२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

डीपीएल क्रिकेट : काठमाडौं गोल्डेन्सको सान

धनगढी — दुईपल्टको साबिक विजेता धनगढी स्टार्स उद्घाटन खेलमै पराजित भएको छ । काठमाडौं गोल्डेन्सले सोमबार तेस्रो रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिन सोमबार रोमाञ्चक खेलमा धनगढीलाई ४ विकेटले हरायो । 

डीपीएल क्रिकेट : काठमाडौं गोल्डेन्सको सान

टस हारेर ब्याटिङमा आएको धनगढीले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३२ रन बनायो । काठमाडौंलाई अन्तिम दुई बलमा विजयनिम्ति ४ रन आवश्यक थियो । भेट्रान महबुब आलमले आफ्नो अनुभव देखाउँदै प्वाइन्टको माथिबाट चौका प्रहार गरेर काठमाडौंलाई १ बलअघि जित दिलाए ।


‘खेल निकै उत्साहजनक भयो । हामी सजिलो स्थितिमा पुगिसकेका थियौं । २ ओभरमा ४ विकेट गुमाउन पुगेपछि त्यसले हामीलाई दबाब दियो । विक्रम भुसालले जसरी ब्याटिङ गरे, त्यसले हामीलाई खेल्न सजिलो भयो,’ काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले भने, ‘विकेट अलिकति खेल्न गाह्रो नै थियो । प्रतिओभर ९–१० रन बनाउनुपर्ने स्थितिमा जाँदा हामीले मौका पनि लिन खोज्यौं । त्यसमा विकेट गयो । रोहन मुस्ताफाजस्ता अनुभवी खेलाडीले विकेटको स्थितिअनुसार बलिङ पनि गरे । त्यसले धनगढीलाई जित नजिक पनि पुर्‍यायो ।’


लक्ष्य पछ्याउनेक्रममा काठमाडौंको सुरुआत राम्रो थियो । गौरव तोमारले २४ बलमा २८ रन बनाए । ३ चौका र २ छक्का प्रहार गरेका उनी छैटौं ओभरमा आउट भए । जतिखेर काठमाडौंले ३२ रन जोडिसकेको थियो । उनको ओपनिङ जोडी अनिलकुमार साहले ४० बल खेली २ चौका प्रहार गरी २४ रन बनाए । यसबीचमा अंकित दवास २९ रन बनाई रोहन मुस्ताफाको बोल्ड भइसकेका थिए भने अमिर हायतले ज्ञानेन्द्रको स्टम्प उडाइदिएका थिए । दबासले २३ बल खेली समान २ चौका र २ छक्का प्रहार गरी २९ रन बनाए । ज्ञानेन्द्रले ३ रनमात्र जोड्न सके ।


हायतसँगै यूएईका अर्का खेलाडी मुस्ताफाले अनिल, दबास, सोनु तामाङ (२) र योगेन्द्रसिंह कार्की (२) लाई आउट गरेपछि काठमाडौंले ३ ओभरको अन्तरमा १५ रन बनाउनेक्रममा ५ विकेट गुमाएपछि खेल रोचक बनेको थियो । विक्रम भुसालले १७ र १८ औं ओभरमा क्रमश: पवन र कप्तान सोमपाल कामीलाई १–१ छक्का प्रहार गरेको अवस्थामा महबुबले विजयी चौका प्रहार गरे । विक्रम १० बलमा १४ र महबुब १० बलमा १२ रन बनाई अविजित रहे ।


यूएईका कप्तान मुस्ताफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । हायत र विपिन खत्रीले १–१ विकेट लिए । आफ्नो टोलीले गल्ती धेरै गरेकाले हार्न पुगेको धनगढीका कप्तान सोमपालले बताए । ‘ट्वान्टी–२० सानो संरचनाको खेल हो, त्यसमा गल्ती गरेपछि सच्चिने अवसर कम हुन्छ । हामीले गल्ती धेरै नै गरेका थियौं । त्यसैले आज पनि हामी जितको हकदार पनि थिएनौं । विकेटकिपिङ खासै राम्रो भएन, त्यसमा उसलाई दोष दिन मिल्दैन, विकेट निकै टर्निङ थियो । विकेटकिपरलाई पनि सजिलो थिएन,’ सोमपालले हारको कारण सुनाए ।


