च्याम्पियन्स लिग : टोटेनहम प्रभावशाली

एएफपी

लन्डन — युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमन्डविरुद्ध ३–० को जित हासिल गरेर क्वाटरफाइनल यात्राका लागि बलियो आधार तयार पारेकोमा टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खुसी व्यक्त गरेका छन् ।

च्याम्पियन्स लिग : टोटेनहम प्रभावशाली

घरेलु मैदान वेम्बलीमा डर्टमन्डले पहिलो हाफ नियन्त्रणमा राखेको थियो । तर टोटेनहमका गोलरक्षक ह्युगो लोरिस केही उत्कृष्ट बचाउ गरी आफ्नो स्तरको प्रदर्शन कायम राख्न सफल भए ।


दोस्रो हाफको सुरुमै दक्षिण कोरियाली सन ह्युङ मिनले गोल गरी घरेलु टोलीलाई अग्रता दिलाए । पछिल्लो चार खेलमा उनको चौथो गोल हो भने सिजनको १६ औं गोल हो । डिफेन्डर जान भर्टोगानले दोस्रो गोल गर्दा वैकल्पिक खेलाडी फर्नान्डो लोरेन्टले निर्णायक गोल गरेपछि टोटेनहमको प्रभावशाली नतिजा निस्कियो ।


व्यस्त कार्यतालिकाका बाबजुत पनि सिजनकै उत्कृष्ट प्रदर्शन गर्न सफल भएकोमा प्रशिक्षक पोचेटिनोले सबै खेलाडीलाई बधाई दिए । ‘म सबै खेलाडीलाई बधाई दिन चाहन्छु । यो एक सानदार खेल थियो । एउटा ठूलो प्रयास थियो,’ उनले भने, ‘मेरा खेलाडी हिरो हुन् । यस सिजन उनीहरूले गरेको प्रयास प्रशंसनीय र यो आश्चर्यजनक छ ।’


टोटेनहमले क्वाटरफाइनल प्रवेश निश्चित गराउन मार्च ५ मा डर्टमन्डको घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ । त्यस खेल आफूअनुकूल नतिजा निस्किएमा टोटेनहम सन् २०११ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्नेछ ।



फरक खेलमा गोल गरेका रियल म्याड्रिडका करिम बेन्जेमा ।


च्याम्पियन्स लिग इतिहासमा पहिलोपल्ट भिडियो असिस्टेन्ट रेफ्री (भार) प्रयोग गरिएको खेलमा रियल म्याड्रिडले अयाक्सविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ । अयाक्सले २४ वर्षको इतिहासमा अहिलेसम्म रियललाई हराउन सकेको छैन । योहान क्राएफ एरिनामा बुधबार रियलका गोलरक्षक थियावट कोर्टवाको गल्तीमा डिफेन्डर निकोलास टाग्लिया–फिकोले गरेको हेडरमार्फत घरेलु

टोलीलाई अग्रता दिलाएका थिए ।


तर रेफ्री दामिर कोमिनाले उनको गोललाई मान्यता दिएनन् र भारको प्रयोग गरी अफसाइड करार गरे । पहिलो हाफमा युवा खेलाडीले भरिएको अयाक्सविरुद्ध रियल प्रभावशाली देखिएको थिएन । दोस्रो हाफमा भने करिम बेन्जेमा र एसेन्सियोले गोल गरे ।


हाकिम जियेचले अयाक्सका लागि एक गोल फर्काएका थिए । अयाक्सले दोस्रो लेग सान्टियागो बेर्नाबेउमा खेल्नेछ तर घरेलु मैदानमा २–१ को हारले रियल धेरै अघि बढिसकेको छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?