२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पुलिस सडनडेथको सिकार

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाल पुलिस क्लबलाई सडनडेथमा रोक्दै क्यामरुनी टिम डफिन्स पहिलो सहभागितामै २१ औं रेडबुल बुढासुब्बा गोल्डकप फुटबलको उपाधि दाबेदार बनेको छ । विजेता डफिन्सले शनिबार फाइनलमा आयोजक धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । सुरुआती ५–५ पेनाल्टी बराबरी भएपछि सडनडेथका आधारमा खेलको निर्णय गराइएको थियो । जहाँ चारपल्टको पूर्व विजेता पुलिस रोकिएको छ । शनिबार उपाधी भिडन्तमा डफिन्सले आराम नपाएकाले आयोजकसँग गर् या मर्को रणनीतिमा उत्रने छ ।


९० मिनेटभर दुवै टोलीले गोल गर्न सकेन । टाइब्रेकरमा ५–५ गोलकै बराबरी भयो । सडनडेथमा पुलिसका विक्रम धिमालको प्रहार डफिन्सका गोलरक्षक प्रिसो एन्जामाले बचाए भने त्यसअघि डफिन्सकै जो एंगोलाले गोल गरेर टोलीलाई सुरक्षित पारेका थिए ।

टाइब्रेकरमा पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ, भरत साह, तीर्थ रानामगर र हरि कठायतले गोल गरे । क्यामरुनी टोलीका सिलो मार्टिन, पेटाङना, वियिक वियिक, एब्विन र यानिक ओबामाले गोल गरे । डफिन्सले पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबलाई हराएको थियो । पुलिसले भने सहारा क्लब पोखरालाई सडनडेथमा हराएको थियो ।


पुलिसले धरानमा २० औं संस्करण आइपुग्दा ९ पटक फाइनल खेलेको छ । चारपल्ट उपाधि जितेको पुलिस पाँचपल्ट उपविजेतामा समेटिएको छ । पुलिसले जारी सिजनमा सर्वाधिक धनराशिको खप्तड गोल्डकप जितेको थियो ।


शारीरिक रूपमा अग्ला र बलिया क्यामरुनी खेलाडीविरुद्ध पुलिसले रणनीतिक र प्राविधिक खेल प्रदर्शन गरेको थियो । १० औं मिनेटमा मानबहादुर परियारको पासमा नीरकुमार राईले बक्स एरियामा प्राप्त बललाई प्रहार गर्न ढिलो गर्दा डिफेन्सले क्लियर गरिदिए । पहिलो हाफको इन्ज्युरी समयमा रवि पासवानको प्रहार क्यामरुनी गोलरक्षकले बचाए ।


दोस्रो हाफमा नीरकुमारको कर्नरमा रविले हानेको बल पोस्ट माथिबाट बाहिरियो । डफिन्सले खेल अवधिभरमा पटक–पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन । १२ औं मिनेटमा यनिक ओबामाको सशक्त प्रहार गोलरक्षक शत्रुधन चौधरीले पन्च गरे । ३८ औं मिनेटमा ओको बोटाको लामो प्रहार बाहिरिएको थियो ।


पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीले मैदानमा राम्रो प्रदर्शन गरेको भए पनि अन्तिममा भाग्यले साथ नदिएको बताए । उनले भने, ‘शारीरिक रूपमा सशक्त क्यामरुनविरुद्ध राम्रो खेले तर अन्तिममा भाग्यले साथ दिएन ।’


डफिन्सका प्रशिक्षक ओरेल इमेनले दुवै टिमले राम्रो खेलेको बताए । उनले खेलभर आफ्ना खेलाडीले गोल गर्न सजिलो अवसर नपाएको बताउँदै सडनडेथ आफ्नो पक्षमा आएकाले उपाधि दाबेदार बन्न सफल भएको सुनाए ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?