२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

उपाधि परीक्षामा नेपाल

नेपाल–म्यानमार हिरो गोल्डकप फाइनल भिड्दै
राजु घिसिङ

काठमाडौँ — फिफा वरीयतामा नेपालभन्दा ४८ स्थानमाथि थियो इरान । यी इस्लामिक देशको टिममाथि ३–० को जितसँगै अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेपछि हिरो गोल्डकप फुटबलको फाइनलमा नेपालको भाग्य खुलेको थियो ।

उपाधि परीक्षामा नेपाल

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्का वरीयतामा सबैभन्दा तल रहेर पनि ‘अन्डरडग’ को रूपमा अघि बढेर फाइनल पुग्नुमा खेलाडीको मिहिनेतसँगै भाग्यको साथ महत्त्वपूर्ण रहेको बताउँछन् ।


सहभागी टिमहरूको स्तर र वरीयताको तुलनामा साफ च्याम्पियनसिपभन्दा स्तरीय प्रतियोगिता हो हिरो गोल्डकप । त्यसैले यसमा नेपाललाई सबैभन्दा कमजोर मानिएको थियो । भारतको भुवनेश्वरमा भइरहेको प्रतियोगिताको पहिलो खेलमै नेपालले म्यानमारविरुद्ध ३–० को हार बेहारेको थियो । फिफा वरीयतामा ४४ औं स्थानको म्यानमार गोल्डकपमा उपाधिको सबैभन्दा बलियो दाबेदार हो । इरान ६०, भारत ६२ र नेपाल १ सय आठौं वरीयतामा छन् । म्यानमारको समूह चरणमा शतप्रतिशत जितले पनि नेपालको फाइनल यात्रा सहज बनाइदियो ।


नेपालले दोस्रो खेलमा दक्षिण एसियाली महारथी भारतलाई २–१ ले हराएको थियो । सात मिनेटभित्रै सावित्रा भण्डारीले दुई गोल गरेपछि छिमेकीविरुद्ध नेपालले ऐतिहासिक जित रचेको थियो । नेपालले दसौं खेलमा आएर भारतलाई हराएको हो । अघिल्ला नौ मध्ये आठ खेलमा नेपाली टिम हारेको थियो र एक खेल बराबरीमा टुंगिएको थियो । त्यससँगै नेपाली राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबलमा ५० औं खेलको कोसेढुंगा पार गरेको थियो ।


फरवार्ड सावित्राको दुई र अनिता बस्नेतको एक गोलसँगै नेपालले इरानको चुनौती ३–० ले पन्छाउँदै फाइनल पुग्ने आधार तय गरेको थियो । नेपालको उपाधि होडलाई भारतमाथि म्यानमारको सफलताले पूर्णता दियो । त्यसैले नेपालले कालिंगा रंगशालामा शुक्रबार त्यही म्यानमारविरुद्ध फाइनल खेल्दै छ । उपाधि होडमा नेपाली चेलीहरूको जोस र म्यानमारको स्तरबीच प्रतिस्पर्धा हुनेछ ।


उत्कृष्टविरुद्ध जोस

फाइनलमा नेपाल र म्यानमारको खेललाई उत्कृष्ट टिम र जोसिला खेलाडीबीचको प्रतिस्पर्धा भने फरक पर्दैन । ‘कौशल, शारीरिक क्षमता, टेक्निक, ट्याक्टिस अर्थात् सबै हिसाबले म्यानमार हामीभन्दा अलि राम्रो छ,’ प्रशिक्षक खड्काले भने, ‘तर हाम्रा खेलाडीमा जोस छ । स्पिरिट राम्रो छ । भारतलाई उसैको घरेलु मैदानमा पराजित गरेपछि मनोबल उच्च भएको छ । त्यही जोसले इरानविरुद्ध काम गर्‍यो । यस लयलाई फाइनलमा पनि कायमै राख्ने प्रयास गरेर जितका लागि खेल्नेछौं ।’


