कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विनीतालाई प्रो कार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — विनीता राई शारीरिक सुगठनको विश्व प्रसिद्ध प्रतियोगिता मिस्टर ओलम्पियाका लागि छनोट हुने पहिलो नेपाली बनेकी छन् । शनिबार राजधानीमा आयोजित आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफयरमा विनीतासहित चार खेलाडीले फरक विधाबाट मिस्टर ओलम्पियालाई प्रो कार्ड पाएका छन् ।

विनीतालाई प्रो कार्ड

महिलातर्फ एकमात्र प्रतिस्पर्धी भएपछि ३६ वर्षीया विनीताले स्वत: यो उपलब्धि हासिल गरेकी हुन् । चार वर्षदेखि शारीरिक सुगठनमा लागेकी उनी आफ्नो तेस्रो प्रतियोगितामा प्रो कार्ड हासिल गर्न सफल भइन् ।


नेपालमा पहिलोपल्ट आयोजित प्रो क्वालिफायरमा पुरुषतर्फ ओभरअल, मेन्स फिजिक्स र क्लासिक प्ले फिजिक्सका विजेतालाई प्रो कार्ड प्रदान गरिएको थियो । ओभरअलमा ९० देखि १०२ केजी तौल समूहबाट यूएईका जोनी डो रिगोले प्रो कार्ड पाए । मेन्स फिजिक्समा भारतका सौरभ सिंह र क्लासिक प्लेमा सिरियाका अमिर हुसेनले प्रो कार्ड पाए ।


प्रो कार्ड पाउने खेलाडीहरू मिस्टर ओलम्पियालाई योग्य बनेका छन् । यसको अर्थ उनीहरूले सोझै मिस्टर ओलम्पिया खेल्न पाउने भन्ने होइन । प्रो कार्डधारीले एमेच्योर र आर्नोल क्लासिकमार्फत मिस्टर ओलम्पियासम्म पुग्न पाउनेछन् । खेलाडीले एकपल्ट पाएको प्रो कार्ड सधैंभरका लागि हुने आईएफबीबी नेपालका अध्यक्ष सानु गुरुङले बताए ।


मिस्टर ओलम्पियाको आउँदा संस्करण सेप्टेम्बरमा हुँदै छ । विनीताले ओलम्पियाका लागि धेरै तयारी गर्नुपर्ने भएकाले यसै सिजनमा आफ्नो सहभागिता निश्चित भइनसकेको बताइन् । ‘नसोचेको उपलब्धि हासिल गर्न पाउँदा धेरै खुसी छु । आगामी प्रतियोगिताहरूमा आफूलाई अब्बल बनाउन चुनौतीहरू पनि छन्, मैले मेरा प्रशिक्षक, ट्रेनरसँग छलफल गरेरमात्र मिस्टर ओलम्पियाको सहभागिता निश्चित गर्नेछु । त्यो धेरै ठूलो प्रतियोगिता हो र मलाई थाहा छ यो तयारीले मात्रै पुग्दैन,’ ८ वर्षे छोराकी आमा विनीताले भनिन् ।


सुरुमा ढाड दुख्ने समस्याको उपचारका क्रममा शारीरिक सुगठनबारे थाहा पाएकी उनले सुगठित शरीर बनाउन थालेको ४ वर्ष भएको छ । ‘मैले लामो समय ढाडको समस्याबाट बिताएँ । ढाडको उपचारका क्रममा फिजियोथेरापी भयो । मेरो रोग निको हुँदै गयो र शरीर सुगठित बन्दै गयो । कालन्तरमा मैले शारीरिक सुगठनलाई व्यावसायिक बनाएँ,’ विनीताले भनिन् ।


प्रो क्वालिफायरमा आयोजकले २० भन्दा बढी देशबाट ६० भन्दा बढी खेलाडीको सहभागिता हुने बताएका थिए । तर, अन्तिममा नेपालका एक महिला र ५ पुरुषसँगै भारत, साउदी अरेबिया, सिरिया, यूएईका गरी २० खेलाडीले सहभागिता जनाए । शारीरिक सुगठन खेलकुदमा सबैभन्दा ठूलो शरीर भएका नेदरल्यान्ड्सका रोली विंक्लारको विशेष प्रस्तुति थियो । सुगठित शरीरका रोलीले

आफ्नो कौशलसहित प्रज्ञाभवनमा उपस्थित दर्शकसँग सेल्फी पनि लिए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?