कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बढ्दो आत्मविश्वास : महिला क्रिकेट टोली थाइल्यान्ड जाने

कुशल तिमल्सिना

काठमाडौँ — थाइल्यान्ड वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेटमा अपराजित रहँदै गत महिना नेपाली राष्ट्रिय क्रिकेट टोली फाइनल पुगेको थियो । उपाधि भिडन्तमा घरेलु टोलीसँग ठूलो अन्तर (७०) ले पराजित भयो । त्यही थाइल्यान्ड सोमबार सुरु हुने ट्वान्टी–२० र एकदिवसीय विश्वकपको एसियाली छनोटमा नेपालको प्रमुख प्रतिद्वन्द्वी हुनेछ ।

बढ्दो आत्मविश्वास : महिला क्रिकेट टोली थाइल्यान्ड जाने

नेपालका प्रशिक्षक विनोद दासले टोलीको प्राविधिकभन्दा रणनीतिक सुधारमा समय खर्चेका छन् । बढ्दो आत्मविश्वास बोकेर नेपाली टोली शनिबार आयोजनास्थल थाइल्यान्ड जाँदैछ । नेपाल र थाइल्यान्डसँगै एसियाली छनोटमा मलेसिया, यूएई, चीन, कुवेत र हङकङ प्रतिस्पर्धामा उत्रने छन् । विजेता टोली विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछ ।

‘ट्वान्टी–२० स्म्यासकै प्रदर्शनमा आधारित रहेर हामीले आसन्न प्रतियोगितालाई तयारी गरेका छौं । टेक्निकल पाटो सुधार्न हामीसँग कम समय भयो । रणनीतिक रूपमा जुन तयारी गरेका छौं त्यसबाट हाम्रा खेलाडीमा जस्तोसुकै टिमलाई पनि हराउनसक्ने आत्मविश्वास आएको छ । त्यो नै टिमको बलियो पक्ष हो,’ राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका दासले भने ।

ट्वान्टी–२० स्म्यासमा नेपालले चीन, मलेसिया, यूएई र इन्डोनेसियाविरुद्ध निकै सहज जित पाएको थियो । एसोसिएट टोलीमध्ये उत्कृष्ट प्रदर्शन गरिरहेको थाइल्यान्डविरुद्ध निरीह हुनुमा बढी आत्मविश्वासको कमजोरी रहेको तथ्य दासले बुझेका थिए । प्रशिक्षक दास त्यसैमा केन्द्रित रहे । उनले आफ्नो अनुभव प्रयोग गरे । त्यसबाट उनले टोलीमा सकारात्मक छाप परेको पाएका छन् । भन्छन्, ‘खेलाडीमा हामी कोहीभन्दा कमजोर छैनौं भन्ने भावना जागृत भएको छ ।’

थाइल्यान्ड नेपालका लागि नयाँ प्रतिस्पर्धी होइन । तर जहिल्यै पनि थाइल्यान्डविरुद्धको खेलअघि आफूहरूमा नकारात्मक सोचले डेरा जमाउने गरेको कप्तान रुबिना सुनाउछिन् । उनी भन्छिन्, ‘सबै जना ओ हो, थाइल्यान्ड पो १ भन्थे । अहिले विनोद दाइले हाम्रो त्यही डर हटाउन धेरै प्रयास गर्नुभएको छ । हामी पनि थाइल्यान्डजस्तै प्रतिस्पर्धी हौं । उसलाई हराउनै नसक्ने खालको होइनौं भन्नेमा पुगेका छौं । यो सकारात्मक पक्ष हो । फेरि दुई महिनादेखि हामी प्रशिक्षणमै पनि छौं ।’

चीन, यूएई पनि नेपालका लागि सजिलो प्रतिद्वन्द्वी होइनन् । दुई वर्षअघि भएको यही छनोटबाट शीर्ष दुई टोली ट्वान्टी–२० विश्वकप छनोटमा पुगेका थिए । थाइल्यान्डसँगको नियमित हारबाहेक नेपाललाई यूएईले पनि स्तब्ध पारेको थियो । यूएईसँग नेपालको त्यो पहिलो हार थियो ।

नेपालसँगको निर्णायक जित पाएपछि यूएई इतिहास रच्दै थाइल्यान्डसँगै विश्वकप छनोटमा छानिएका थियो ।

बलिङ पक्ष नै नेपाली महिला टिमको पनि बलियो हो । दासले टेक्निकल रूपमा बलिङलाई पनि सुधारको प्रयास गरेका छन् । प्रतियोगितामा मुख्य प्रतिद्वन्द्वीको रूपमा हेरिएको थाइल्यान्डलाई केन्द्रित गरी नेपालले तयारी गरेको छ ।

‘ट्वान्टी–२० स्म्यासअघि हामीले तीन साताजति प्रशिक्षण गरेका थियौं र त्यसकैनिरन्तरताका रूपमा यो क्याम्प हो । मुख्यत: थाइल्यान्डको बलिङ एट्याक हेरेरै हामीले तयारी गरेका छौं,’ प्रशिक्षक दासले भने, ‘महिला क्रिकेटमा १ सय रनभन्दा माथिको स्कोर सम्मानजनक हुन्छ, पछिल्ला ८/१० इनिङ्समध्ये धेरैजसोमा हामीले त्यहीअनुसार प्रदर्शन गर्न सक्षम भएका छौं, अभ्यासमा पनि त्यसैलाई केन्द्रित गरेका छौं । आगामी खेलमा पनि ब्याट्सवुमनले त्यसलाई निरन्तरता दिनेछन् भन्ने अपेक्षा हो ।’

