तिलोत्तमा गोल्डकप फुटबल : ४२ वर्षमा २१ औं संस्करण

अमृता अनमोल

बुटवल — मोफसलको चर्चित र पुरानो फुटबल प्रतियोगिता मानिन्छ तिलोत्तमा गोल्डकप । साबिक बुटवल नगरपालिकाको संरक्षकत्वमा ०३१ सालमा स्थापना भएको हो ।

तिलोत्तमा गोल्डकप फुटबल : ४२ वर्षमा २१ औं संस्करण

स्थापनाकै वर्ष प्रतियोगिता सुरु गर्ने भनिए पनि तयारी नहुँदा २ वर्षपछि ०३३ सालमा पहिलोपल्ट गोल्डकप भएको थियो । स्थापनाको ४४ वर्ष पूरा हुँदा बल्ल २१ औं संस्करण आयोजना हुन लागेको छ ।


बुटवल उपमहानगरपालिका र जिल्ला फुटबल संघ रूपन्देहीको सहकार्यमा हुँदै आएको प्रतियोगिता हरेक वर्ष गर्ने कार्ययोजना बनाइएको थियो । तर राजनीतिक अस्थिरता, आर्थिक अभाव, खेलप्रतिको लगाव र प्रतिबद्धताको अभावमा पटक–पटक रोकिने गरेको छ । ‘आर्थिक अभाव त छँदै छ । त्यसमाथि अभिभावकत्व लिनुपर्ने संरक्षक संस्था बुटवल उपमहानगरमै जनप्रतिनिधि नहुँदा पनि प्रतियोगिता सञ्चालनमा समस्या भयो,’ रूपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले भने, ‘फुटबल संघ आफैं पनि सक्षम नहुँदा प्रतियोगिता सञ्चालनमा चुनौती थपिएको हो ।’


मोफसलमा धेरै फुटबल प्रतियोगिता हुने बुटवलले राष्ट्रियस्तरको तिलोत्तमा गोल्डकपदेखि राष्ट्रिय लिगसमेत आयोजनाको मौका पाएको छ । फुटबल खेलाडीमात्रै होइन, यहाँ दर्शकको क्रेज पनि उत्तिकै छ । फुटबलप्रति स्थानीयको चासो र सहयोग पनि राम्रो छ । ‘यसले पनि जिल्ला फुटबल संघलाई तिलोत्तमा गोल्डकप नियमित गर्न उत्साह थपेको छ,’ अध्यक्ष केसीले भने, ‘प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण छ । तर जसरी पनि प्रतियोगिता गर्नुपर्ने एक खाले नागरिक दबाब पनि छ ।’


१८ औं संस्करणपछि भने बर्सेनि प्रतियोगिता हुँदै आएको छ । लगातार ५ वर्षसम्म रोकिएको प्रतियोगिता चार वर्षअघि भूकम्पपीडितको सहयोगका लागि भन्दै आयोजना भएको थियो । यसपछि लगातार प्रतियोगिता भएको छ । अब भने जस्तोसुकै अवस्था आए पनि प्रतियोगितालाई निरन्तरता दिनेमा आयोजक र संरक्षकले प्रतिबद्धता जनाएका छन् ।


यहाँका दर्शकमा रहेको फुटबलप्रतिको क्रेज घटन नदिन र खेलाडीलाई थप हौसला र अवसर दिन प्रतियोगितालाई नियमित गर्ने उनीहरूले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगीसमेत ल्याएर खेलिने तिलोत्तमा गोल्डकप बुटवल उपमहानगरको इतिहास र पहिचान हो,’ उपमहानगर प्रमुख शिवराज सुवेदीले भने, ‘त्यसैले अब प्रतियोगिता रोकिँदैन, बर्सेनि हुन्छ ।’


प्रतियोगिताका लागि उपमहानगरले वार्षिक १० लाख रुपैयाँ विनियोजन गर्ने गरेको छ । आसपासका नगरपालिका र व्यावसायिक प्रतिष्ठानबाट पनि रकम जुटाइने प्रमुख सुवेदीले बताए । ‘प्रतियोगिता खेलाडी वा खेलसम्बद्ध संस्थाका लागि मात्रै मनोरन्जन र गौरवको विषय होइन,’ उनले भने, ‘यसले अनुशासन र आर्थिक गतिविधिमा समेत राम्रो प्रभाव पार्छ ।’


