कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा कप : अफ्रिकी टिम च्याम्पियन

दीपक परियार

लेखनाथ — न प्रशिक्षक न व्यवस्थापक, बेन्चमा जम्मा तीन खेलाडी । कप्तानको भरोसामा मैदानमा उत्रिएको अफ्रिकी देश क्यामरुनको फुटबल क्लब डफिन्सले अन्तत: छैटौं मनकामना केबुलकार पोखरा कपको उपाधि जितको छ ।

पोखरा कप : अफ्रिकी टिम च्याम्पियन

डफिन्स टिम फेमिलीले शारीरिक खेल पस्किँदै आइतबार विभागीय टिम एपीएफलाई १–० ले हराएर उपाधि जितेको हो ।


पोखरा रंगशालामा भएको फाइनलमा क्यामरुनका यान्निक ओवोनाले गोल गरे । खेलको ५४ औं मिनेटमा अर्मेल अहन्दाको प्रहारमा विपक्षी डिफेन्स सन्तोष कटवालले क्लियर गर्न खोज्दा बल यान्निकको खुट्टामा पुग्यो । उनले डिफेन्सलाई बिट गर्दै बल अगाडि बढाउँदै जाली चुमाए ।


पहिलो सहभागितामै उपाधि जितेपछि पोखराको मैदानमा डफिन्सले खुसियाली मनाएको थियो । जितसँगै पोखरामा उपाधि जित्ने डफिन्स दोस्रो अफ्रिकी टिम बन्यो । यसअघि आहा रारा गोल्डकपको तेस्रो संस्करणमा अफ्रिकन युनाइटेडले पुलिस क्लबलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।


प्रतियोगितामा च्याम्पियन भएको डफिन्सले ७ लाख ५५ हजार र उपविजेता एपीएफले ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । डफिन्सले पोखरा कपको अन्तिम १६ मा च्यासल युथ क्लब, क्वाटरफाइनलमा आर्मी र सेमिफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ–मस्र्याङ्दीलाई हराएर फाइनल यात्रा तय गरेको थियो । एपीएफले अन्तिम १६ मा हिमालयन शेर्पा, क्वाटरफाइनलमा थ्रीस्टार र सेमिफाइनलमा जापानको रिस्सो युनिभर्सिटीलाई पराजित गरेको थियो ।


फाइनल भने त्यति रोमाञ्चक भएन । वर्षातले एक दिन खेल स्थगित भएपछि शनिबारको सट्टा आइतबार धकेलिएको फाइनलले अपेक्षित दर्शक पनि पाएन । प्यारापिट भत्काइएको स्थानमा बसेर दर्शकले खेल हेरेका थिए । डफिन्सले मनाङलाई सेमिफाइनलमा सडनडेथमा हराएको थियो ।


एपीएफले जापानको रिस्सो युनिभर्सिटीको टिमलाई टाइब्रेकरमा पन्छाएको थियो । दर्शकले जापान र मनाङको खेल रुचाए पनि परिणाम त्यसविपरीत भएको थियो । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले रिस्सोविरुद्धको जितलाई ‘नसोचेको’ परिणाम भएको प्रतिक्रिया दिएका थिए ।


फाइनलमा दुवै टिमले राम्रा मुभ बनाउन सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा एपीएफका डिफेन्सको गल्तीको फाइदा उठाउँदै डफिन्सले बाजी मार्‍यो । दुवै टिमले पाएका कर्नर र फ्रिकिकको सदुपयोग गर्न सकेनन् । डफिन्सका यान्निक म्यान अफ द म्याच भए ।


डफिन्सका कप्तान जो एंगोलाले एपीएफसँगको खेल सहज नभएको बताए । ‘नेपाली फुटबल त्यति सजिलो छैन,’ उनले भने, ‘फास्ट गेम खेल्नु यहाँको राम्रो पक्ष हो ।’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले शारीरिक रूपमा आफ्ना खेलाडी डफिन्सभन्दा कमजोर भएको बताए । उनले विदेशी टिमसँग पराजय बेहोर्नुपरे पनि तुलनात्मक रूपमा अन्य नेपाली फुटबल क्लबभन्दा राम्रो खेलेको दाबी गरे ।


एपीएफका गोलकिपर राजु नगरकोटी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहाको मोटरसाइकल हात पारे । उनले रिस्सोविरुद्ध सेमिफाइनलमा एकपछि अर्को बचाउ गर्दै टिमलाई जित दिलाएका थिए । पेनाल्टी पनि रोकेका उनी प्रतियोगिताको उत्कृष्ट गोलकिपर पनि घोषित भए ।


उत्कृष्ट डिफेन्डर एपीएफकै रमेश दंगाल, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ, उत्कृष्ट स्ट्राइकर डफिन्सका यान्निक, उत्कृष्ट प्रशिक्षक एपीएफका राजेन्द्र तामाङ घोषित भए । उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।


आयोजक कास्की जिल्ला फुटबल संघले पोखराको फुटबल विकासमा योगदान दिएको भन्दै पोखराका उत्तम गुरुङलाई यामाहाको स्कुटर प्रदान गर्‍यो । संघको २५ हजार रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार नागरिक दैनिकका उमेश पुनले प्राप्त गरे ।

प्रकाशित : माघ २८, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?