१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धनगढी प्रिमियर लिग क्रिकेट : क्रिकेट पर्यटनको अवसर

देशकै सर्वाधिक धनराशिको डीपीएल सुदूरपश्चिमको गौरव र सान बढाउने प्रतियोगितामा मात्रै सीमित छैन, खेल पर्यटनको माध्यमबाट यसले हाम्रो अर्थतन्त्रलाई समेत मजबुत पार्नेछ 
मोहन बुढाऐर

धनगढी — वर्षाका कारण दुई दिनपछि सरेको देशकै सर्वाधिक धनराशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आर्थिक गतिविधिलाई पनि उकासेको छ ।

धनगढी प्रिमियर लिग क्रिकेट : क्रिकेट पर्यटनको अवसर

अर्थशास्त्री तथा पर्यटन उद्योग व्यवसायीले सुदूरपश्चिम प्रदेशका लागि खेल पर्यटनमा डीपीएलको ठूलो महत्त्व रहेको बताएका छन् ।

प्रतियोगितामा सहभागी भएका ६ टिमका खेलाडी र तिनका समर्थकले धनगढीका अधिकांश होटल भरिभराउ छन् । सहभागी टिममा विदेशी खेलाडीसहित राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी सहभागी छन् ।

सबै टिमका खेलाडी, अफिसियल गरी २ सय जना यहाँ छन् । टिमका आफ्ना समर्थक काठमाडौं, रूपन्देही, विराटनगर, महेन्द्रनगरबाट यहाँ आइपुगेका छन् । कसैले आफ्नो समर्थन रहेको टिमको खेल हुने दिनका लागि मात्रै होटल र डीपीएलको अग्रिम टिकट बुकिङ गरेका छन् ।

डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीएल) का अनुसार खेल अवधिभर कम्तीमा ६० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । त्यसका लागि आयोजकले खेल सञ्चालन हुने फाप्ला मैदानमा ४ हजार दर्शकलाई अस्थायी प्यारापिट निर्माण गरेको छ ।

लिग चरणमा दैनिक २ देखि ३ हजारले प्ले–अफमा ४ हजार र फाइनलमा ५ हजार जति दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकको छ । प्यारापिटमा ठाउँ नभएर फाइनलमा दर्शक घुइँचो लागेमा भुइँमै बसेर वा उभिएर हेर्ने गरी ठाउँको व्यवस्थापनसमेत गरिएको बताइएको छ ।

डीपीएलका लागि खेलप्रेमी छिमेकी भारतका सीमावर्ती पलियासम्मका नागरिकले अग्रिम टिकट बुकिङ गरिरहेको आयोजकका हर्क बोहराले जानकारी दिए । पहिलो र दोस्रो संस्करणमा छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट दर्शक आएका थिए ।

डीपीएल हेर्नकै लागि कञ्चनपुरलगायत गाउँबाट समेत दर्शक आउने आयोजकको भनाइ छ । दर्शकलाई धान्न नसकिने हो कि ? भनेर आयोजकले प्लेअफ र फाइनलको टिकटमा वृद्धि गरेको छ । लिग चरणको ५०, प्ले–अफको ७० र फाइनलको १ सय रुपैयाँ टिकट दर तोकिएको छ ।

अर्थशास्त्री रामबहादुर बुढाऐरले डीपीएलको खेल अवधिमा ठूलो आर्थिक गतिविधि हुने बताए । उनका अनुसार एक जनाले खेलमैदान बाहिर एक कप चिया मात्रै खाइदिए ७५ हजार र एक जनाले सय रुपैयाँ मात्रै खर्चे ५ लाख रुपैयाँको दैनिक कारोबार हुने बताए । खेल अवधिमा मैदानमा चिया र बिस्कुटको मात्रै झन्डै १ करोडको कारोबार हुन सक्ने उनले बताए ।

डीपीएल मैदान बाहिर बसेर चिया, चाउमिन र बदाम बेच्नेलाई मात्रै होइन, होटल, यतायात व्यवसायीको आर्थिक कारोबारमा वृद्धि हुने उनको कथन छ । धनगढी बजारबाट फप्ला क्रिकेट मैदान ३ किमि दूरीमा छ । धनगढी–फाप्ला रुटमा अटोरिक्सा, ट्याक्सीको कारोबार बढ्छ ।

त्यस्तै टाढाबाट आएका दर्शकले खाना, नास्ता र बस्नबाहेक अन्य क्षेत्रमा पनि खर्च गर्ने बताए । कोही दर्शकले यही अवसरमा धनगढीका पर्यटकीय गन्त्व्यको घुमफिर गर्ने बताए । यसले यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने उनी बताउँछन् ।

पर्यटन व्यवसायी सञ्जय चौधरीले डीपीएलले सुदूरपश्चिम प्रदेशलाई खेलको माध्यमबाट चिनाउन लागेको मात्र नभई खेल पर्यटनमा ठूलो योगदान दिंदै आएको बताए । उनका अनुसार यस अवधिमा धनगढीमा करोडौंको कारोबारमा वृद्धि हुने बताए ।

‘देशकै सर्वाधिक धनराशिको डीपीएल अहिले सुदूरपश्चिमको गौरव र सान बढाउन लायकको प्रतियोगिता मात्र बनेको छैन,’ चौधरीले भने, ‘खेल पर्यटनको माध्यमबाट यसले हाम्रो अर्थतन्त्रलाई समेत मजबुत पार्नेछ ।’

प्रकाशित : माघ २८, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?