सन्दीपको उत्कृष्ट प्रदर्शन

नारायण खड्का

अस्ट्रेलिया — नेपाली लेगस्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बासमा मेलबर्न स्टार्सले जित हासिल गरेको छ । मेलबर्न क्रिकेट मैदानमा आइतबार भएको खेलमा उनले बिग बासमा उत्कृष्ट प्रदर्शन गरे ।

सन्दीपको उत्कृष्ट प्रदर्शन

एक साताअघिमात्र मेलबर्न आइपुगेका सन्दीपले जम्मा ३.४ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले जम्मा ११ रनमात्र खर्चे । यो उनको बिग बासमा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । दसौं हजार घरेलु दर्शक र सयौं नेपाली फ्यानबीच बलिङ गरेका उनले पप लोयड, टम कुर्‍रान र बेन डवारसुयिसलाई पेभेलियन फर्काएका थिए भने उनकै बलमा नाथन लायन रनआउट भएका थिए ।


उनले ग्लेन म्याक्सवेलले गरेको बलमा मोइसेस एनरिकेसलाई क्याच आउटसमेत गरेका थिए । उनको खेलको प्रशंसा गर्दै मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले सन्दीपले उत्कृष्ट बलिङ गरेको प्रतिक्रिया दिए ।


सन्दीपले अहिलेसम्म अस्ट्रेलियामा ५ खेल खेलिसकेका छन् जसमा उनले ११ विकेट लिइसकेका छन् । जित्नैपर्ने दबाबमा रहेको उनको टिम सिड्नी सिक्सर्सलाई ९४ रनले हराएर सेमिफाइन्ल पुग्यो । स्टार्सले बिहीबार होबार्ट हुरिकेन्ससँग सेमिफाइनल खेल्नेछ ।


सन्दीपको खेललाई समर्थन जनाउन मेलबर्नमा रहेका सयौं नेपाली नेपाली झन्डा र बाजागाजासहित खेलस्थल पुगेका थिए । खेल हेर्न पुगेका तारा गैरैले सन्दीपको खेलले नेपालीलाई गर्वित बनाएको सुनाए ।


‘सन्दीपले समग्र बिग बासमा देखाएको खेल कौशलले अस्ट्रेलियामा रहेका नेपालीको शिर ठाडो मात्र बनाएको छैन, नयाँ खेलाडीलाई हौसलासमेत प्रदान गरेको छ,’ गैरेले भने । सन्दीपले पनि नेपाली प्रशंसकको साथ पाएकामा खुसी व्यक्त गरेका थिए । उनले खेल हेर्न पुगेका नेपालीसँग फोटो खिचाउनुका साथै अटोग्राफसमेत दिएका थिए । उनको खेललाई यहाँका समीक्षकहरूले समेत प्रशंसा गरिरहेका छन् ।

प्रकाशित : माघ २८, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?