महिला फुटबलमा भारतविरुद्ध नेपालको पहिलो जित

२–१ को जित नेपाली महिला फुटबल इतिहासमै पहिलो
कुशल तिमल्सिना

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध उसकै भूमिमा ऐतिहासिक जित निकालेको छ । भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबलमा घरेलु टिमविरुद्ध पाएको २–१ को जित नेपाली महिला फुटबल इतिहासमै पहिलो हो । 

महिला फुटबलमा भारतविरुद्ध नेपालको पहिलो जित

कालिंगा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार सुरुआती ७ मिनेटभित्रै २–० को अग्रता लिएको नेपालले भारतलाई खेलमा फर्कने अवसर नै दिएन । दुवै गोल मुख्य स्ट्राइकर सावित्रा भण्डारीले गरेकी हुन् । पाँचौं मिनेटमा हीराकुमारी भुजेलको पासमा सावित्राले भारतीय गोलरक्षक आदिती चौहानलाई छक्याउँदै गोल गरिन् । त्यसको दुई मिनेटपछि सावित्राले नै मनमाया लिम्बुको क्रस सदुपयोग गरेकी थिइन् ।


खेलको अन्त्यतिर भारतले एक गोल फर्कायो । रत्नावाला देवीले ८४ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेकी थिइन् ।


भारतको सिनियर टोलीविरुद्ध नेपालले नवौं खेलमा पहिलो जित निकालेको हो । यसअघि ७ खेलमा पराजित नेपालले एक खेल बराबरीमा रोकेको थियो । यसअघि सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुद (साग) को समूह चरण र फाइनलमा पराजित भएको नेपालले त्यही वर्ष साफ च्याम्पियनसिप फाइनल पनि भारतसँग पराजित भएर गुमाएको थियो ।


सन् २०१२ र २०१४ को साफ च्याम्पियनसिप फाइनलमा नेपाल फेरि भारतसँगै पराजित भएको थियो । सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागको समूह चरणमा गोलरहित बराबरी खेलेको नेपाल फाइनलमा भने पराजित हुँदै स्वर्ण पदकबाट चुकेको थियो । सन् २०१६/१७ मा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलमा पनि नेपालले भारतसँग हार बेहोरेको थियो ।


सोमबारको यो जितले चार टोलीसम्मिलित हिरो गोल्डकपमा नेपालको फाइनल पुग्ने सम्भावना पनि जीवितै भएको छ । नेपालले शनिबार पहिलो खेलमा म्यानमारसँग ३–० को पराजय बेहोरेको थियो ।


सबै टोलीले २–२ खेल खेल्दा म्यानमार दुवैमा जित हासिल गरी ६ अंकसाथ शीर्षस्थानमा छ । समान एक जित र एक हारको नतिजा भए पनि हेड टू हेडमा नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छन् । सोमबारै अर्को खेलमा म्यानमारसँग इरान २–० ले पराजित भएको थियो । इरानले पहिलो खेलमा भारतसँग १–० को हार बेहोरेको हो ।


फाइनल पुग्न नेपालले बुधबार हुने समूह चरणको अन्तिम खेलमा इरानलाई हराउनैपर्नेछ । तर, भारतले म्यानमारसँग पराजय बेहोरेको खण्डमा नेपाललाई बराबरीको नतिजा पनि पर्याप्त हुनसक्छ । इरानले नेपाललाई हराएमा वा भारत म्यानमारसँग पराजित भएको खण्डमा तीन टोलीको समान ३ अंक हुनेछ । गोलअन्तर आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित : माघ २८, २०७५ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?