धनगढीको सुरुआत राम्रो थिएन । खेलको तेस्रो बलमै मुस्ताफा पुस गरेर आफ्नो कलमा अगाडि बढ्दा सुनील धमलाले फर्काइदिएपछि स्ट्राइक एन्डमा सोनुबाट रनआउट हुन पुगे । सुनील पनि धेरै टिकेनन् । उनी ३ रन बनाई नन्दन यादवको बलमा आउट भए । अमित श्रेष्ठ र सन्दीप रजाइलीले तेस्रो विकेटमा ५२ रन जोडे । सन्दीपले ३५ बल खेलेर ४ चौकासाथ २८ रन बनाई ललितनारायण राजवंशीले आफैंबाट क्याच गराए ।


अमित ५० रन बनाई नन्दनको बलमा बोल्ड भए । ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । पवन १९ रनमा आउट भए । सौरभ खनाल १० बलमा २५ रन बनाई अविजित रहे । उनले इनिङ्सको अन्तिम ओभरमा रशिद खानलाई ३ चौकासाथ १७ रन प्रहार गरे ।


टिम चौराह धनगढीको नामबाट खेल्दै घरेलु टोलीले यसअघिको दुवै संस्करण जितेको थियो । तर फ्रेन्चाइजको स्वामित्वमा परिवर्तन आएसँगै टोली यसपालि धनगढी स्टार्सको नामबाट खेलेको हो ।


रूपन्देहीलाई सफलता

दोस्रो खेलमा रूपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडमाथि २ रनको जित हात पार्‍यो । टस जितेर ब्याटिङ रोजेको रूपन्देही फाप्ला मैदानमा निर्धारित २० ओभर खेलेर १ सय ११ रनमा अलआउट भयो । जवाफमा आएको महेन्द्रनगरले ८ विकेट गुमाई १ सय ९ रनमात्र बनाउन सक्यो ।


बलियो मानिएको महेन्द्रनगरबाट सुब्रमन्यम आनन्दले २५, रोहित पौडेलले २४ र मोहम्मद नाभेदले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । जबकि ललितसिंह भण्डारीले पहिलो ओभरमा २ वाइड चौकासहित ११ रन खर्चिंदा महेन्द्रनगरको जित सहज देखिएको थियो ।


ओपनिङमा आएका कप्तान शरद भेषावकर ४, दिलीप नाथ ८, कुशल मल्ल ९, आरिफ शेख ५ र सिद्धान्त लोहनी शून्यमा आउट भएपछि महेन्द्रनगर दबाबमा परेको थियो । म्यान अफ द म्याच विक्रम सोबले शरद, रोहित र सिद्धान्तको विकेट लिनेक्रममा ३ ओभरमा २४ रन खर्चे । पुनीत मेहराले ४ ओभरमा १३ रनमात्र खर्चेर २ विकेट लिए । कप्तान वसन्त रेग्मी अझ असाधारण देखिए । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए । ललित र कृष्ण कार्कीले पनि १–१ विकेट लिए ।


यसअघि रूपन्देहीको ब्याटिङ पनि सहज देखिएन । प्रदीप ऐरी १ रनमै आउट भए । १ चौका र ११ छक्का प्रहार गरेका बाबर हायतले १३ बलमा १४ रन बनाए । सन्दीप सुनारले १८ बल खेली २ चौका प्रहार रन बनाए । उनलाई सागर ढकालले फाइन लेगबाट रनिङ थ्रोमा रनआउट गरे । विनोद भण्डारीले १ चौका र २ छक्का प्रहार गर्दै १९ रन बनाए । पुनीत ३, भीम सार्की २ र वसन्त शून्यमा आउट भएपछि संकटमा परेको रूपन्देहीको इनिङ्सलाई युवा ब्याट्सम्यान सुमित महर्जनले उकासे । ३५ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे ।


विक्रम सोबले १० बल खेली १ चौका र १ छक्का प्रहार गरेर अविजित १६ रन बनाए । स्पिनर सिद्धान्तले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सागर ढकालले ४ ओभरमा २० र अविनाश बोहराले ३ ओभरमा १८ रन खर्चेर २–२ विकेट लिए । १ विकेट शरदको नाममा रह्यो ।


निर्धारित तालिकाअनुसार डीपीएल शनिबार सुरु हुने कार्यक्रम थियो । तर वर्षाका कारण प्रतियोगिता दुई दिन पछाडि धकेलिँदा सोमबार सुरु भएको हो । डीपीएल उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिलामन्त्री झपट बोहरा, धनगढी उपमहानगरपालिकाका मेयर नृपध्वज बडले गरेका थिए ।

प्रकाशित : माघ २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?