१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

डफिन्सलाई अर्को उपाधि

प्रदीप मेन्याङ्बो

सुनसरी — आयोजक टोली धरान फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी टोली डफिन्स क्लबले २१ औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि उचालेको छ ।

डफिन्सलाई अर्को उपाधि

जारी सिजन चौथो प्रतियोगिता खेलेको डफिन्सले एक साता अन्तरमा दोस्रो उपाधि जितेको हो । गत शनिबार एपीएफलाई हराएर डफिन्सले पोखरा कप जितेको थियो ।


धरान रंगशालामा शनिबार करिब १० हजार घरेलु दर्शकलाई निराश बनाउँदै डफिन्सले आयोजकलाई निराश बनाएको थियो । आयोजक क्लब फाइनल पुगेर फेरि निराश बनेको छ । यसअघिका चार संस्करणमा आयोजक फाइनलमा पुगे पनि उपाधि विमुख भएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा डफिन्सले धरानलाई ३–२ ले पराजित गरेको थियो । विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाए ।


भारी वर्षाबीच भएको पेनाल्टीमा आयोजकका प्रकाश बुढाथोकी र दोर्जी तामाङले मात्र गोल गरे । मिलन राई, योगेश राई र हेमन्त थापाको प्रहार गोल हुन सकेन । डफिन्सका जो एंगोला, पेटेंगा र यानिक ओवामाले गोल गरे भने वियिक वियिक र एल्विनको प्रहार चुकेको थियो ।


खेल अवधिभरमा डफिन्स र धरानले पटक–पटक गोल अवसर गुमाए । दोस्रो हाफपछि धरानविरुद्ध आक्रामक भएर मैदानमा उत्रेका डफिन्स टिमले प्रहार गरेका आधा दर्जन बढी बल गोलरक्षक विनय श्रेष्ठले बचाएका थिए ।


यसपालि धरानले पूरै स्थानीय खेलाडीलाई समावेश गरेर मैदानमा उतारेर इतिहास रच्ने दाउमा रहे पनि डफिन्सले असफल बनाइदियो । पछिल्लोपल्ट आठौं संस्करणपछि आयोजक क्लबले सेमिफाइनल पार गर्न सकेको छैन । टोली १२ वर्षपछि आयोजक फाइनल पुगेको हो ।


आयोजक धरानले कोलकाताको डलहाउस एथलेटिक क्लबलाई २–० ले र सेमिफाइनलमा लिग उपविजेता संकटालाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।


डफिन्सले यसअघि खप्तड र इटहरी गोल्डकप पनि खेलेको थियो । डफिन्सले फाइनल खेल्नुअघि एकदिन पनि आराम गर्न पाएको थिएन । उसले शुक्रबारै सेमिफाइनललगत्तै शनिबार फाइनल खेलेको हो । डफिन्सले पहिलो खेलमा एपीएफलाई २–० ले र सेमिफाइनलमा सडन डेथमा पुलिसलाई हराएको थियो ।


विधागततर्फ आयोजकका तीन खेलाडी उत्कृष्ट भए । डिफेन्डर मनोज राई, मिडफिल्डर हेमन्त थापामगर र स्टाइकर मनोज राई आआफ्नो विधामा उत्कृष्ट बने । डफिन्सका गोलरक्षक प्रिसो र प्रशिक्षक अरेल इमेम उत्कृष्ट चुनिए । उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए । दुई गोल गरेका डफिल्सका एन्जमा यानिकले सर्वाधिक गोलकर्ताको ३५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडीमा आयोजक धरानका विष्णु सुनुवार भए । उनले स्कुटर पुरस्कार पाए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?