उपकप्तान सीता रानामगर र अनुभवी खेलाडी नेरी थापाको चोटले टोली चिन्तित छ । प्रशिक्षक दासले उनीहरूको चोट गम्भीर नरहेको र प्रतियोगितासम्म फिट भइसक्ने सुनाए । सीतालाई अभ्यासका क्रममा गोलीगाँठामा चोट लागेको थियो । नेरीको घुँडाको समस्या छ ।

आसन्न प्रतियोगिता सन् २०२० मा हुने ट्वान्टी–२० विश्वकप र २०२१ मा हुने एकदिवसीय विश्वकपको छनोट हुने सुरुआती खुटकलो हो । त्यसमा नेपाल च्याम्पियन हुने लक्ष्यमा छ । खेलाडीहरूले बुझेका छन् कि एकपछि अर्को प्रतियोगितामा राम्रो गरेर मात्र सुविधा बढ्नेछ ।

कप्तान रुबिनाले भनिन्, ‘दुवै विश्वकपका लागि एउटै छनोट भएकाले हामीलाई यो प्रतियोगिता धेरै महत्त्वपूर्ण छ । राम्रो खेलेर सकारात्मक नतिजा नल्याएसम्म हामीले राम्रो सुविधा पाउने छैनौं भन्ने बुझेका छौं र सबै नकारात्मक कुरा थाँती राखेर सकारात्मक नतिजालाई हामी एक भएका छौं,’ कप्तान रुबिनाले दुवै विश्वकपका लागि ढोका खुल्ने प्रतियोगितामा दबाबसँगै अवसरका रूपमा लिएको बताइन् । प्रतियोगिताका लागि शुक्रबार आईसीसीले नेपाली टोली घोषणा गरेको छ । टिममा एक परिवर्तन भएको छ । मध्यक्रमकी ब्याट्सवुमन डली भट्टको स्थानमा झापाकी अप्सरी बेगमले स्थान बनाएकी छन् ।


‘रोड टु विश्वकप’

‘आईसीसी वुमन्स एसिया क्वालिफायर’ मा नेपाल र थाइल्यान्डसँगै चीन, हङकङ, मलेसिया, कुवेत र यूएई छन् । यो प्रतियोगिता सन् २०२० मा अस्ट्रेलियामा हुने वुमन्स ट्वान्टी–२० विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा हुने वुमन्स एकदिवसीय विश्वकपको सुरुआती खुड्किलो हो ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी १९ मा मलेसियाविरुद्ध खेल्नेछ । फेब्रुअरी २१ मा थाइल्यान्ड र २२ मा यूएईविरुद्ध खेल्नेछ । फेब्रुअरी २४ मा हङकङ, २५ मा चीन र २७ मा कुवेतविरुद्ध खेल्नेछ । घरेलु टोली थाइल्यान्डविरुद्धको खेल नेपालका लागि निर्णायकजस्तै हुनेछ । थाइल्यान्डको बैंककस्थित टर्ड थाई क्रिकेट मैदान र एसियन इन्स्टिच्युट टेक्नोलोजी मैदानमा प्रतियोगिताका खेल हुनेछन् । यही मैदानमा नेपालले थाइल्याण्ड वुमन ट्वान्टी–२० स्म्यास खेलेको थियो ।

यो प्रतियोगिताको विजेता टोलीले यसै वर्षको अन्तिमतिर हुने ट्वान्टी–२० विश्वकपका लागि ग्लोबल छनोट र सन् २०२० मा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछ ।

एसिया छनोटसहित अफ्रिका, युरोप, अमेरिका र ओसियाना गरी ५ क्षेत्रीय छनोटमा २७ टिमले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटका शीर्ष टोलीबीच ग्लोबल छनोट पुग्नेछन् । क्षेत्रीय छनोटमा एसियाबाट ७, अफ्रिकाबाट ९, ओसियानाबाट ६, अमेरिकाबाट २ र युरोपबाट ३ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

क्षेत्रीय छनोटबाट आएका ५ शीर्ष टिम, गत विश्वकपको अन्तिममा रहेका २ टिम र ग्लोबल छनोटको आयोजक राष्ट्र गरी ८ टिमबीच ग्लोबल क्वालिफायर हुनेछ । ग्लोबल क्वालिफायरका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । गत विश्वकपमा बंगलादेश र आयरल्यान्ड अन्तिममा थिए । ट्वान्टी–२० र एकदिवसीय दुवै विश्वकपका लागि छनोट विधि यही हो ।

आईसीसीले एसोसिएट राष्ट्रमा एकदिवसीय गतिविधि कम हुने भएकाले ट्वान्टी–२० क्षेत्रीय छनोटलाई नै विश्वकपको सुरुआती छनोट प्रक्रियाका रूपमा मान्यता दिएको प्रस्ट पारेको छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?