विशेषत: म्यानमारका प्लेमेकर कप्तान र एक फरवार्ड उत्कृष्ट भएको उल्लेख गर्दै प्रशिक्षक खड्काले भने, ‘ती दुई निकै उत्कृष्ट छन् र हामीसामु उनीहरूलाई रोक्ने चुनौती छ । हामी विपक्षीलाई खेल्ने समय र स्थान नदिने योजनासहित फाइनल खेल्नेछौं ।’ विपक्षीको कमजोरीबारे उनले भने, ‘म्यानमारको आक्रामक संगठित छ र हामीले त्यसलाई रोक्नुपर्छ । उसका खेलाडी पछाडि फर्किन भने अलि ढिलाइ गरिरहेका हुन्छन् । उनीहरूको त्यही कमजोरीको फाइदा लिन हामी सावित्रालाई एक्लो फरवार्ड राखेर काउन्टर अट्याकमा अघि बढ्ने छौं ।’


नेपाल र म्यानमार चार महिनायता तेस्रोपल्ट भिड्न लागेका हुन् । नोभेम्बर, २०१८ मा म्यानमारको राजधानी यांगुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यानमारलाई १–१ मा रोकेको थियो । तर त्यसलाई नेपालले हिरो गोल्डकपको पहिलो खेलमा निरन्तरता दिन सकेन । फाइनलमा फेरि म्यानमारलाई रोक्ने प्रयास गर्ने प्रशिक्षक खड्काले बताए । नेपाल र म्यानमार ओलम्पिक छनोटको दोस्रो चरणमा फेरि अप्रिल, २०१९ मा पनि भिड्नेछन् ।


‘हामी फाइनलमा अलि रणनीति बदलेर खेल्नेछौं,’ मार्च २०१९ मा विराटनगरमा हुने साफ च्याम्पियनसिप तयारीका लागि गोल्डकपमा सहभागी हुन भुवनेश्वर पुगेको नेपाली टिमको फाइनल तयारीबारे प्रशिक्षक खड्काले भने, ‘हामीले पहिला गोल खाएनौं भने जित्न सक्छौं किनभने सुरुमै गोल खायौं भने हाम्रा खेलाडीले सन्तुलन गुमाउने गरेका छन् । त्यसैले बहादुरीपूर्ण खेललाई निरन्तरता दिएर उपाधि जित्न चाहन्छौं ।’


छरिता देखिने म्यानमारका खेलाडीको तीव्र गतिको खेलले नेपाली डिफेन्सलाई दु:ख दिनसक्छ । यस्तो टिमविरुद्ध प्रशिक्षक खड्काले ४–५–१ संरचनाको टिमलाई नै फाइनलमा उतार्ने अपेक्षा गरिएको छ । उनलाई राइट–ब्याकमा सुस्त प्रदर्शनले टाउको दुखाउन सक्छ ।


सावित्राको लय

चार गोल गरेकी सावित्रा गोल्डकपकी सर्वाधिक गोलकर्ता हुन् । उनले अन्तर्राष्ट्रिय गोलसंख्या २२ पुर्‍याएकी छन् । नेपालको सर्वाधिक गोल गर्ने सूचीमा उनी अनु लामा (३५ गोल) र पूर्व कप्तान जमुना गुरुङ (२५ गोल) भन्दा पछाडि छन् । ‘सावित्रा दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्,’ प्रशिक्षक खड्काले भने, ‘उनको उपस्थितिले टिममा ठूलो फरक पार्छ ।’


सावित्रा र निरु थापाको मांसपेसीमा केही समस्या देखिएको छ । निरुलाई इरानविरुद्ध आराम दिइएको थियो । सावित्रा पनि फाइनलमा पूर्ण रूपमा तयार हुने खड्काले बताए ।


सम्भावित नेपाली टिम

गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, डिफेन्समा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, मनमाया लिम्बु, मिडफिल्डमा मन्जलीकुमारी योन्जन, दीपा राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत तथा फरवार्डमा सावित्रा भण्डारी ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?