कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला क्रिकेटमा अर्को फ्रेन्चाइज लिग

कान्तिपुर संवाददाता

काठमाडौँ — एक दिनकै अन्तरमा नेपालमा दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट घोषणा भएको छ । वुमन्स च्याम्पियन्स लिग घोषणा भएको भोलिपल्ट शुक्रबार एनसीएल वुमन्स टान्टी–२० क्रिकेट लिगको घोषणा गरिएको छ । दुईबीचको फरक भने एउटा काठमाडौंमा हुँदा अर्को मोरङमा गरिनेछ । 

एनसीएल स्पोर्टस् प्रालिले चैत १ देखि ९ सम्म विराटनगरको वैजनाथपुर मैदानमा वुमन्स टान्टी–२० क्रिकेट लिग आयोजना गर्ने घोषणा गरेको छ । फ्रेन्चाइज टिमको नाम घोषणा नगरे पनि लिगमा चार टिमको सहभागिता निश्चित भएको छ ।


चार टोलीबीच लिग खेल खेलाइने छ । शीर्ष टोली फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोलीबीचको इलिमिनेटर खेलको विजेता फाइनलमा पुग्नेछ । अक्सनमार्फत टिम तयार पारिने आयोजकका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिए ।


राष्ट्रिय खेलकुद परिषद्को अनुमति लिएर आयोजना गर्न लागिएको प्रतियोगिताको बजेट तथा पुरस्कार रकम सार्वजनिक गरिएको छैन । एकपछि अर्को फ्रेन्चाइज लिग घोषणा हुनु नेपाली महिला क्रिकेटका लागि सकारात्मक रहेको राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले बताइन् ।


‘एक दिनबीचमा दुई फ्रेन्चाइज लिगको घोषणा हुनुले हामी निकै उत्साही छौं । यस्ता प्रतियोगिताले हामीले धेरैभन्दा धेरै एक्सपोजर पाउने छौं र घरेलु क्रिकेटको स्तरोन्नतिका साथै राष्ट्रिय टिम निर्माणमा पनि सहयोग पुग्नेछ,’ शुक्रबार पत्रकार सम्मेलनमा रुबिनाले भनिन् । महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक विनोद दासले महिला क्रिकेटको दुई लिग घोषणा हुनु सकारात्मक भएको र यसलाई व्यवस्थित गर्न सकेमा महिला क्रिकेट विकासमा ठूलो सहयोग हुने बताए ।


बिहीबारमात्र क्विन्स इभेन्ट प्रालिको आयोजनामा वुमन्स च्याम्पियन्स लिग घोषणा भएको थियो । त्रिवि मैदानमा आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता हुने भनिए पनि अन्य प्राविधिक पक्ष सार्वजनिक गरिएको छैन ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?