा यी खेलाडीमाथि भाउ नलाग्ने सम्भावना पनि रहन्थ्यो । तर प्रशिक्षण क्याम्पमा जोन्टी र रायनले हेरिसकेका थिए । त्यसमा जितेन्द्रको खेलबाट निकै प्रभावित भए । सोही कारण उनीहरूलाई हामीले नै निवेदन हाल्न भनेर अक्सनमा ल्याएका थियौं,’ केसीले भने ।


सन्दीप जोरा र कमलसिंह ऐरी पनि नेपाली यू–१९ खेलाडीको हैसियतमा रोड्स र मरोनको प्रशिक्षण क्याम्पमा आएका थिए । त्यसैले रोड्स र मरोन यी ६ खेलाडीसँग परिचित छन् । युवा खेलाडीलाई लिएर विकास गर्दै जाने र २०२३ सम्ममा माथिल्लो स्तरमा पुर्‍याउने भनेर अक्सनमा त्यहीअनुरुप खेलाडी लिइएको केसी बताउँछन् ।


डीपीएलपछि के त भन्ने प्रश्नमा केसले उनीहरूले ती खेलाडीलाई विभिन्न भ्रमणमा पठाउन लागिएको योजना सुनाए । ‘जोन्टीजस्ता व्यक्तित्व डीपीएलमा आउनु भनेको नेपाली क्रिकेटकै ठूलो विषय हो । अत्तरियाका लागि त भइहाल्यो । उनको आगमनमा हामी सबै उत्साही छौं,’ केसीले भने ।


रोड्सको आगमनले एक दिनमै अत्तरियाको खेलाडीमा आएको प्रभाव केसीले देखिइसकेका छन् । वर्षाले क्रिकेट मैदानहरू भिजाइएका कारण अत्तरियाको टोली फुटसल मैदानमा शारीरिक अभ्यास गर्न व्यस्त छ । ‘५० वर्षे जोन्टी आफूहरूभन्दा फिट देखिएकोमा युवा खेलाडीको मानसिकतामा धेरै परिवर्तन आइसकेको छ,’ रोड्सको प्रभाव नेपाली क्रिकेटमै देखिनेमा केसी विश्वस्त छन् ।


अत्तरिया टिमलाई मेन्टर गरेर एउटा खेलाडीले प्रतियोगितालाई लिने दृष्टिकोण र व्यवहारमा परिवर्तन ल्याउन चाहन्छु,’ धनगढी आएदेखि निकै सामान्य हिसाबमै घुलमिल गरिरहेका रोड्सले भने, ‘म डीपीएललाई लिएर निकै उत्साही छु र आफ्नो तर्फबाट यसमा महत्त्व दर्शाउन चाहन्छु ।’


अत्तरियाको प्रमुख प्रायोजकमा हिमालयन ह्वाइटहाउस स्कुल एन्ड कलेज छ । विनोद दासदेखि पारस खड्कासम्म यही कलेजका विद्यार्थी थिए । यही कारण कलेज धेरै चिनियो । अहिले हाइटहाउस यस्तै नाम कमाउने आशामा ठूलो योजनासाथ अत्तरियामा जोडिएको यसका अध्यक्ष युवराज शर्मा सुनाउँछन् ।


सिर्जनशील युवा

सिर्जनशील युवा क्लब अर्थात सीवाईसी । यही नामले टोलीले धनगढीमा पहिलो फ्रेन्चाइज लिग धनगढी क्रिकेट लिग (डीसीएल) मा खेलेको थियो । त्यसको अर्को वर्ष डीसीएल र होटल डिभोटी एसपीए कपलाई गाभिँदै डीपीएल बनाइयो । सीवाईसीको पहिचानसँग अत्तरिया पनि जोडियो ।


आर्थिक पक्षले धान्न नसकेपछि फ्रेन्चाइज लिगमा पतनको स्थितिमा पुगेको सीवाईसी अत्तरियाको रूप अहिले फेरिएको छ । हाइटहाउससँग प्रायोजन सम्झौता गरिरहँदा राईमा ३ वर्षअघिको उत्साह फर्केर आएको देखिन्थ्यो । यसपालि टोली सन्तुलित बनेको र जोन्टी अनि रायनको आगमनले उत्साहित बनाएको बताइरहँदा उनी आफ्नो खुसी लुकाउन सकिरहेका थिएनन् ।

प्रकाशित : माघ २७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?