२१ औं संस्करणको तयारी

तिलोत्तमा गोल्डकपको २१ औं संस्करण शनिबार सुरु हुँदै छ । देशभर फुटबल प्रतियोगिता चलिरहेकाले टिम छनोट तथा आन्तरिक तयारी नसकिएको भन्दै आयोजकले फागुन २ देखि हुने भनिएको प्रतियोगिता दुई पछाडि सारेको हो । मिति पर सार्दा चर्चित टिमहरू ल्याउन सकिने भएपछि केन्द्रको सहमतिमै प्रतियोगिता सारिएको संघका अध्यक्ष केसीले बताए । प्रतियोगिता बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ ।


संघले फागुन १३ सम्म हुने प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरेको छ । प्रतियोगितामा २ विभागीय र २ विदेशीसहित १० टोली सहभागी हुनेछन् । नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा, मनाङ मस्र्याङदी, डफिन फेमिली क्यामरुन, ब्रदर्स युनाइटेड क्लब भारत, झापा–११, सुनसरी–११, च्यासल युथ र आयोजक रूपन्देही ११ छन् ।


गत वर्षको विजेता थ्रीस्टार भने यसपालि आउने छैन । प्रतियोगिताको सुरुआतदेखिकै प्रतियोगी त्रिभुवन आर्मीलाई पनि दर्शकले देख्न पाउने छैनन् । निकै प्रयास गरे पनि खेल तालिका नमिल्दा ती दुई टिमलाई ल्याउन नसकिएको अध्यक्ष केसीले बताए । यी दुई टोली अहिले भुटानमा प्रतियोगिता खेल्न पुगेका छन् ।


प्रतियोगितालाई तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको यसोदा फुड्सले मुख्य प्रायोजन गरेको छ । झन्डै १ करोड २ लाख ३४ हजार रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि अरु ६ संस्था सहप्रायोजक छन् । टिकटबाट २५ लाख रुपैयाँ उठ्ने अनुमान गरिएको छ । दर्शकका लागि पहिलो चरणमा १ सय र २ सय तथा दोस्रो चरणमा २ सय र ४ सय रुपैयाँ दरको टिकट राखिने महासचिव लोक पुनले बताए ।


मैदानलाई दुबो उमारेर हरियो बनाइएको छ । एकेडेमीमा रंगरोगन गरेर चिटिक्क पारिएको छ । दर्शकले आरामदायी तरिकाले बसेर खेल हेर्न सकुन् भन्दै १ हजार ५ सय दर्शक क्षमताको स्थायी प्यारापिट थपिएको छ । यसअघि करिब ५ हजार दर्शक अटने स्थायी प्यारापिट थियो ।


विजेताले ८ लाख ८० हजार रुपैयाँसहित गोल्डकप जित्नेछ । उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइनेछ । ५ विधाका उत्कृष्ट ५ खेलाडीलाई जनही २५ हजारबाट पुरस्कृत गरिने छ । शनिबार उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।


बचत रकम सामाजिक कार्यमा

१८ औं संस्करण आयोजनाबाट बचत १४ लाख रुपैयाँ भूकम्पबाट क्षति पुगेको गोरखाको धर्मोदय माविको भवन बनाउन सहयोग गरिएको आयोजकले जनाएको छ । ‘१९ औं संस्करणको बचत रकम पनि भवन बनाउनमै खर्चेका थियौं,’ महासचिव पुनले भने, ‘२० औं संस्करणबाट बचत रकमबाट सोही विद्यालयका विद्यार्थीलाई कम्प्युटर, ल्यापटपलगायतका सामग्री हस्तान्तरण गरेका थियौंं ।’ यसपालि बचेको रकम पनि सामाजिक काममै लगाउने उनले बताए । ‘कहाँ खर्च गर्ने भन्ने अहिले टुंगो भएको छैन,’ पुनले भने, ‘तर बचेको रकम सामाजिक क्षेत्रमै लगाउने अठोट गरेका छौं ।’

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?