२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नेपाली टिम हिरो गोल्डकपको फाइनलमा रोकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला राष्ट्रिय टिम भुवनेश्वरमा भएको हिरो गोल्डकप फुटबलको फाइनलमा रोकिएको छ । कालिंगा रंगशालामा शुक्रबार भएको फाइनलमा म्यान्मारविरुद्ध ३–१ ले हारेपछि नेपाल उपविजेतामा सीमित भएको हो ।

नेपाली टिम हिरो गोल्डकपको फाइनलमा रोकियो

फिफा वरीयतामा ६४ स्थानमाथिको टिमविरुद्ध नेपाल ३८ औं मिनेटमा पछटाडि परेको थियो । यी यी ओको गोलमा म्यान्मारले अग्रता लिएको थियो । तर, मन्जली कुमारी योन्जनले ४५ औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफ १–१ मा टुंग्याएको थियो ।


दोस्रो हाफमा पनि नेपालको प्रदर्शन गतिलो रहेन । र,वीन थेन्गी तुनले ५३ औं मिनेटमा गोल गरेर फेरि म्यान्मारलाई २–१ को अग्रता दिलाइन् । यी यी ओले ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै म्यान्मारको उपाधि पक्का गरिदिइन् ।


समूह चरणको पहिलो खेलको भेटमा पनि म्यान्मारले नेपाललाई हराएको थियो । त्यस बेला म्यान्मारले ३–० को जित निकालेको थियो । म्यान्मार शतप्रतिशत जितसहित फाइनल पुगेको थियो भने नेपालले पछिल्ला दुई खेलमा घरेलु टिम भारतलाई २–१ र इरानलाई ३–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । भारतविरुद्धको ऐतिहासिक जित र इरानविरुद्ध दुई–दुई गोल गरेकी फरवार्ड सावित्रा भण्डारीले फाइनलमा उस्तै लयलाई निरन्तरता दिन सकिनन् ।


प्रकाशित : फाल्गुन ३, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?